पर्यटनको साइनो जोड्दै प्रदेश दुई «

पर्यटनको साइनो जोड्दै प्रदेश दुई


प्रदेश दुईले पर्यटक भित्र्याउनका लागि गण्डकी प्रदेशसँग सहकार्यको साइनो थालेको छ ।
पोखरामा प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा अन्तरप्रदेशीय पर्यटकनको गतिविधि र लाभ लिन पाँचबुँदे अन्तरप्रदेश समझदारी र साइनोे जोडिएको हो ।
स्थलमार्ग सँगै सिमरा–पोखरा हवाई उडान सुरु भएपछि एकाएक उत्साही बनेको प्रदेश दुई सरकार र पर्यटन व्यवसायीले गण्डकी प्रदेश सरकारको निम्तोमा पोखरा पुगेर पर्यटन प्रवद्र्धनार्थ गतिविधि बारे तीन दिन अन्तरक्रिया र अवलोकन गरेपछि दुईवटा प्रदेशले सहकार्य गर्ने समझदारी बनेको हो ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल र प्रदेश–२ का अध्यक्ष मोहन शर्माले मुख्यमन्त्रीद्वयको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
पत्रमा धार्मिक, सांस्कृतिक, पुरातात्विक संस्कृतिको आदानप्रदानका साथै साहसिक खेल पर्यटनका सम्भावना बढाउने, जानकी मन्दिरदेखि त्रिवेणीधाम हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय सर्किटको प्रवद्र्धनमा जोड दिने र दुवै प्रदेशका सहकार्यका पर्यटकीय क्षेत्रको पहिचान गरी कार्यान्वयनमा गर्ने उल्लेख छ ।
अन्तरप्रदेश पर्यटकीय गन्तव्यको पहिचान, सम्वद्र्धन र प्रचारप्रसार बढाउने, दुई प्रदेशबीच सिधा हवाइ सेवाको निरन्तरतामा प्राथमिकता दिने भनिएको छ । प्रदेश–२ का मुख्यमन्त्री राउतले पोखरामा आयोजित अन्तरक्रियामा गण्डकी प्रदेशसँग पर्यटकनलगायतका हरेक क्षेत्रमा आफ्नो प्रदेश सहकार्य गर्न सधैं तयार रहने बताए ।
उनले दुवै प्रदेशको हितका लागि काम गर्ने सहकार्य र एक जना व्यवसायी वा व्यक्तिका लागि मात्र सीमित नहुने समेत प्रष्ट पारे । राउतले सडक यातायात सञ्जाललाई व्यवस्थित नहुँदा पर्यटनमा पर्ने प्रभावका विषयमा दुवै प्रदेश सरकारले संघीय सरकारलाई जानकारी गराउने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुवै प्रदेशबीच पर्यटकीय सम्भावनालाई उजागर गर्दै पर्यटकीय गतिविधि बढाउँदा पर्यटन क्षेत्रलाई मात्र नभई मुलुककै अर्थतन्त्रमा बल पुग्ने बताए । उनले तत्काल विदेशी पर्यटक आउने सम्भावना कम भएकोले आन्तरिक पाहुनाको आउजाउ बढाउन यो सहकार्य आवश्यक रहेको बताए
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कंडेलले प्रदेश दुईको जानकी मन्दिरको चर्चा बढी भए पनि अरु महत्वपूर्ण गन्तव्य आफूले अघिल्लो भ्रमणमा देखेको अनुभव सुनाउँदै पर्सा राष्ट्रिय निकुञ्ज र अन्य धार्मिक क्षेत्रले प्रचार पाउन नसकेको हुँदा अब दुईवटा प्रदेश सरकार सरोकारबाला मिलेर प्रदेश दुईको गन्तव्यको पहिचान बढाउने प्रयास गर्नुपने बताए ।
नाट्टा प्रदेश दुईका अध्यक्ष मोहन शर्माले प्रदेश २ का नाका हुँदै नेपाल भित्रिएका भारतीय पर्यटकलाई पोखरासम्म पु¥याउन पनि यस्ता सहकार्यले बल पु¥याउने र आगामी दिनमा सहकार्यले गति लिने त्यसको लाभ दुवै प्रदेशका पर्यटन व्यवसायीले पाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्