काठमाडौंमा दसैंलक्षित कोभिड खोप सुरु «

काठमाडौंमा दसैंलक्षित कोभिड खोप सुरु

काठमाडौं महानगरपालिकाले दसैंलगायतका चाडपर्वलक्षित कोभिडविरुद्धको खोप कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका विभागीय प्रमुख हरि कुँवरले दसैंलगायतका चाडपर्वलाई लक्षित गरेर १८ वर्षमाथिका सबै उमेर समूहका नागरिकलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउने कार्यक्रम शुक्रबारबाट सुरु गरिएको जानकारी गराए । ३ दिनसम्म चल्ने यो खोप महानगरपालिका अन्तरगतको ३२ वटा बडाको ३४ स्थानबाट लगाउन पाउने व्यवस्था गरिएको छ ।
चाडपर्वका कारण भीडभाड हुने र कोभिड–१९ को पनि जोखिम बढने भएकाले त्यसैलाई मध्यनजर राखेर सो खोप कार्यक्रम सञ्चालनमा ल्याइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले तत्कालका लागि ७० हजार खोप जिल्ला जनस्वास्थ्य कार्यालयबाट व्यवस्था गरिएको र त्यसले नपुगे थप खोपको व्यवस्था पनि हुने बताए । उनले भने, “काठमाडौं महानगरपालिकाभित्र असोज २२ गतेदेखि ३ दिनसम्म चाडपर्वलाई लक्षित गरेर मानिसको भीडभाड हुने अनि सार्वजनिक यातायात आवतजावत गर्दा पनि भीडभाड हुने भएकाले त्यस्ता गतिविधिलाई समेत न्यूनीकरण गर्ने उद्देश्यले पनि यो खोपलाई प्राथमिकता दिइएको हो ।
चाडपर्वलाई लक्षित यो खोप कार्यक्रम काठमाडौं महानगरपालिकाभित्रका ३२ वटै वडाको ३४ वटा खोप केन्द्रबाट २२, २३ र २४ गते ३ दिन पहिलो चरणको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको छ ।”
काठमाडौं महानगरपालिकाले विरामी नागरिकलाई भने लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको जानकारी गराएको छ । स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले विरामीहरूका लागि लाइन नबसी सो खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले पहिलो चरणको यो भेरोसेल खोप लगाउनेलाई सशैं तिहारको बीचमा दोस्रो चरणको खोप लगाउने पाउने व्यवस्था मिलाउने जानकारीसमेत दिए ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्दै खोप लगाउने कार्यमा सहभागी हुन पनि सबैलाई आह्वान गरेको छ । परिचय पत्र नखुलेका नागरिकले वडा कार्यालयको सिफारिसमा सो खोप लगाउने पाउने व्यवस्था पनि गरिएको स्वास्थ्य विभागका विभागीय प्रमुख कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्