नेपाल–कोरिया मैत्री अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु. ८० लाख मूल्य बराबरको अत्याधुनिक पिसीआर मेसिन र किट अस्पतालमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको छ ।
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित यस अस्पताललाई रोटरी ग्लोबल ग्रान्टअन्तर्गत विभिन्न देशको रोटरी क्लबबाट सङ्कलित सहयोगबाट रु ८० लाख मूल्य बराबरको पिसीआर मेसिन एक थान, आरएनए एक्सट्र्याक्सन मेसिन एक थान र पिसीआर परीक्षण किट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख मदनसुन्दर श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरेको हो ।
सो अवसरमा नगरप्रमुख श्रेष्ठले कोरोना महामारी सुरु हुँदा नेपालमा टेकु अस्पतालसँग मात्रै पिसीआर ल्याब भएकाले परीक्षणको बढ्दो चाप थेग्न नसकेको बेलामा टेकुपछिको नेपालकै दोस्रो पिसीआर ल्याब सञ्चालन गर्ने एक मात्र अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल भएको बताए ।
यो अवधिमा यस अस्पतालले ३२ हजार जनाको पिसीआर परीक्षण गरेको बताउँदै उनले यसअघिको मेसिनले १०० जनाको परीक्षणको रिपोर्ट आउन चार घण्टा लाग्ने गरेकोमा अहिले आएको मेसिनले १०० जनाको रिपोर्ट २० मिनेटमै दिनसक्ने उच्च प्रविधिको भएकाले अव पिसीआर परीक्षणमा चिन्ता लिनुनपर्ने बताए ।
निजी क्षेत्रले पिसीआर परीक्षण शुल्क रु दुई हजारदेखि दुई हजार ५०० सम्म लिइरहेको अवस्थामा यस अस्पतालले रु एक हजारमा मात्र परीक्षण गरिरहेको भन्दै उनले कोरोनाको तेस्रो लहरको तयारीमा अस्पताल रहेको बताए ।
रोटरी मध्यपुरको समन्वयमा रोटरियनको सहयोगमा प्राप्त ६ वटा डायलोसिस मेसिनबाट सेवा सुरु गर्ने बताउँदै उनले रोटरी मध्यपुरले अस्पताललाई निकै सहयोग पु¥याएको बताए ।
रोटरी क्लब अफ यलःका अध्यक्ष डा सुमित्रा मानन्धरले मानवीय सेवामा धेरै काम गर्दै आएको रोटरी क्लब र मध्यपुरथिमी नगरपालिका बीचको सम्बन्ध निकै राम्रो रहेको चर्चा गरिन् । अस्पतालमा यो मेसिन सञ्चालनका लागि जनशक्तिलाई तालिम आवश्यक रहेको औल्याउँदै मेसिनको उचित प्रयोगसँगै यसको बेलाबेलामा मर्मत सम्भार नभए अर्थ नहुने भएकाले मर्मतमा ध्यान दिन आग्रह गरिन् ।