कोरियाको रोजगारी पुनः सुरु

कोरोना संक्रमणका कारण २० महिना रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने क्रम आंशिक रूपमा खुलेको छ । कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्त पूरा गरेपछि पहिलो चरणमा प्रतिबद्ध श्रमिक (कमिटेड वर्कर) लाई लैजाने तयारीसहित कोरियाको रोजगारी नियमित हुने भएको हो ।
प्रतिबद्ध श्रमिक भनेको कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमिक हुन् । कोरियामा एकै कम्पनीमा ४ वर्ष १० काम गरेर फर्केका ११९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नामावलीसमेत सार्वजनिक गरेको छ । शाखाका निर्देशक सुरेशकुमार राउतका अनुसार नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियन पक्षसँगको लगातार छलफलपछि पहिलो चरणमा कात्तिक १० गते ५० श्रमिकको उडान गर्ने तयारी भएको छ । यसैगरी बाँकी रहेको ६९ श्रमिकलाई पनि पठाउने तयारी गरिएको छ । “नेपाली श्रमिक माग गर्ने सम्बन्धमा कोरियन पक्षले राखेको कोरोना बिमा, पीसीआर परीक्षण, सिधा हवाई उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने लगायतका शर्त पूरा भएपछि नेपाली श्रमिक जाने बाटो खुलेको हो,” निर्देशक राउतले कारोबारसँग भने, “कोरोना संक्रमणबीच पनि १६ श्रमिक स्रोत देशमध्ये कम्बोडिया, थाईल्यान्ड, श्रीलंकापछि नेपालबाट कोरियाले श्रमिक माग गरेको हो ।”
हाल कोरिया प्रवेशका लागि भिसा प्रक्रियामा रहेका ११९ श्रमिकलाई पठाएपछि नियमित रूपमा प्राथमिकताका आधार अन्य नयाँ श्रमिकलाई समेत पठाउने तयारी भएको शाखाले जनाएको छ । हाल जाने तयारीमा रहेका ११९ श्रमिक २०१९ को अक्टोबर, नोभेम्बर र डिसेम्बरमा कमिटेड श्रमिकका रूपमा नेपाल आएका धेरै छन् । कोरियाले कडा शर्त राखेर कोरोना संक्रमणका बीच श्रमिक माग गरेको भए पनि यसरी जाने कोही श्रमिकमा कोरिया पुगेपछि कोरोना संक्रमण देखिए सम्पूर्ण प्रक्रिया पुनः रोकिने सक्नेमा सचेत हुन कोरियन पक्षले नेपालसँग आग्रह गरेको छ ।
लामो समय रोकिएर पुनः सुचारु भएको कोरियाको रोजगारीलाई नियमित गर्ने सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र ईपीएस शाखाले कडाइका साथ परीक्षण र प्रक्रिया अघि बढाउने भएको छ । यसलाई नियमित गराएर हाल कोरिया जाने तयारीमा त्यहाँका रोजगारदातासँग श्रम सम्झौता गरेर रोकिएका १० हजार श्रमिकलाई पनि पठाउने गरी तयारी भइरहेको छ । विगत २ वर्षदेखि ३ हजार कमिटेड वर्कर र ७ हजार नयाँ श्रमिक गरी १० हजार युवा रोकिएको कोरियाको रोजगारी सुचारु हुने आशामा बसेका छन् ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड–१९ को कारणले विगतमा लकडाउन भई अन्तर्राष्ट्रिय उडानसमेत बन्द भएकाले दक्षिण कोरियामा नियमित तथा कमिटेड कामदारको उडान प्रक्रिया रोकिएको थियो । ईपीएसअन्तर्गत हालसम्म करिब ६५ हजारभन्दा बढी नेपाली युवा कोरिया पुगिसकेका छन् । तीमध्ये ३५ हजारको हाराहारीमा नेपाली युवा कोरियामा कार्यरत छन् ।
नेपाली कामदारहरू कर्तव्यनिष्ठ, इमानदार, लगनशील र मेहनती भएकाले कोरियन रोजगारदाताको छनोटमा उच्च प्राथमिकतामा पर्ने गरेका कारण पनि कोरियन पक्ष नेपाली श्रमिक लैजाने सम्बन्धमा सकारात्मक भएको हो । महामारीका कारण कोरियन सरकारले अन्य १२ देशबाट समेत कामदार माग गर्ने प्रक्रियामा रोक लगाइरहेको शाखाले जनाएको छ ।
नेपाली श्रमिकलाई कोरिया पठाउने प्रक्रिया सुचारु गर्नका लागि नेपाल सरकारको तर्फबाट विभिन्न चरणमा एचआरडी कोरियासमक्ष प्रयास गरेको थियो । सन् २०२० को मार्चबाट श्रम सम्झौता र भिसा इस्यु भएका १० हजारभन्दा बढी श्रमिक कोरिया जान नपाएर रोकिएका छन् ।