छोटो दूरीमा पनि गाडी भाडा बढ्ने

भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायी प्रदर्शनमा उत्रिएपछि बागमती प्रदेश सरकार भाडा बढाउन सहमत भएको छ ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार नै सूचना जारी गर्दै भाडा समायोजनका लागि गठन भएको समितिले प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको जनाएको छ । “स्थानीय रुटमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर प्रदेश सरकारले नै तोक्ने हो । तर कानुनी र नीतिगत प्रक्रिया पूरा गर्न समय लागेकाले ढिलाइ भएको हो,” मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले भने, “निर्णय हुने प्रक्रियामा छ, चाँडै हुन्छ,” उनले भने ।
प्रदेश सरकारले नीतिगत अभावका कारण भाडा समायोजनमा ढिलाइ भएको जनाएको छ । तर यातायात व्यवसायीहरुले भने गत शुक्रबारबाट नै भाडा बढेको जानकारी गराउँदै यात्रुसँग भाडा असुल्ने गरेपछि यात्रु मारमा परेका थिए । बढी भाडा असुल्ने सवारीलाई यात्रुको उजुरीको आधारमा शुक्रबारदेखि नै कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले बताए । उनले भने, “शनिबार ५४, आइतबार ६५ र सोमाबार ८२ सवारीलाई कारबाही गरिएको छ ।”
यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातमा २८ प्रतिशतले असारको २९ गते भाडा समायोजन गरेको थियो । मुलक संघीय प्रणालीमा गएपछि प्रदेश अन्तर्गतका जिल्लामा छोटो रुपमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा समायोजन गर्ने अधिकार प्रदेश सरकारमा रहेको छ ।
छोटो दूरीका सार्वजनिक यातायातमा भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सोमाबार उपत्यकामा प्रदर्शन गरेका थिए । लामो दूरीको सार्वजनिक यातायातमा भाडा समायोजन भएको तर प्रदेश सरकारले निर्णय नगर्दा छोटो दूरीमा भाडा समायोजन नभएको बताउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । छोटो दूरीको सार्वजनिक यातायातमा भाडा समायोजनको माग गर्दै चक्रपथमा सवारी राखेर सांकेतिक रुपमा दबाब दिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले भने, “हामीले सरोकारवाला निकायमा भाडा समायोजनको लागि भन्दै आएका थियौं । तर प्रदेश सरकारले निर्णय नगरेकाले दबाबस्वरुप प्रदर्शन गरेका हौं ।”
चक्रपथको सुकेधारा, चाबहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकीलगायत स्थानमा गाडी राखेर प्रदर्शन भएको थियो । बागमती प्रदेश अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले भने प्रदेश सरकारले छोटो दूरीमा भाडा समायोजन नभएको जनाएको छ ।