कोरोना संक्रमणको जोखिम कायमै «

कोरोना संक्रमणको जोखिम कायमै

Green cartoon coronavirus covid-19 Vectorel image

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै छ ।
चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भए पनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित छन् ।
जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । चितवनमा पिसिआर परीक्षणमा १० प्रतिशतभन्दा थोरैमा संक्रमण देखिने गरेको छ ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामी घट्दै जानु र मृत्युदरमा कमी आउनुले पनि कोरोनाको संक्रमणदर घटेको स्वास्थ्य कार्यालय चितवनले बताएको छ । जिल्लावासीले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न छाडेर सावधानी नअपनाइ दैनिक कामकाज सुरु गरेको अवस्थामा फेरि पनि कोरोना सङ्क्रमण बढ्नसक्ने स्वास्थ्य कार्यालय चितवनका वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकबाबु तिवारीले बताउनुभयो । संक्रमण घट्दै गए पनि आवश्यक सावधानी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न हेलचेक्र्याइँ गर्नु नहुने उहाँले बताए ।
यहाँ कोरोना संक्रमणको रोकथाम र न्यूनीकरणका कामहरू पनि भइरहेका छन् । चितवनमा हालसम्म २ लाख ७० हजार बढीले कोरोना विरुद्धको खोप लगाएको उल्लेख गर्दै तिवारीले खोप लगाएकामध्ये एक लाख ५० हजारले पूर्ण खोप पाइसकेका बताउनुभयो । खोप लगाउने क्रम बढ्दै गएको भए पनि कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहने भएकाले सावधानी अपनाउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्