चाडबाडले व्यापार सन्तोषजनक «

चाडबाडले व्यापार सन्तोषजनक

महान चाड दसैं नजिकिँदै छ । दसैं नजिकिएसँगै बजारमा चहल पहल पनि बढेको छ । कोरोनाले थलिएको व्यापार सहज हुने आशामा व्यापारी छन् । कोरोनाको असर कम भएसँगै व्यापार पनि बढ्ने आशा व्यापारीहरूले गरेका छन् । नेपाल खुला सिमाना भएको मुलुक हो । खुला सिमाना भएकै कारण सीमावर्ती क्षेत्रका मानिस किनमेलका लागि सीमा पारि जाने गरेका छन् । जसले गर्दा सीमा क्षेत्रका नेपाली व्यापारी भने व्यापार नभएकोमा चिन्तित छन् । तर पहाडी भेगका व्यापारी भने विगतमा भन्दा व्यापार बढेको बताउँछन् । चाडपर्व आएसँगै हरेक क्षेत्रका व्यापारी व्यापार हुने आशामा बसेका हुन्छन्, तर यस वर्ष गत वर्षजस्तो अवस्था नरहेको व्यापारीहरूको भनाइ छ । एकातर्फ महँगी बढेको छ भने अर्कोतर्फ कोरोनाका कारण नेपालीहरूको क्रयशक्ति पनि घटेको छ । चाडपर्व नजिकिएसँगै बजारमा व्यापार कत्तिको भइरहेको छ भन्ने सन्दर्भमा कारोबारकर्मीहरू झापाबाट मनीषा चम्लागाईं , जुम्लाबाट सागर परियार, पर्वतबाट लक्ष्मीप्रसाद सापकोटा र सुर्खेतबाट गोविन्द खत्रीले व्यापारीहरूसँग गरेको कुराकानीको सार :

उपभोग्य वस्तुको भन्सार दर घटे बजार चलायमान बन्छ
टीकाराज ढकाल
उद्योग वाणिज्य संघ, प्रदेश–१ अध्यक्ष

नवरात्रि सुरु भएसँगै गत बिहीबारदेखि नेपालीलाई चाडपर्व लागिसकेको छ । कोरोना महामारी पूर्ण रूपमा नियन्त्रण नभएकाले सतर्कता अपनाउँदै पर्व मनाउनुपर्ने अवस्था छ ।
दसैं भित्रिएसँगै कोभिडले सिथिल बनाएको व्यापार क्षेत्रमा चहलपहल भने बढेको देखिन्छ । प्रदेश–१ को झापा, मोरङ र सुनसरी जिल्लाका बजारमा दसैंविशेष किनमेल बढी हुन्छ । यी जिल्लामा किनमेल गर्नेहरूको चहलपहल बढेको देखिए पनि व्यापार भने घटेको छ ।
कार्यालय तथा उद्योगधन्दा पूर्ण रूपमा बन्द भएपछि बजार केही चलायमान बन्ला । तर, अधिकांश नेपाली किनमेलका लागि भारतीय बजार पुग्ने गरेका छन् । खुल्ला सीमा रहेकाले नेपाली किनमेलका लागि सहजै भारतीय बजार पुग्छन् । नेपालमा भन्दा भारतीय बजारमा खाद्यान्न सामग्री केही सस्तो पर्ने भएकाले सामान्यदेखि हुनेखाने परिवार भारत पुग्छन् ।
नेपाली बजारमा खरिद गरेको २ हजारको सामग्रीले एक साता पुग्छ भने त्यही पैसाले सीमावर्ती बजारमा १५ दिन पुग्ने सामग्री आउँछ । मूल्यमा आधा फरक परेपछि उपभोक्ताले सस्तो बजार खोज्नु स्वाभाविकै हो । तर, यो परिपाटीले करोडौं नेपाली पैसा भारतीय बजार पुग्ने गरेको छ । यसको नियन्त्रणका लागि राज्य गम्भीर बन्नैपर्छ ।
सरकारले उपभोग्य वस्तुको आयातमा भन्सार दर घटाउने र भारतीय बजारको सरह सस्तो मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन सहयोग गर्ने हो भने नेपाली बजार नै उपभोक्ताको रोजाइमा पर्छन् । निश्चित समयको फाइदाका लागि भनौं या राजस्व संकलनका लागि सरकारले भन्सार दर उच्च बनाएको छ, जसका कारण पनि नेपाली बजार चलायमान बन्न नसकेको हो ।
सरकारले लगानी गरेर नेपाली बजारलाई भारतीय बजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ । कच्चापदार्थ आयातमा शून्य भन्सार दर लगाउनुपर्छ । यसलाई धान्न सरकारलाई एक–दुई वर्ष गाह्रो होला, तर दीर्घकालीन रूपमा नेपालीलाई आत्मनिर्भर बनाउन र नेपाली उत्पादनको प्रयोग गर्ने बानीको विकास भने हुन्छ ।
हामी ४० प्रतिशत भारतीय चामलको उपभोग गरेर कृषिप्रधान देशका नागरिक भनेर गर्व गर्छौं । यसले नेपाली पैसा भारतीय बजारमा पु¥याउने काम गरेको छ । अब नेपालमा नै उत्पादन बढाएर नेपाली बजारलाई बलियो बनाउने कदम चाल्न सरकारले ढिला गर्नु हुँदैन । यो विषयमा व्यवसायीको साथ हुनेछ ।
कोरोनापछिको पहिलो दसैंमा केही व्यापार भए पनि यस वर्ष भने ५० प्रतिशतले व्यापार घटेको छ । कोरोनाले सीमापारि पुग्ने हाम्रो बानी हटाउन भने सकेको छैन । यसले हामी व्यवसायी मारमा छौँ । व्यापार नहुँदा बैंकको ब्याज, कर्मचारीको तलब विद्युत्को बिल तिर्न नसक्ने अवस्थामा व्यवसायी पुगेका छन् ।
केही दिनयता खाद्य व्यापारीले दैनिक उपभोग्य वस्तुमा मिसावट गरेका कुरा हामीसमक्ष आइरहेका छन् । यस्ता विषय अघि सारेर व्यवसायीलाई ठगीको उपनाम दिइने गरिएको छ । यसमा पनि सरकारको कमजोरी देख्छु । प्रशासनले समय–समयमा अनुगमन गर्ने हो भने यस्ता विषय पक्कै आउँदैनन् । चाडपर्व लक्षित अनुगमन गर्ने र दुई–चार जना व्यापारीले गरेको गल्तीको भार सिंगो व्यवसाय क्षेत्रलाई बोकाउनु हुँदैन भन्ने मेरो धारणा छ ।

पर्वतमा कोरोनाअघिकै झल्को दिने चहलपहल
ठाकुर बी. पौडेल
वरिष्ठ उपाध्यक्ष, उद्योग वाणिज्य संघ पर्वत

नेपालीहरूको महान् पर्व विजयादशमी सबैको घरआँगनीमा छाइरहेको छ । विजयादशमीको टीकाको दिन आउन एक साता बाँकी रहँदा जिल्लामा चहलपहल ह्वात्तै बढेको देखिन्छ । गत वर्ष कोरोना महामारीका कारण सुनसानजस्तै बनेको पर्वतमा यस वर्ष भने कोरोनाअघिकै झल्को दिने गरी चहलपहल बढेको पाइएको छ । केही दिनयता सुदूरमकाम र ग्रामीण क्षेत्रमा बजारहरूमा किनमेल गर्नेहरूको घुइँचो नै लागेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्था, खाद्यान्न र फेन्सीहरूमा उपभोक्ताहरूको भीड ह्वात्तै बढेको छ । बडादसैंका लागि आर्थिक जोहो गर्न बैंकमा, खाद्यान्न र लत्ता कपडा खरिद गर्नका लागि पसलहरूमा तथा गरगहना किन्नका लागि सुनचाँदी पसलमा गाउँगाउँदेखि आएका नागरिकहरूको भीड बढेको छ । गत वर्ष सुनसानै थियो, अहिले व्यवसायीहरूलाई ठूलो राहत मिलेको छ । यस वर्ष जिल्लामा झन्डै ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएकाले पनि व्यापार चहलपहल बढेको हो । बजारमा सुनचाँदी व्यवसायमा कच्चा पदार्थको अभाव भए पनि अन्य व्यापार व्यवसायमा कुनै अभाव छैन । केही खाद्यान्नलगायतका उपभोग्य सामानमा मूल्य वृद्धि भए पनि कालोबजारी र कृत्रिम अभावको समस्या हामीले पाएका छैनौं र उपभोक्ताबाट त्यस्तो गुनासो पनि आएको छैन । कोरोना संक्रमण जिल्लामा न्यूनीकरण हुँदै गए पनि जोखिम कायमै रहेकाले जिल्ला प्रशासन कार्यालयले जारी गरेको स्मार्ट लकडाउनको पालना गरेर व्यापार–व्यवसाय गरिरहेका छांै । समग्रमा यस वर्ष जिल्लाका सबै क्षेत्रका व्यवसाय सन्तोषजनक देखिन्छ ।

चाडबाडले अर्थतन्त्र चलायमान हुने आशामा छौं
मीनप्रसाद पौडेल
व्यापारी, जुम्ला

विश्व महामारीका रूपमा फैलिएको पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले अर्थतन्त्र धराशायी नै भयो । अर्थतन्त्र चलायमान हुने माध्यम भनेकै दसैंतिहार, पर्यटन क्षेत्र, कृषि व्यवसाय, उद्योग–कलकारखाना हुन् । तर, कोरोनाले विगतका दुई वर्षमा यी क्षेत्र सबै ठप्प रहे । व्यापारी घाटामा गए भने उपभोक्ताले इच्छाअनुसारको मालसामान खरिद गर्न पाएनन् । कतै उत्पादन गरिएको, आयात गरिएको सामान पनि थन्कियो ।
साथै राष्ट्रिय वाणिज्य बैंकका अनुसार विगतको तुलनामा गत आवमा जुम्लाको बजेट खर्च त्यति देखिन्न । असार मसान्तमा ल्याएको बजेट अझै बाँकी छ । असार मसान्तको बजेट अझै बाँकी हुनु भनेको जुम्लाको बजेट खर्च न्यून हुनु हो, आर्थिक विकासका गतिविधि नहुनु हो । यसको मुख्य कारण पनि कोरोना त्रास नै हो ।
अब जुम्लाका सन्दर्भमा विगतमा घरी लकडाउन हुने, घरी खुल्ने समस्याले व्यवसाय क्षेत्रको कमाइ ओरालो लाग्दै गयो । सरकारले व्यवसायीका लागि विशेष राहत प्याकेज ल्याउने कुुरा पनि ग-यो ।
तर खोइ राहत प्याकेज, ऋणमा सहुलियत ल्यायो-ल्याएन केही थाहा छैन । हामी व्यापारी लकडाउन खुकुलो कहिले होला र व्यवसाय सञ्चालन गरौंला भन्ने अवस्थामा पुगेका थियौं । बजार चलायमान हुने आशामा दुईवटा दसैं गए । तर, यसपालि भने विगतको भन्दा दसैं, तिहार, छठजस्ता चाडबाडले अर्थतन्त्र चलायमान हुने आशामा छौं ।
कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठूलो सहरका रूपमा रहेको जुम्लामा दसैंतिहारको किनमेल गर्नेहरूको चहलपहल पनि बढेको छ । दुई वर्ष बढी ठप्प भएको अर्थतन्त्र पुनस्र्थापना होला भन्ने त छैन । तर, विगतको तुलनामा जुम्लाको अर्थतन्त्र चलायमान हुने आशा गरेका छौं ।
तर कोरोनाको प्रभावसँगै जुम्लामा कामको सिजनमा चाडबाड पर्ने भएकाले आर्थिक चलायमान अपेक्षाकृत हुन सक्दैन । जुम्लामा एकातर्फ असोजमा अन्नबाली भिœयाउने, घाँस काट्ने जस्ता कामले किसान व्यस्त हुन्छन् भने अर्कातिर दुई वर्ष उत्पादन गिरावटदेखि रोजगारी सबै गुमेपछि सबैसँग आर्थिक छैन, जसका कारण बजारमा तत्काल रौनक देखिएको छैन ।
जुम्लामा बाहिर जिल्लाको जस्तो लामो समय हर्षोल्लासका साथ दसैं अधिकांशले मनाउँदैनन् । किनभने कामको चटारो बढी हुने भएकाले पनि नागरिकहरू घरधन्दामै व्यस्त रहन्छन् । यता कोभिडले व्यापारलाई छोडेको छैन । फूलपातीपछि जुम्लामा दसैंको रौनक सुरु हुन्छ । त्यो दिनदेखि खसीबोका पनि बजारमा बिक्रीका लागि ल्याइन्छ । भेडा व्यापारीको कमाउने सिजन भनेकै दसैंतिहार हो । फूलपातीपछि जुम्लामा आर्थिक चलायमान होला भन्ने अपेक्षा छ ।
जुम्लामा रहेका दर्जनौं डिलर तथा खुद्रा व्यापारी पनि खुसी देखिन्छन् । हाम्रो भगवान् भनेकै उपभोक्ता, ग्राहकहरू हुन् । कोभिडले विगतमा उपभोक्ता घरमै थन्किए । हामी घाटा बेहोरेरै बस्यांै । यस वर्ष दसैं सुरु हुनै लाग्दा अर्थतन्त्र चलायमान हुने सुखद संकेत देखिएका छन् ।
खद्रा खाद्यान्न मात्र नभई होटल व्यवसाय, पर्यटन व्यवसाय, कृषि क्षेत्र, उधोगधन्दालगायत आर्थिक आम्दानीका सबै क्षेत्रहरू पुरानै लयमा फर्किन थालेका छन् । कोरोनाले थलिएको नेपाली अर्थतन्त्र पुनस्र्थापना गर्न दशकौं लागे पनि नयाँ ऋण निकालेर पुरानो ब्याज बुझाउनुपर्ने अवस्थाको भने अन्त्य हुने आशा छ । जुम्ला सदरमुकाम मात्र नभई यहाँका ग्रामीण बजार सिंजा क्षेत्रमा पनि दसैंतिहारको चहलपहल बढ्न थालेको छ ।

चहल पहल कम भए पनि व्यापार सन्तोषजनक छ
सुशील शर्मा,
प्रबन्ध निर्देशक कर्णाली मल, सुर्खेत

हामीले कर्णाली प्रदेशमै पहिलो पटक स्तरीय एवं ब्राण्डेड सामानहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली मल सञ्चालन गरिरहेका छौं । गत वर्ष कोभिड–१९ ले गर्दा हाम्रो लक्ष्यमा प्रभावित ग-यो । दसंैमा सुरुवात गर्ने लक्ष्य भए पनि दशैं सम्म सुरुवात नै गर्न सकेनौं । त्यपछि पनि कोभिडको प्रभाव देखियो । यस वर्षको पनि लकडाउनले हामीलाई केही निराश बनाएको थियो । दशैं आएसंँगै ग्राहक आगमनले हाम्रो हौसला बढेको छ । घटस्थापनाको दिनदेखि दैनिक १५ देखि १८ लाखको बिक्री भएको छ । दसैं भर्खर सुरु भएको छ । अझै दुई चार दिन यो रेसियो बढ्छ भन्ने हामीले अनुमान गरेका छौं । कोभिड–१९ ले गर्दा विश्व अर्थतन्त्रमा नै असर पारेका बेला हामी व्यवसायीलाई असर पर्ने त भइहाल्यो । यो परिस्थिति अनुसार अहिले भइरहेको कारोबार सन्तोषजनक नै मान्नुपर्छ ।
हाम्रोमा मात्र नभएर समग्र बजारमा पनि अहिले चहल पहल बढेको छ । गत वर्षदेखि यसपालिको तीजसम्म पनि चाडपर्वमा चहल पहल कम नै थियो । अहिले कोरोनाको जोखिम पनि कम हुँदै गएको र सरकारले पनि सबै क्षेत्रलाई खुला गर्दै गएकाले होला बजार विस्तारै पुरानै अवस्थामा फर्कन थालेको हो कि भन्ने आभाष दिनेगरी चहल पहल देखिन्छ । एक दुई वर्ष यता प्रदेशको राजधानी भइसकेपछि वीरेन्द्रनगरमा जनसंख्या पनि बढेको छ । तर गत वर्ष ती मानिसहरू लकडाउनले गर्दा अगाडि नै गाउँ फर्किसकेका थिए । कतिपय आउन पाएनन् । साथै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका अफिसहरू खुलेपछि कर्मचारीको पनि संख्या अवश्य बढेको होला । उनीहरूले पनि राम्रो सामान यही पाउन थालेपछि यतै किनमेल गरेर जाने गरेका छन् । पहिले त मान्छेहरु मल भनेपछि महंगो होला भनेर पस्नै अप्ठेरो मान्दथे अहिले ग्राहकको आगमन पनि बढेको छ । हामीले कर्णाली र यहाँका मानिसको आयस्तरलाई मध्यनजर गरेर चिप एण्ड बेष्ट दिने प्रयास गरेका छौं ।

प्रतिक्रिया दिनुहोस्