नेपालमा लगानीको सम्भावना «

नेपालमा लगानीको सम्भावना

करिब ३० मिलियन जनसंख्या भएको देश नेपाल विश्वमा जनसंख्याको हिसाबले ४३ औं स्थानमा रहेको छ । तर, आर्थिक सबलताको हिसाबले नेपाल कमजोर मुलुकको सूचीमा पर्छ । नेपालको आर्थिक वृद्धिदर आव २०७६-०७७ मा २.१२ प्रतिशतले ऋणात्मक रहनु, बेरोजगारी, गरिबी तथा कमजोर पूर्वाधारको अवस्थाले यही नै कुरालाई औंल्याउँछ । नेपालको अर्थतन्त्रको मुख्य स्रोत भनेको कृषिक्षेत्र नै हो । कुल गार्हस्थ्य उत्पादन ३ सय मिलियनको हाराहारीमा रहेको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । प्रतिव्यक्ति आम्दानी ११ सय ९१ अमेरिकी डलर छ । गरिबको संख्या घटेर १७ प्रतिशतको हाराहारीमा रहेको भए तापनि कोभिडका कारण यो संख्या पुनः बढेर गएको अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा करिब २६ प्रतिशत रेमिट्यान्सले धानेको छ, तर कोभिडको कारण वैदेशिक रोजगारीमा जाने युवाहरू घर फर्कने क्रम बढेसँगै यसको आकार घट्ने निश्चित छ । यो अवस्थामा नेपालको अर्थतन्त्रलाई उकास्ने हो भने लगानी बढाएर औद्योगिक क्षेत्रको विस्तार गरी देशमा नै रोजगारीको अवसर सिर्जना गर्नुको विकल्प छैन । त्यसका लागि मूलतः देशको राजस्व परिचालनबाट मात्र सम्भव नहुने भएकाले निजी क्षेत्रलाई समेत यस क्षेत्रमा लगानी गर्न आकर्षण गरिनुपर्छ । यसका लागि वैदेशिक लगानीलाई आकर्षण गरिनुपर्छ । वैदेशिक सहायता भिœयाउनका लागि लगानीका आकर्षक प्याकेज ल्याउनुपर्ने हुन्छ । त्यसका लागि भएका नीतिगत अप्ठयाराहरूलाई सरलीकृत गरिनुपर्छ ।
नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाल विकासशील र सन् २०३० सम्म मध्यम आय भएको देश बनाउने लक्ष्य लिएको छ । यो आकांक्षा पूरा गर्नका लागि अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरूमा परिमार्जनसहित अगाडि बढ्ने काम हुँदै आएको छ । यसका लागि नेपालले सामाजिक क्षेत्रका साथसाथै आर्थिक तथा पूर्वाधार क्षेत्रमा समेत लगानी बढाउनुपर्छ । यो क्षेत्रहरूमा नेपालको अवस्था तुलनात्मक रूपमा कमजोर छ । जीडीपीमा उत्पादन क्षेत्रको योगदान लगभग ६ प्रतिशत मात्र रहेको छ । यदि यो लक्ष्य पूरा गर्ने हो भने यो क्षेत्रमा लगानी बढाउनुपर्छ । लगानीका लागि नेपाल सरकारको स्रोतबाट मात्र सम्भव हुँदैन । त्यसका लागि निजी क्षेत्रका साथसाथै एफडीआईलाई पनि आकर्षित गर्नुपर्छ र यस क्षेत्रका भएका कानुनमा समयसापेक्ष रूपमा सुधार गरी अगाडि बढ्नुपर्छ ।
वैदेशिक लगानीलाई आकर्षण गर्नका लागि लगानीमैत्री कानुन बनाउने र भएकालाई परिमार्जनका काम पनि भएको छ । जस्तो उद्योग दर्ताका लागि वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ र त्यसका लागि धेरै समय लाग्ने गरेको सन्दर्भमा नीतिगत सुधार गरी यसमा लाग्ने प्रक्रिया र समयलाई घटाएर ४० दिनमा झारिएको छ । यो नयाँ दिशानिर्देशले धेरै प्रक्रियामा सहजता प्रदान गरेको छ । सुधारको प्रयासस्वरूप कम्पनी दर्तालाई सरलीकृत बनाउन वान स्टप सेवाको सुरुवात गरिएको छ । विदेशी मुद्रा विनिमयको प्रणालीलाई सहजीकरण गरी एफडीआईको आवश्यकतालाई सम्बोधन हुने गरी लचिलो बनाइएको छ । एफडीआईबाट आर्जित रकमको स्वदेश फिर्ता तथा प्रिन्सिपल र ब्याज फिर्ता गर्न सक्ने प्रावधान गरिएको छ । घोषित लाभांश स्वदेश फिर्ताका लागि अनुमति दिने प्रावधान छ । कुनै रोयल्टी वा शुल्क पनि स्वदेश फिर्ता लैजान पाउने प्रावधान गरेको छ । त्यसैगरी औद्योगिक व्यवसाय ऐनमा संशोधन गरेर लगानीमैत्री बनाइएको छ । सेज कानुन, कम्पनी ऐन, विदेशी मुद्रा विनियम ऐनमा समेत परिमार्जन गरी कार्यान्वयनको चरणमा रहेको छ । यो अवस्थाले नेपालमा लगानीका लागि प्रायः सबैजसो क्षेत्र उर्वर भएको देखाउँछ भने अर्कातर्फ नेपालमा रहेको जनसांख्यिक लाभको अवस्थाले श्रम बजारमा श्रमिकको सहज उपलब्धताले श्रम लागत कम पर्ने हुनाले वैदेशिक लगानी आकर्षित हुने सम्भावना छ । लगानीका लागि सम्भावनाका क्षेत्रहरू पहिचानसमेत गरिसकेको अवस्था छ ।
लगानीका लागि सम्भावनाका क्षेत्रहरूमध्ये पर्यटन क्षेत्र पनि एक हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरू अझ धेरै बाँकी छ । छिमेकी दुई ठूला देशहरू चीन तथा भारतमा ठूलो जनसंख्या रहेको छ र यी देशहरूबाट आउने १ प्रतिशत पर्यटकलाई मात्र नेपाल भिœयाउन सकेको खण्डमा यस क्षेत्रबाट नेपालले प्रशस्त फाइदा लिन सक्ने अवस्था देखिन्छ । मूलतः होटल, रेस्टुराँ, ट्राभल एन्ड टुरजस्ता क्षेत्रमा गरिने लगानीले प्रतिफल राम्रो दिने सम्भावना छ ।
नेपाल कृषिप्रधान देश हो । यहाँका ६७ प्रतिशत जनताले यसै क्षेत्रलाई आफ्नो गुजारा चलाउने माध्यम बनाएका छन् । यस क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा करिब २७ प्रतिशत योगदान गर्दै आएको छ । यस क्षेत्रलाई व्यवसायीकरण गर्न सकिएको छैन । यस क्षेत्रको पनि रासायनिक मल उत्पादन गर्ने उद्योग, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा अनुसन्धान, बीउ उत्पादन, मत्स्यपालनजस्ता क्षेत्रमा प्रशस्त लगानी गर्ने स्थान रहेको छ ।
नेपाल ऊर्जा उत्पादनका हिसाबले सम्भावना भएको देश हो । ८३ हजार मेगावाट उत्पादन गर्न सकिने सम्भावना रहेको भए तापनि प्राविधिक हिसाबले ४२ हजार मेगावाट उत्पादन गर्न सकिन्छ । यस क्षेत्रमा सन् २०३० सम्ममा १० हजार मेगावाट आवश्यक पर्छ, तर हालको उत्पादन प्रतिव्यक्ति १ सय ३२ किवा प्रतिवर्षको हाराहारीमा मात्र रहेकाले यस क्षेत्रमा लगानीको सम्भावना प्रशस्त छ । नेपाली बजार मात्र नभएर भारत तथा बंगलादेशबाट समेत विद्युत्को माग आइरहेको सन्दर्भमा यो क्षेत्रमा लगानी गर्दा प्रतिफल राम्रो देखिन्छ । साथै सोलार इनर्जी, हावाद्वारा उत्पादन हुने इनर्जी, बायोग्यास, जियो थर्मलमा समेत लगानी गर्दा राम्रो प्रतिफल दिने सम्भावना रहेको अवस्था छ ।
यातायात क्षेत्र नेपालको अर्थतन्त्रमा ठूलो महत्व राख्ने क्षेत्र हो । यसले कुल गार्हस्थ्य उत्पादनमा १०.६ प्रतिशत योगदान गर्दै आएको छ भने २० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको छ । तर, कमजोर रोडनेटवर्क अर्थात् ५४ किमि प्रति १ सय प्रतिवर्गकिमि मात्र रहेको छ । यस क्षेत्रमा विशेष गरी रेलमार्ग, टनेल मार्ग, एयरपोर्ट, सहरी यातायात, केबलकारजस्ता क्षेत्रमा लगानीको सम्भावना छ । यसका लागि ३.७ देखि ५.५ बिलियन अमेरिकी डलरको आवश्यकता रहेको अनुमान छ ।
नेपालमा उत्पादन क्षेत्रको विकास अपेक्षित रूपमा हुन सकेको छैन । यो क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ६.३ प्रतिशत योगदान गर्दै आएको भए तापनि यसको वृद्धिदर मात्र १.१८ प्रतिशत छ । यस क्षेत्रमा सिमेन्ट उद्योग, गार्मेन्ट, फर्मास्युटिकल, मेटल उद्योग, उपभोग्य सामानको उत्पादनसँग सम्बन्धित उद्योगजस्ता क्षेत्रमा प्रशस्त सम्भावना रहेको छ । यसका लागि नेपाल सरकारले आठवटा विशेष आर्थिक क्षेत्रको सम्भाव्यता अध्ययन सकिसकेको छ भने चारवटाको प्रक्रियामा छ र दुईवटा निर्माणकै चरण गइसकेको छ । तसर्थ पनि यो क्षेत्र लगानीका लागि प्रशस्त सम्भावनाको क्षेत्र बनेको छ ।
नेपालको खनिज तथा खानीजन्य उद्योगमा लगानीको लागि प्रशस्त सम्भावना रहेको छ । खनिज ६३ स्थानमा पत्ता लागेको छ भने ८५ स्थानमा खानी उत्खनन सुरु भएको छ । १ सय स्थानमा फलाम उत्खनन गर्न सकिनेछ । लाइम स्टोन, म्यागजिन, जिङ्क, सिसा तथा डालोमाइटजस्ता खानीको सम्भावना रहेको छ । लगानीका लागि विशेष गरी म्याग्नेटिक खानी उत्खनन, गैरम्याग्नेटिक खनिज, फ्युल खानी, जिमस्टोन, डेकोरेडेट स्टोन तथा कन्ट्रक्सनसँग सम्बन्धित उद्योगमा लगानी गर्दा प्रतिफल राम्रो दिने सम्भावना रहेको छ ।
नेपालमा वित्तीय क्षेत्रको विकास शिशु अवस्थामा नै रहेको छ । बैंकिङ क्षेत्रमा निजी क्षेत्रलाई भिœयाएपछि यसको विकासमा बढोत्तरी भएको छ । यस क्षेत्रले २२ हजार ४ सय ६५ जनालाई रोजगारी दिँदै आएको छ । तथापि यस क्षेत्रमा विशेष गरेर बैंकिङ क्षेत्र, बिमा इन्भेस्टमेन्ट कम्पनीजस्ता क्षेत्रमा लगानीको सम्भावना रहेको छ ।
शिक्षा क्षेत्रमा सरकारी लगानी पर्याप्त नभएकै कारण निजी क्षेत्रको समेत लगानीलाई भिœयाइएको छ । अझ पनि यस क्षेत्रमा लगानीको आवश्यकता छ । विशेष गरी प्राविधिक शिक्षा तथा अनुसन्धान क्षेत्रमा लगानीको आवश्यकता छ भने स्वास्थ्य सुविधा १ हजारमा प्रति ५ बेड रहेको छ । यो अवस्थाले अस्पताल, क्लिनिक, मेडिकल कलेज, फर्मास्युटिकल, अनुसन्धानमूलक केन्द्रमा लगानीको आवश्यकता छ । साथै आईसीटीको क्षेत्रमा समेत लगानीको सम्भावना छ । यी क्षेत्रको लगानीमा प्रतिफल राम्रो देखिएको हुँदा स्वदेशी तथा विदेशी लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्न सकिने देखिन्छ । यी क्षेत्र भनेको नेपाल सरकारको समेत प्राथमिकताको क्षेत्र पनि भएकाले सरकारले यस क्षेत्रमा आउने लगानीलाई स्वागत नै गर्नेछ । यी क्षेत्रमा लगानी भएको खण्डमा सुखी नेपाली समृद्ध नेपाल भन्ने भिजनले सार्थकता पाउन जाने देखिन्छ ।
(लेखक हङकङका लागि महावाणिज्यदूत हुन् ।)

प्रतिक्रिया दिनुहोस्