Logo

सम्पत्ति शुद्धीकरणका कारण नेपाल खैरो सूचीमा पर्ने सम्भावना

वित्तीय कारबाही कार्यदल (एफएटीएफ)ले सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपालको मूल्यांकन गर्ने समय नजिकिँदै गर्दा नेपाल खैरो सूची (ग्रे लिस्ट) मा पर्ने सम्भावना बढेको छ । नेपालमा सम्पत्ति शुद्धीकरणका विषयमा केही कानुनहरु बने पनि त्यसको कार्यान्वयन नहुँदा विदेशमा गरिने लगानीदेखि स्वीस बैंकमा नेपालीले जम्मा गरेको रकमसमेत बढिरहेको छ ।
सरकारले पूर्वाधारमा लगानी गर्न स्रोत देखाउनु नपर्ने व्यवस्था गरेसँगै सम्पत्ति शुद्धीकरणमा नेपालको अवस्था खस्किने देखिएको हो । नेपालमा हुने सुन तस्करीका घटनादेखि भ्रष्टाचारसम्मले यहाँको अवस्था नाजुक भएको देखाएको छ ।
क्षेत्रीय सञ्जाल एसिया प्रशान्त समूह (एपीजी) मार्फत नेपाल पनि एफएटीएफको सदस्य रहेकाले सम्पत्ति शुद्धीकरणका विषयमा उसले ६ महिनापछि नेपालको समेत मूल्यांकन सार्वजनिक गर्ने छ । तर, नेपालीले ‘ट्याक्स हेभन’ मुलुकहरुमा लगानी गरेका समाचार बाहिरिँदै गर्दा यसले नेपालको स्तरलाई खस्काउने मूल्यांकन गरिएको छ ।
पूर्व अर्थसचिव रामेश्वर खनाल विभिन्न कारणले नेपाल ‘ग्रे लिस्ट’मा पर्न सक्ने सम्भावना रहेको बताउँछन् । “प्यान्डोरा पेपरमा हाम्रा केही व्यवसायीको नाम आउनु, उनीहरुले विदेशमा लगानी गरी कर छलेको र त्यो पैसा नेपालमा ल्याएर लगानी गरेको कारणले पनि ग्रे लिस्टमा पर्ने सम्भावना बढेको छ,” उनले भने ।
सम्पत्ति शुद्धीकरणका विषयमा ‘गुण्डा नाइके’हरु विरुद्ध परेको मुद्दामा पनि उनीहरुलाई सर्वोच्च अदालतले सफाइ दिएको थियो । त्यस्तै केही ठूला व्यवसायीमाथि परेका उजुरीहरुमा समेत सरकारले छानबिन नगरेका कारण ग्रे लिस्टमा पर्ने सम्भावना रहेको खनालको तर्क छ । “उनीहरुलाई कारबाही नै गर्नुपर्छ भन्ने हो, नभए पनि छानबिन गरेर एउटा निष्कर्षमा पुग्नुपथ्र्यो,” उनी भन्छन् “छानबिन किन नगरेको, एउटा पनि मुद्दा किन नहालेको भनेर ‘एपीजी÷एफएटीएफले प्रश्न राख्छ तर, त्यसको उत्तर अर्थ मन्त्रालयले पनि दिन सक्दैन ।”
कालो धनलाई सेतो बनाउने भनेर अर्थमन्त्रीले दिएको भाषणले पनि नेपाललाई अप्ठेरोमा पार्न सक्ने खनाल बताउँछन् । “अर्थमन्त्रीको भाषण पनि उनीहरुले ‘नोट’ गरिरहेका होलान् । त्यस विषयमा समेत असन्तुष्टि रहने देखिन्छ,” उनले भने ।
कानुनी, प्राविधिक र संस्थागत संरचनाका विषयहरुमा मूल्यांकन गर्दै आएको एफएटीएफले सन् २०१२ यता आफ्नो मापदण्ड परिवर्तन गरेर प्रभावकारिता र परिणामसमेतको मूल्यांकन गर्दै आएको छ । तर नेपालमा केही कानुनहरु बने पनि त्यसको नतिजा भने शून्यकै अवस्थामा रहेको छ । समय–समयमा आउने सम्पत्ति शुद्धीकरणका विषयमा समेत सरकारले छानबिन गर्न नसक्दा नेपाल खैरो सूचीमा पर्ने सम्भावना बनेको हो ।
नेपालमा प्रणाली बने पनि ज्ञानको अभाव र डरत्रासका कारण शंकास्पद कारोबार पत्ता लगाउन मुस्किल हुँदा कालो धन अर्थात् डर्टी मनीको कारोबार बढेको सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगका प्रवक्ता सुशीलप्रसाद आचार्य बताउँछन् । कालो धनको प्रक्रियालाई रोक्न एफएटीएफले एउटा सिस्टमको परिकल्पना गरेको उनले बताए । उनका अनुसार, राम्रो–नराम्रो कुनै पनि काम गरेर आर्जन गरेको सम्पत्ति खर्च गर्ने सम्भावित ठाउँलाई एफएटीएफले सूचक संस्थाको रुपमा मानेको छ । वित्तीय र गैरवित्तीय यस्ता सूचक संस्थाहरुले कालो धन लगानी भएको शंका लागेमा नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू) मा रिपोर्ट गर्नुपर्छ । “जस्तै कुनै बैंकमा कसैले १० लाखभन्दा बढी रकम जम्मा गर्छ भने थ्रेसहोल्डको आधारमा उसको रिपोर्ट जान्छ । तर, यदि १० लाखभन्दा कम नै पैसा राखेको छ तर, शंका गर्ने आधारहरु छन् भने उसको विवरण त्यो बैंक तथा वित्तीय संस्थाले एएफयूमा पठाउनुपर्छ,” उनले भने । त्यस्ता सूचकहरुमा बैंक तथा वित्तीय संस्था, क्यासिनो, सुनचाँदी व्यवसायी लगायत थुप्रै निजी संस्थाहरु पर्छन् । त्यस्तै, गैरवित्तीय सूचक संस्थामा चार्टर्ड एकाउन्टेन्ट, वकिललगायत अन्य रहेका छन् ।
सम्पत्ति शुद्धीकरणका विषयमा कतै सूचकहरुले नै लापरबाही त गरेनन् भनेर हेर्न नेपाल राष्ट्र बैंक, आन्तरिक राजस्व विभाग, सहकारी विभाग जस्ता नियामक निकाय समेत रहेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत ३२ वटा त्यस्ता सरकारी एजेन्सीहरुले कामकारबाही गरिरहे पनि नेपालले अपेक्षित उपलब्धि भने हासिल गर्न सकेको छैन ।
नेपालमा पटक पटक सूचक संस्थाहरुले पठाएको रिपोर्टलाई नेपाल राष्ट्र बैंकले थन्क्याइदिएको जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भने सम्पत्ति शुद्धीकरणका विषयमा कारबाही भइरहेको जनाउँछन् । “सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्था पालना नगरेको सन्दर्भमा गत आर्थिक वर्षमा हामीले तीन वटा बैंकलाई कारबाही गरेका छौं,” उनले भने, “सम्पत्ती शुद्धीकरण रोक्न एउटा निकायले मात्र सक्दैन । सबैले योगदान दिनुपर्छ तर समय लाग्छ ।”
सन् २०११ मा गरिएको मूल्यांकनमा नेपाल कानुनी आधार कमजोर भएको भन्दै निगरानीको सूचीमा परेको थियो । तर, सन् २०१४ मा नेपालले नेकपा माओवादीको अवरोधका बाबजुद संगठित अपराध निवारण ऐन २०७०, पारस्परिक कानुनी सहायता ऐन २०७०, सुपुर्दगी ऐन ०७०, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन ०७० ल्याएको थियो । त्यसपछि भने सन् २०१४ मा नेपाल निगरानीको सूचीबाट हटेको थियो । पारस्परिक कानुनी सहायता ऐन बने पनि हालसम्म कुनै पनि मुलुकसँग नेपालले पारस्परिक कानुनी सहायता सन्धि गरेको छैन । त्यसले पनि देश बाहिर हुने लगानीलाई नियन्त्रण गर्न नसकेको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतम भने विभिन्न देशहरुसँग सन्धिको प्रक्रिया अगाडि बढाएको बताउँछन् । “चीनसँग सन्धि गरेका छौं, कार्यान्वयन हुने क्रममा छ,” उनले भने, “भारतसँग यो ऐन आउनु अगाडि नै सन् २००५ मा प्रारम्भिक हस्ताक्षर गरेर राखेका छौं, त्यसलाई अगाडि लैजानुपर्ने छ । अन्य देशहरुसँगको प्रस्ताव विचाराधिन छन् ।” एक पक्षले मात्र चाहँदैमा सन्धी नहुने भएकाले दुवैले उत्तिकै तत्परता देखाउनुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्