आन्तरिक स्रोतले मात्र उच्च आर्थिक वृद्धि असम्भव : अर्थमन्त्री «

आन्तरिक स्रोतले मात्र उच्च आर्थिक वृद्धि असम्भव : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानीसम्बन्धी प्रक्रिया अगाडी बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन् ।
उनले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक बृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रवद्र्धनमा समेत ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए । प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरूलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरया गर्न आवश्यक भए सो तर्फ ध्यान दिन आग्रह पनि उनले गरे ।
नेपाल राष्ट्र बैंकका गर्भनर डाक्टर चिरञ्जीवी नेपाल, बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषदका पदाधिकारी सहभागी बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ बार्षिक समीक्षामा आधार व्याजदर र निक्षेप तथा कर्जामा लिने व्याजदरको फरकको बारेमा अध्ययन गरी यसतर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दीर्घकालिनरूपमा लगानीको वातावरण तयार गर्नुपर्ने उनको जोड छ । उनले बैंक तथा वित्तीय संस्थालाई औद्योगिक प्रवद्र्धन मैत्री बननेर समय सापेक्ष साधन परिचालन गर्नसमेत निर्देशन दिए । वित्तीय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्न सके सबैको हितमा हुने उनको भनाइ छ ।
बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित व्याजदरका साथै वीरगन्ज, विराटनगरलगायतका औद्योगिक क्षेत्रका व्यवसायी उद्योगीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो । उनीहरूले डिपोजिट व्याजदरको तुलनामा ऋणको व्याजदर नघटेको भन्दै अर्थमन्त्रीलाई वित्तीय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्