औपचारिकतामा सीमित विश्व पर्यटन दिवस

विश्वभरिकै पर्यटन क्षेत्रमा लागेका व्यवसायीहरूका लागि अहिलेको अवस्था भनेको साह्रै दुःखद रहेको अवस्था हो । फलतः नेपालमा पनि सन् २०२० मा केवल २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै भ्रमण गरे । तथापि हामीले सुन्दा सुखद कुरो के भने सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकले गर्ने खर्चको अवस्थामा भने केही तह माथि उक्लेको छ भने विदेशी पर्यटकको नेपाल बसाइ अवधि पनि बढेको छ । पर्यटन विभागका अनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५.१ दिन रहेको छ । त्यस्तै सन् २०२० मा नेपाल आएका विदेशी पर्यटकले प्रतिव्यक्ति, प्रतिदिन ६५ अमेरिकी डलर खर्च गरेका छन् ।
खासमा लगभग दुई वर्षअघि चीनबाट पैmलन सुरु भएको कोरोना महामारीको अवस्था के हुन्छ, कहिले ठीकठाक अवस्थामा फर्किन्छ ? विषय विज्ञलगायत कसैले पनि ठ्याक्कै यही समयमा ठीकठाक हुन्छ भन्न नसकेको हुनाले मजस्तो अकिञ्चनले कै नै भन्नु र ? तापनि केही विज्ञहरूको सन् २०२५÷०२६ सम्ममा कोरोना महामारी हट्छ भन्ने भनाइ रहेको छ भने केही विज्ञहरूले भने अब कोरोना पूर्ण रूपमा नहटेर एचआईभी÷एड्सजस्तै हामीसँगसँगै रहन सक्ने भनेका छन् । जे भए तापनि कोरोनापछिको अवस्थापछि पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने र गुणस्तरलाई कायम राख्न भने हामीले सक्दो प्रयास गर्नैपर्ने हुन्छ । कसरी हुन्छ, सन्तुलन मिलाएर सँगसँगै लानुपर्ने दायित्व आइपरेको छ । अब हामीले २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि जुन १५.१ दिन छ, सो कायमै राख्नुका साथै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको प्रतिव्यक्ति, प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर जुन छ, सो दर÷रेटलाई तत्कालै अरू बढी बढाउन नसके तापनि कसरी हुन्छ, कायमै राख्ने प्रयास गर्नैपर्ने देखिन्छ ।
नेपाल आउने पर्यटकको तथ्यांक नै हेर्ने हो भने सन् २००२ मा तत्कालीन श्री ५ को सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, योजना, नीति, पूर्वाधार र भौतिक विकास शाखाले प्रकाशित गरेको ‘नेपाल टुरिजम स्टाटिस्टिक–२००२’ नामक किताबमा उल्लेख भएअनुसार सन् १९६५÷०६६ सम्ममा नेपालमा जम्मा ९ हजार २ सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको भनी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसपछि सन् १९६९÷०७० को चार वर्षको अवधिमा चार डबलभन्दा बढी अर्थात् ३९ हजार ६ सय ६० जना विदेशीहरूले पर्यटक भएर नेपालको भ्रमण गरेको देखिन्छ । सोही किताबलाई आधार मानेर हेर्दा सन् १९७७÷०७८ देखि भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्याले वार्षिक १ लाख नाघ्न थालेको देखिन्छ । जस्तै सन् १९७० देखि १९७४ सम्मको चारवर्षे अवधिमा ८९ हजार ८ सय ३८ जना, १९७४ देखि १९७८ को चारवर्षे अवधिमा १ लाख ५६ हजार १ सय २३ जना, १९७८ देखि १९८२ सम्मको चारवर्षे अवधिमा १ लाख ७५ हजार ४ सय ४८ जना, १९८२ देखि १९८६ सम्मको चारवर्षे अवधिमा २ लाख २३ हजार ३ सय ३१ जना, १९८६ देखि १९९० सम्मको चारवर्षे अवधिमा २ लाख ५४ हजार ८ सय ८५ जना विदेशीहरूले नेपालमा पर्यटकका रूपमा भ्रमण गरेको तथ्यांक देखिन्छ ।
स्मरणीय छ, सन् २०२० मा नेपाल सरकारले नेपाल घुम्न आएका विदेशी पर्यटकबाट समग्रमा २५ अर्ब नेपाली रुपैयाँबराबर आम्दानी गर्न सफल भएको छ । यो भनेको तुलनात्मक रूपमा हेर्दा सन् २०१९ को तुलनामा ८० प्रतिशतले बढी आम्दानी भएको हो, समग्र पर्यटन क्षेत्रबाट । अन्त्यमा यही २७ सेम्टेम्बर २९ औं विश्व पर्यटन दिवस हो । सो अवसरमा नेपालको मात्रै नभएर विश्वभरिकै देशमा पर्यटन व्यवसायले पुनः उछाल ल्याओस् भन्ने हार्दिक कामनासहित अहिलेलाई बिदा ।