Logo

वैशाखसम्ममा सबैलाई कोभिड खोप : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्ममा सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सरकारले दशैंअघि नै ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए । सरकारले आफ्नो करिव ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए ।
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए । कार्यक्रममा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिए ।। उनले साइकल चढेर नागरिकहरुले शारीरिक व्यायाम गरुन् भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५.८ किलोमिटर साइकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्