मालिका पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषण «

मालिका पूर्ण संस्थागत प्रसूति गाउँपालिका घोषण


मालिका–८ की सरस्वती जिसी २५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध छिन् । उनी आफूले ५ देखि ७ दिनसम्म ब्यथा लाग्दा जोखिम मोलेर घरमा सन्तानलाई जन्म दिने गर्थिन् । स्वास्थ्यसम्बन्धी कुनै योग्यता नभए पनि स्वास्थ्य स्वमंसेविका भएपछि गाउँका महिलालाई पनि सुत्केरी गराउनुपर्ने थप बाध्यता थियो । यसरी घरमा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको ज्यान जाने जोखिम रहेको उनले अनुभव सुनाइन् ।
मालिका–२ का ओमबहादुर भण्डारी मगर पनि लामो समयदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छन् । पदले दर्लिङ्ग स्वास्थ्यचौकीका प्रमुख हुन् । उनी ५ घण्टासम्म हिँडेर महिलालाई सुत्केरी गराउन पुगेको बताउँछन् । लामो बाटो हिँड्दाहिँड्दै समयमा नपुग्दा केही सुत्केरी आमाको मृत्यु भएको नमिठो अनुभव उनीसँग छ ।
मालिकामा यस्ता केही प्रतिनिधि पात्रका अनुभवमात्र हुन् । विगत १४ वर्षलाई हेर्दा मालिकामा मात्र सातजना महिला र ११ जना नवजात शिशुको अकालमा ज्यान गएको छ । घरमा जोखिम मोलेर सुत्केरी हुँदा वा गराउँदा कमतौलको बच्चा जन्मनु, गर्भपतन, जन्मिएका बच्चा विकलाङ्ग हुनु, लामो समयको सुत्केरी व्यथाको कारण पाठेघर खस्नुका साथै फिष्टुला जस्ता समस्याका बिरामीहरु प्रशस्त मात्रामा भेटिन्छन् ।
तर, मालिकाले अब घरमा सुत्केरी हुने कुरालाई सधैका लागि अन्त्य गरेको छ । बिहीबार गाउँपालिकाले ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गरेको छ । गाउँपालिकाभित्र सबै गर्भवती महिला अनिवार्य रूपमा स्वास्थ्यचौकीमा सुत्केरी भएका छन् । अहिले मालिका क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, स्वास्थ्य स्ंवमसेविका र सर्वसाधारण पनि खुसीले फुरुङ्ग छन् । स्थानीय तहको निर्वाचनपछि गरिएको निरन्तर प्रयासले गर्दा मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले बताए ।
आर्थिक वर्ष २०७४÷०७५ को प्रथम गाउँसभा गाउँपालिकाका सबै वडामा वर्थिङ्ग सेन्टर सञ्चालन गरी पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्ने नीतिअनुसार बाँकी रहेका चारवटा वडामा वर्थिङ्ग सेन्टर स्थापना, वडा नं. ६ मा सञ्चालनमा रहेको गर्भवती माहिलाको पहिचानको निमित्त गर्भवतीको घरमा हरियो झण्डा कार्यक्रमलाई सबै वडामा विस्तार गरिएको छ । यसैगरी सबै गर्भवतीलाई प्रोटोकलबमोजिम गर्भ जाँच शतप्रतिशत बनाउनुका साथै पोषण स्थितिमा सुधारको निम्ति सबै गर्भवतीको घरमा ‘हरियो झण्डा र एक क्यारेट अण्डा’ कार्यक्रमको सुरुवात गरिएको छ । सुरक्षित मातृत्वसम्बन्धी सडक नाटक, बहुनिकाय अन्तरक्रिया, स्वास्थ्य आमा समुह, विद्यालय स्वास्थ्य शिक्षालगायतका कार्यक्रम संचालन, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत १८० आइरन र टिडी खोपलाई शतप्रतिशत गराइने भएको छ । सबै गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी हुन जाँदा र फर्किनुका साथै अत्यावश्यक प्रेषणका लागिसमेत निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ
‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणाले मालिका गाउँपालिकाको स्वास्थ्य स्थितिमा सुधार हुनुका साथै गर्भावस्था र सुत्केरी अवस्थामा हुने मातृ तथा नवजात शिशु बिरामी दर र मृत्युदरलाई शून्यमा राख्नका लागि सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।
घोषणा कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले समन्वय समितिको तर्फबाट गाउँपालिका जिल्लामा पहिलो ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गर्न सफल भएकोमा मालिकावासीलाई शुभकामना दिएका थिए । “मालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ,” जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलीले भने, “स्थानीय तहको निर्वाचनपछि चार वर्षमा मालिकाले गरेको निरन्तर प्रयासले गर्दा स्वास्थ्य क्षेत्रको विकासमा गाउँपालिका जिल्लामा पहिलो बनेको छ ।”

प्रतिक्रिया दिनुहोस्