पर्यटनको खर्च र बसाइ बढ्यो !

नेपालमा मात्रै नभएर विश्वमै धरमरमा रहेको छ, पर्यटन । हुन पनि सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या ८१ प्रतिशतले घटेको थियो, सन् २०१९ को तुलनामा । त्यस्तै नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या लगभग ८२ प्रतिशत कम रहेको थियो, अघिल्लो वर्षको तुलनामा । तर, सन् २०२० मा नेपालले २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ वर्षको रूपमा मनाउने घोषणाका साथै तयारी पनि गरेको थियो । तर, अचानक सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सहर वुहानबाट अकस्मात् पैmलिन सुरु भएको महामारी नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण सन् २०२० मा मनाइने भनिएको, लगभग सबै तयारी पूरा गरिएको नेपाल भ्रमण वर्ष–२०२० का सबै कार्यक्रमहरू नेपाल सरकारले अलि ढिला गरी स्थगित ग-यो तापनि सन् २०२० मा वर्ष २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
हामी नेपालीहरूका लागि, खासगरी पर्यटन व्यवसायीहरूका लागि खुसीको कुरो के छ भने सन् २०२० मा नेपालमा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरेको भए तापनि सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गर्ने प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको बसाइ अवधि बढेको छ । हालै नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले प्रकाशित गरेको पुस्तक ‘नेपाल टुरिज्म स्टाटिस्टिक– २०२०’ मा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५.१ दिन र प्रतिव्यक्ति प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर रहेको छ ।
यसरी हेर्दा अब हामी नेपालीहरूले हाल विश्वव्यापी रूपमा फैलिएर विश्वका प्रायः सबै देश र ती देशका आम सर्व जनसाधारणबीच त्राहिमाम, त्राहिमामको अवस्थामा रहको कोरोनाको महामारी ठीक अवस्थामा फर्किएपछिको अवस्थामा पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या र गुणस्तरलाई कसरी हुन्छ, सन्तुलन मिलाएर सँगसँगै लानुपर्ने दायित्व पनि आइपरेको छ । कम्तीमा अब हामीले २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि जुन १५.१ दिन छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिव्यक्ति प्रतिदिन खर्च गराइ ६५ अमेरिकी डलर जुन छ, सो दरलाई तत्कालै अरू बढी बढाउन नसके पनि कसरी हुन्छ, कायमै राख्ने प्रयासचाहिँ हामीले गर्नैपर्ने देखिन्छ ।
नेपाल आउने पर्यटकको तथ्यांक हेर्ने हो भने सन् २००२ मा तत्कालीन श्री ५ को सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२००२’ नामक पुस्तकमा उल्लेख भएअनुसार सन् १९६५-६६ सम्ममा नेपालमा जम्मा ९ हजार २ सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भनी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि सन् १९६९-७० को चार वर्षको अवधिमा चार दोब्बरभन्दा बढी अर्थात् ३९ हजार ६ सय ६० जना विदेशीले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७-७८ देखि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । स्मरणीय छ, सन् २०२० मा नेपाल सरकारले नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँ बराबर आम्दानी गर्न सफल भएको छ ।
यो भनेको तुलनात्मक रूपमा हेर्दा सन् २०१९ को तुलनामा ८० प्रतिशतले बढी आम्दानी भएको हो, समग्र पर्यटन क्षेत्रबाट । भलै सो वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा भने ठूलो गिरावट आएको थियो, सन् २०२० मा । त्यसो त सन् २०१९ मा पनि सन् २०१८ को तुलनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकबाट सरकारले ७३ प्रतिशत बढी आम्दानी गरेको थियो, पर्यटनबाट ।