सेयर बजार ६ महिनाअघिको विन्दुमा «

सेयर बजार ६ महिनाअघिको विन्दुमा

लगानीकर्ता भन्छन्– प्रतिफल खाने बेलामा आत्तिएर सेयर नबेचौं

केही समययता लगातार ओरालो लागेको सेयर बजार ६ महिनाअघिको विन्दुमा ओर्र्लिएको छ । गत वैशाख १६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक २६ सय ११ अंकमा पुगेको थियो । मंगलबार नेप्से ७०.०१ अंकले घटेर २६१५.४० अंकमा ओर्लिएको छ ।
साउन अन्तिममा नेप्से सूचक ३२ सय नजिकसम्म पुगेर रेकर्ड कायम गरेको थियो । नेप्से सूचकको गिरावटसँगै बजारमा कारोबार रकम पनि निरन्तर घटिरहेको छ । सेयर बजारमा दैनिक २० अर्बसम्म कारोबार हुन थालेकोमा नेप्से घट्न थालेपछि दैनिक कारोबार ५ अर्ब रुपैयाँमा झरेको छ ।
सेयर बजार निरन्तर ओरालो लाग्नुमा नेपाल राष्ट्र बैंकको नीतिलाई प्रमुख कारक मानिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिअघि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर खरिदमा कडाइ गरेको राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकेपछि बजार अझ प्रभावित हुन थालेको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्था फिर्ता लिनका लागि लगानीकर्ताहरुले अर्थमन्त्री जर्नादन शर्माका साथै गभर्नर महाप्रसाद अधिकारीलाई समेत भेटेर दबाब दिएका थिए । यसैगरी लगानीकर्ताको एक समूहले गभर्नर अधिकारीको राजीनामा माग्दै केही समय सडक संघर्ष समेत गरे पनि लगानीकर्ताको माग सम्बोधन भएको छैन ।
राष्ट्र बैंकले भने बैंक तथा वित्तीय संस्थामा रहेका साना बचतकर्ताको रकम सुरक्षित गर्नका लागि सेयर धितो कर्जामा कडाइ गरिएको स्पष्टीकरण दिँदै आएको छ ।
यसैगरी समयमै बजेट नआउनु र रेमिट्यान्सको गिरावटका साथै मौद्रिक नीतिका प्रावधानले बैंक तथा वित्तीय संस्थासँग तरलता कम भएसँगै व्याजदर बढाउन थालेपछि पनि बजार प्रभावित भएको छ ।
यो साता सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । तीन दिनमा नेप्से दुई सय अंकले घटिसकेको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको व्यवस्थाका साथै बैंकमा तरलताको अभाव र दशैंलगायतका चाडपर्वले प्रभाव क्षणिक भएको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल । “मौद्रिक नीतिको व्यवस्था, बजारमा तरलताको अवस्थालगायतका कारण लगानीकर्ता आत्तिएको जस्तो देखिएको छ,” उनले भने, “यो अवस्था क्षणिक हो, सेयरबाट प्रतिफल पाउने क्षणमा आएर आत्तिएर सेयर बेच्नु हुँदैन ।”
मंगलबार सेयर बजारका सम्पूर्ण समूहगत परिसूचकमा गिरावट आएको छ । यसदिन बैंकिङ ३६.९३, व्यापार ७९.३९, होटल तथा टुरिजम २४.३१, विकास बैंक १५४.४१, जलविद्युत १३८.४५ अंकले घटेको छ ।
यसैगरी फाइनान्स १७५.५९, निर्जीवन बिमा ३२५.५६, उत्पादन ८९.२३, लघुवित्त १११.९९, जीवन बिमा ४३१.९१, म्युचुअल फण्ड ०.१७ र लगानी समूह ३.५२ अंकले घटेका छन् ।
नेप्से घटे पनि मंगलबार कारोबार रकममा भने केही सुधार आएको छ । यसदिन २१८ कम्पनीका एक करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्व ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २२७ कम्पनीका एक करोड ४ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्व १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्