सार्वजनिक यातायातको भाडादर बढ्यो

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडादर बढाएको छ ।
प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर उपत्यका बाहेकको हकमा २३ प्रतिशत भाडा बढाएको हो । काठमाडौं उपत्यकामा चल्ने यातायातका साधनमा ५ किलोमिटर दुरीसम्मको भाडा १८ रुपैयाँ कायम गरिएको छ भने १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटर भन्दा बढी भएमा ३५ रुपैयाँ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ ।
पछिल्लो एक सातायता काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातले आफूखुसी भाडा लिँदै आएका थिए । यातायात व्यवसायीले आफूखुसी भाडा बढाएपछि ट्राफिक प्रहरीले कारबाही गर्न थालेपछि चक्रपथमा गाडी तेर्स्याएर विरोध नै गरेका थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए। ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ छ।