नेपाली क्रिकेटको विकास गर्न तल्लो तहदेखि नै ध्यान दिनुपर्छ «

नेपाली क्रिकेटको विकास गर्न तल्लो तहदेखि नै ध्यान दिनुपर्छ

शाहिद अफ्रिदी, पूर्व क्रिकेट कप्तान, पाकिस्तान

पाकिस्तानका पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन् । अफ्रिदीले नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कूटनीति आवश्यक रहेको बताए । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको पनि उनले बताए । कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै उनले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने बताए । साथै, आफूले नेपाली क्रिकेट टिमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउने उनले बताए । अफ्रिदीसँग गरिएको कुराकानीको सार :

नेपालको छोटो बसाइ कस्तो भइरहेको छ ? अनुभव कस्तो छ ?
म एकदमै खुसी छु । अहिले नेपालमा छु । क्रिकेटका कारण अहिले म नेपालमा छु । योसँगै अर्को महत्वपूर्ण कुरा नेपाल र पाकिस्तानबीच क्रिकेटको माध्यमबाट सम्बन्ध जोडिएको छ । तीन दिनको बसाइका क्रममा नेपालीहरूमा क्रिकेटप्रतिको लगाव निकै पाएको छु । क्रिकेटसँगको लगावसँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरू पाएको छु । मैले केही नेपाली खेल अधिकारीहरूलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरूलाई स्वागत गर्नेछु । जुनसुकै विषय होस्, नेपाल र पाकिस्तानको सम्बन्ध जोडिनु आफंैमा महŒवपूर्ण छ । यो प्रगाढ हुँदै जाओस् ।

तपाईं त क्रिकेटर, नेपाली क्रिकेटलाई कसरी हेर्नुभएको छ, कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपाली यु–१९ क्रिकेट टोलीले पाकिस्तानी टोलीलाई हराएको सम्झिन्छु । यसको मतलब नेपाली खेलाडीमा प्रतिभा क्षमता छ । पछिल्लो खेल ईपीएलमा मैले खेलें, उक्त खेलमा मैले क्षमता भएका नेपाली खेलाडी देखेँ । सन्दीप लामिछानेलगायतका खेलाडीहरूको टोली क्षमतावान् छ । उनीहरूले नेपाललाई विश्वमा कहीं पनि चिनाउन सक्छन् । नेपाली क्रिकेटको विकास गर्नका लागि तल्लो तह ग्रासरुटदेखि नै ध्यान दिनुपर्छ । सरकारको संलग्नता निकै महŒवपूर्ण हुन्छ । सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरूलाई सुविधा मिल्छ । सबैभन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेटप्रति सकारात्मक छ ।

नेपालको फ्रेन्चाइज लिगसँग जोडिनुभयो, तपाईंलाई कुन विषयले जोडिन प्रेरित ग-यो ?
एक व्यावसायिक खेलाडी भएको नाताले म क्रिकेटको बारेमा कुरा गर्छु । कोही खेलाडी शान्ति, प्रेम र सद्भावको खोजीमा हुन्छ र खेल पनि त्यस्तै अवस्थामा होस् भन्ने अपेक्षा राख्छ । क्रिकेट नै एउटा त्यस्तो खेल हो, जसले भारत–पाकिस्तानको सम्बन्ध राम्रो नहुँदा पनि भारत भ्रमण गरेर आफ्नो खेल र शान्तिको सन्देश दिएको थियो । पाकिस्तान आफ्ना मित्र राष्ट्र र छिमेकीहरूसँग सुमधुर सम्बन्ध राख्न चाहन्छ । हाम्रो क्षेत्र (दक्षिण एसिया) मा क्रिकेटलाई अलग्गै दृष्टिले हेरिन्छ । भारतमा त क्रिकेट धर्मजस्तै भइसकेको छ । क्रिकेटको माध्यमबाट सम्बन्धहरूलाई प्रगाढ र घनिभूत बनाउन सकिन्छ । मलाई यस्तो लाग्छ । क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्धलाई पनि अझ बलियो बनाउन सकिन्छ । यसभन्दा अघि म नेपाल आएको थिइनँ, नेपाल देखेको पनि थिइनँ । मेरो खुट्टामा समस्या हुँदाहुँदै पनि मैले नेपाल भ्रमण गरेको छु । क्रिकेटको माध्यमबाट नेपालमा रहेका क्रिकेटप्रेमीहरूसँग प्रेम र सद्भावको सन्देश पनि लिएर आएको हुँ ।

पाकिस्तान र नेपाल क्रिकेटसँग जोडिन सक्ने विषयहरू के–के छन् ? कसरी जोडिन सक्छन् ?
दुई देशको राजनीति आफ्नो स्थानमा छ । क्रिकेटसँग क्रिकेट र क्रिकेट कूटनीति फरक छ । यो पनि एक प्रकारको राजनीति हो । यसबारेमा मेरो बुझाइ अलि फरक छ । यही क्रिकेटबाट जोडिन म नेपाल आएको हुँ । म यहाँ रहँदा जति पनि मानिसहरूसँग भेट भयो मेरो लागि अविस्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कूटनीतिले जोड्न चाहन्छु । पाकिस्तान पुगेर म नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन् ।

तपाईंले परिवारसहित फेरि नेपाल भ्रमण गर्ने भन्नुभएको छ । त्यस्तो के विषयले मोहित बनायो ?
यो भ्रमणमा मैले पूरै नेपाल राम्रोसँग घुम्न पाइनँ । छोटो भ्रमण छ । माउन्टेन फ्लाइट गएँ । सगरमाथा देखेँ । सँगै अन्य हिमालहरू हेरेँ । मेरो रोमाञ्चक अनुभव रह्यो । त्यसैले म परिवारलाई साथै लिएर आउन चाहन्छु । किनभने मेरो साथ परिवार भयो भने तुरुन्त फर्किने हतारो हुनेछैन । सहरभन्दा बाहिर गएर नेपाल हेर्न चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्