आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुने प्रक्षेपण «

आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुने प्रक्षेपण


एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०७८/०७९ मा आर्थिक वृद्धिदर भन्दा मुद्रास्फीति दर बढी हुने प्रक्षेपण गरेको छ । यो वर्ष ४.१ प्रतिशतको आर्थिक वृद्धिदर हुँदा मुद्रास्फीति भने ५.२ प्रतिशतले बढ्ने प्रक्षेपण एडीबीले गरेको हो ।
एडीबीले गरेको प्रक्षेपण तलमाथि हुन सक्ने भए पनि आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीति बढी हुँदा त्यसले खुद नाफामा प्रभाव पार्ने देखिएको छ । त्यसो त पछिल्ला १० वर्षमा धेरै पटक मुद्रास्फीतिभन्दा आर्थिक वृद्धिदर कम भएको देखिन्छ तर बीचका केही वर्ष आर्थिक वृद्धिदर उच्च भए पनि कोरोना माहामारीका कारण पुनः मुद्रास्फीति बढ्दै गएको छ ।
आर्थिक वृद्धिदर भन्दा मुद्रास्फीति बढी हुनुले खुद नाफा कम हुँदै जाने र वृद्धि नै नकारात्मक हुने वरिष्ठ अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी बताउँछन् । “इन्फ्लेसन ५.५ प्रतिशत हुँदा आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र भएपछि त्यसले खुद नाफा घटाउँदै लैजान्छ । मानौं तपार्इंसँग एक सय रुपैयाँ छ । तपार्इंले १ सय ४ रुपैयाँ कमाउनु हुन्छ तर एक सय रुपैयाँको सामानलाई १ सय ५ रुपैयाँ हाल्नुपर्छ, यसले त ग्राहकलाई त घाटा भयो नि,” उनले उदाहरणसहित भने ।
अहिले चीन, बेलायत लगायतका धेरै देशको मुद्रास्फीति बढिरहेकाले नेपालको पनि बढ्न सक्ने उनको आंकलन छ । मुद्रास्फीतिको दर भन्दा अनुभव गर्ने मुद्रास्फीति फरक हुने गरेको पनि उनको भनाइ छ । “मुद्रास्फीति निकाल्दा राष्ट्र बैंकले निर्धारित दरलाई लिन्छ । तर बजारमा फरक हुन्छ । तोकिएको भन्दा बढी लिइन्छ, त्यहाँ उपभोक्ताले त बढी पैसा तिरेको हुन्छ । तर तथ्यांकमा त्यो आउँदैन,” उनले भने ।
पूर्व अर्थसचिव रामेश्वर खनाल भने यसलाई नकारात्मक तरिकाले नलिइने बताउँछन् । उनी भन्छन्, “८ प्रतिशतले आर्थिक वृद्धिदर भएर १० प्रतिशतले मुद्रास्फीति भयो भने त्यसलाई ओभर हिटिङ भनिन्छ । यदि साधारण आर्थिक वृद्धि भएर मुद्रास्फीति केही बढी छ भने त्यसलाई साधारण नै मानिन्छ । नेपालमा यस्तो धेरै वर्ष हुँदै आएको छ ।”
आर्थिक वृद्धिदर धेरै भएर त्यसले मुद्रास्फीति बढाएको भए त्यसलाई ओभर हिटिङ भन्न सकिने उनी बताउँछन् । “आर्थिक वृद्धिदर धेरै भएपछि आर्थिक क्रियाकलाप बढ्दै जान्छन् । त्यसले माग बढाउँछ । तर, छोटो समयमा आपूर्ति गराउन सकिँदैन । त्यसले वस्तुको मूल्य बढाएर मुद्रास्फीति बढाउँछ,” उनले भने । त्यस्तो अवस्थामा ओभर हिटिङ हुन सक्ने उनको तर्क छ । ५ वर्ष अगाडि चीनको अर्थतन्त्र ओभरहिट भएको उनले सुनाए ।
केन्द्रीय तथ्यांक विभागका पूर्व महानिर्देशक विकाश विष्ट भने एडीबीले मुख्य मुख्य फ्याक्टरहरुको मात्र अध्ययन गरेर प्रक्षेपण गर्ने भएकाले त्यसैलाई आधार मानेर यति नै हुन्छ भन्न नसकिने बताउँछन् । “केन्द्रीय तथ्यांक विभागले साना–साना विषयहरुलाई अध्ययन गरेर तथ्यांक सार्वजनिक गर्छ,” उनी भन्छन्, “एडीबीले ओभरअल रुपमा मात्र हेर्ने हो । त्यसैले केन्द्रीय तथ्यांक विभाग तथा नेपाल सरकारले जे दिन्छ त्यसलाई आधार मानिन्छ ।”

प्रतिक्रिया दिनुहोस्