उत्पादनमूलक उद्योग सञ्चालन गरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव «

उत्पादनमूलक उद्योग सञ्चालन गरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव


उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन गण्डकी प्रदेशबासीले सरकारलाई सुझाव दिएका छन् ।
गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनीहरुले कोरोना प्रभावित भएको अवस्थामा उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन सुझाव दिएका हुन् ।
कोरोनाले प्रभावित भएको अवस्थामा प्रदेशको पर्यटन, यातायात लगायतका विभिन्न व्यवसाय प्रभावित भएकाले उनीहरुको पुनः उत्थानको लागि राहत प्याकेज ल्याउन प्रदेश सरकार समक्ष माग गर्दै प्रदेशका विभिन्न प्रतिनिधिहरुले अवस्था सहज हुँदै गएपछि प्रदेशमा राजस्व स्वतहः वृद्धि हुने दाबी गरेका छन् ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले नयाँ श्रोतहरुको पहिचानसहित तत्काल कर वृद्धि गर्नुपर्ने दाहित्व आएको बताए । छलफलमा सहभागीहरुले करको दर भन्दा दायरा फराकिलो पार्न सुझाव दिँदै विना दर्ता सञ्चालन भएका व्यवसायीलाई करको दायरामा ल्याउन सुझाव दिए ।
प्रदेशको दिगो आर्थिक विकासको लागि अनुसन्धान गर्ने आफूहरु योजनामा रहेको उनले बताए । उपलब्ध नहुने ठाँउमा समेत पुँजीगत खर्च भएकाले त्यस्ता चुहावट रोक्नुपर्ने मन्त्री बरालको भनाइ थियो ।
गण्डकी प्रदेशका प्रमुख सचिव डा.दामोदर रेग्मीले करको दायराको अवस्था हेरी बढाउनु पर्ने बताए । बहुवर्षीय योजनाको नाममा सुरुमा सानो रकम विनियोजन गर्ने र त्यस पछि करोडौं बजेट विनियोजन गरेर आन्तरिक श्रोत सुनिश्चित नभई दाहित्व बढाउने परिपार्टीले प्रदेशलाई समेत श्रोत व्यवस्थापनमा कठिन हुँदै आएको उनले बताए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले आर्थिक गतिविधि बढाउनेतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए । उनले भने, “आजका मितिदेखि लाग्ने राजस्वलाई दोब्बर वृद्धि गर्ने मन्त्रीको योजना अनुरुप हामी पनि लाग्ने छौं ।”
पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले तीन तहका सरकारहरुले महत्वकांक्षी योजना बनाउने तर कार्यान्यनमा फितलो भएको आरोप लगाए । राजनीतिक कारणले गर्दा विकास निर्माणमा प्रत्यक्ष प्रभाव, केन्द्रिकृत सोच, केन्द्र सरकारसँग श्रोत बढी राख्नुले प्रदेशले जनताको भावना अनुसार काम गर्न नसकेको उनले दाबी गरे ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले आफ्नो अभिभाज्य कोषको रकम गतवर्ष नआएको बताए । आफ्नो कार्यालयबाट हाल सेवा सुविधा विद्युतीय माध्यमबाट प्रवाह गरेको उनले जनाए ।
पृथ्वीनारायण क्याम्पसको अर्थशास्त्र विभागीय प्रमुख प्रा.डा.लेखनाथ भट्टराईले अनुसन्धानको आधारमा योजनाहरु छनौट गर्नुपर्ने बताए । विश्वविद्यालयमा धेरै विज्ञहरु काम नपाएर भांैतारिएको अवस्थामा विकास निर्माणको लागि आफूहरुसँग सहकार्य गर्न उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्