पर्यटन क्षेत्रमा आशालाग्दो संकेत «

पर्यटन क्षेत्रमा आशालाग्दो संकेत

महामारीको मारबाट भयावह बन्न पुगेको पर्यटन क्षेत्रमा देखा परेको यस किसिमको आशालाग्दो अवस्थालाई थप जगेर्ना गर्नु जरुरी छ ।

‘समावेशी वृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ केही दिनअघि बयालीसौं विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो । नेपालको सन्दर्भमा यस वर्षको नारामा उल्लेख भएजस्तै समावेशी वृद्धिका लागि अथाह सम्भावना बोकेको क्षेत्रका रूपमा पर्यटन क्षेत्र रहेको छ । यही सम्भावनालाई दृष्टिगत गरी पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न प्रयासहरू हुँदै आए तापनि अपेक्षित रूपमा यस क्षेत्रको विकास, विस्तार हुन एवं पर्यटन सेवामा गुणस्तरीयता कायम गर्ने कार्य हुन सकिरहेको छैन । चरणबद्ध रूपमा देखिएको कोभिड–१९ महामारीले पर्यटन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ । तथापि पछिल्लो समयमा यस क्षेत्रमा केही सुधारका संकेतहरू देखा परेका छन् ।
सिंगो विश्व विगत डेढ वर्षयता चरणबद्ध रूपमा देखिएको कोरोना महामारीसँग जुधिरहेको छ । सन् २०१९ को डिसेम्बरमा चीनबाट सुरु भएको कोभिड–१९ महामारीको समयमा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सुरुवात हुन लागेको थियो । यसको तयारीका लागि राज्यले ठूलै लगानी गरेर तामझामका साथ भ्रमण वर्षको शुभारम्भ गर्न खोजिरहेको थियो । तर, कोभिड महामारीका कारण भ्रमण वर्ष त स्थगित हुन पुग्यो नै, त्यसयता नेपालको पर्यटन क्षेत्रको यात्रा निरन्तर ओह्रालो लागिरहेको देखिन्छ । सरकारद्वारा सार्वजनिक तथ्यांकअनुसार कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा करिब ८१ प्रतिशतले कमी आएको छ ।
यो अवधिमा हवाईमार्ग र स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकहरूको संख्या २ लाख ३० हजार मात्र रहेको छ । कोभिड महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ मा विदेशी पर्यटक आगमन २ प्रतिशतले वृद्धि भएको थियो । यसबीचमा पर्यटकहरूको औसत बसाइ अवधि र प्रतिपर्यटक प्रतिदिन खर्चमा भने सामान्य वृद्धि भएको छ । सन् २०२० को तथ्यांकमा औसत बसाइ १५ दशमलव १ दिन पुगेको छ भने प्रतिदिन खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको देखिन्छ । पर्यटक आगमन संख्यामा व्यापक गिरावट आएसँगै सन् २०२० मा पर्यटन क्षेत्रबाट आर्जन भइरहेको विदेशी मुद्रामा करिब ७१ प्रतिशतले कमी आई २५ अर्ब हाराहारीमा सीमित हुन पुगेको छ ।
यद्यपि, पछिल्लो समयसम्म आइपुग्दा यस क्षेत्रको सुधारमा केही आशाका किरणहरू देखा परेका छन् । सक्रिय संक्रमितहरूको संख्यामा व्यापक गिरावट आएसँगै चरणबद्ध रूपमा देखा परेको कोभिड–१९ महामारी तुलनात्मक रूपमा नियन्त्रणको दिशातर्फ रहेको छ । सरकारले २ करोडभन्दा बढी नेपालीहरूलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्यका साथ खोपको वितरणलाई तदारुकताका साथ अघि बढाइरहेको छ । हालसम्म आइपुग्दा ६० लाखभन्दा बढीले पूर्ण मात्रा र ७० लाख हाराहारीले पहिलो मात्रा खोप लगाइसकेको तथ्यांक छ । महामारी नियन्त्रणउन्मुख रही खोपको उपलब्धता विस्तार भएसँगै सरकारले निषेध आदेशलाई खुकुलो बनाउँदै पर्यटन र अन्तरसम्बन्धित क्षेत्रहरू समेत बिस्तारै खुला हुँदै गएका छन् ।
विदेशबाट नेपाल भित्रिने र नेपालबाट बाहिरिने यात्रुहरूको यात्रा व्यवस्थासम्बन्धी आदेश, २०७८ जारी गरी खोपको मात्रा पूरा भएका विदेशी पर्यटकहरूलाई प्रवेश बिन्दुमै प्रवेशाज्ञा दिने व्यवस्था सरकारले मिलाएको छ । सँगसँगै बन्द रहेका सीमा नाका र पदमार्ग खुल्नुका साथै साबिकमा रहेको क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्थासमेत हटेको छ । यसबाट नेपालको पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल सुरु हुनुका साथै पर्यटकीय क्षेत्रहरूमा स्वदेशी एवं विदेशी पर्यटकहरूको संख्यामा वृद्धि हुन थालेको छ । अघिल्लो आर्थिक वर्षमा व्यापक रूपमा ओह्रालो लागेको पर्यटन क्षेत्रमा यस वर्ष यस किसिमको सुधारको अवस्था देखा पर्नु निश्चय नै आशालाग्दो अवस्था हो ।
महामारीको मारबाट भयावह बन्न पुगेको पर्यटन क्षेत्रमा देखा परेको यस किसिमको आशालाग्दो अवस्थालाई थप जगेर्ना गर्नु जरुरी छ । पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटन सुरक्षा कोषको व्यवस्था गरी यस्तो कोषमार्फत महामारीको मारले थिलथिलो बनेका पर्यटन व्यवसायीहरूलाई आफ्ना व्यवसायमा सहज रूपमा फर्कन सक्ने वातावरण सिर्जना गरिनुपर्छ । सरकारले पर्यटन व्यवसायीहरूलाई कर छुट, व्यवसायका लागि आवश्यक पर्ने वस्तु र सेवामा विशेष सुविधा र सहुलियतजस्ता कार्यक्रमहरू तथा वित्तीय अनुदानलाई प्याकेजका रूपमा अघि नसारेसम्म वर्षौंसम्म महामारीको मारले थलिएका व्यवसायीहरूले राहतको महसुस गर्ने र सहज रूपमा व्यवसायमा फर्कन सक्ने स्थिति देखिँदैन । अर्कातर्फ, चरणबद्ध महामारीको सिलसिला पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म उल्लेख्य संख्यामा विदेशी पर्यटक आगमनको सम्भावना असाध्यै न्यून रहेको छ । यो स्थितिमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तत्कालै आक्रामक कार्यक्रमहरू सार्वजनिक गरी देशभित्रका पर्यटकीय स्थलहरूको पुनर्जागृत गरिन आवश्यक छ ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने सन्दर्भमा नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयनमा ल्याइनुपर्छ । पर्यटन काजसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुन सकेमा यसले सुस्ताएको पर्यटन क्षेत्रलाई केही मात्रामा गति दिन र आर्थिक पुनरुत्थानमा सहायता पुग्ने देखिन्छ । साथै यो व्यवस्थाको कार्यान्वयनमा निजी क्षेत्रलाई समेत उत्प्रेरित गरिनुपर्छ ।
कोभिड–१९ महामारी कहिलेसम्म, कसरी र कुन स्वरूपमा नियन्त्रणमा आउने हो भन्ने ठोस पुर्वानुमान हालसम्म हुन सकेको छैन । कोरोना भाइरसले एकपछि अर्को रूप फेर्दै सिंगो मानव जातिमाथि आक्रमण गर्ने क्रम जारी राखेको छ । तथापि महामारीको मारबाट गम्भीर मोडमा पुगेको नेपालको पर्यटन क्षेत्रलाई पुरानै लिकमा फर्काउने सन्दर्भमा देखिएको पछिल्लो अवस्थाले सकारात्मक भविष्यको आशालाग्दो सञ्चार गरेको छ । यो आशालाई थप चम्किलो बनाई पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थान गर्न सरकार, निजी क्षेत्र, राजनीतिक वृत्त, मुलुकी प्रशासनलगायत सबैको एकीकृत प्रतिबद्धता र समन्वयात्मक प्रयासको टड्कारो आवश्यकता देशलाई खड्किएको छ ।

प्रतिक्रिया दिनुहोस्