पदलिप्साको चङ्गुलमा फसेको विकास «

पदलिप्साको चङ्गुलमा फसेको विकास

दातृ निकायको आशामा मात्रै बाँच्नुपर्छ भन्ने मानसिकताबाट अलिकति मास्तिर उठेर हामीले आफ्नो मुलुक र माटो सुहाउँदो उत्पादनमा जोड दिनुपर्छ ।

कोरोना महामारीले एउटा समयमा प्रहार गरिरहेको छ । भ्याक्सिनको तीव्रता र सचेतनाका साथ यो बिस्तारै साम्य हुने कुरामा विज्ञको ऐक्यबद्धता रहेको पाइन्छ । तथापि, राजनीतिको महामारीले नेपाली जनता वर्षौंदेखि सङ्क्रमित छौँ । राजनीतिक अस्थिरता र दोषारोपणको संस्कारमा सिर्जनशील समय र सक्षम युवाको मन बहकिएको छ । सुख, शान्ति र समृद्धिको अर्थ एकमात्र राजनीतिक एजेन्डामा अड्किरह्यो । मुलुकको विकासवादमा होमिनुपर्ने सुन्दर समय मूर्त–अमूर्त यथार्थको स्वार्थभित्र जकडियो । प्रजातन्त्र, बहुदलीय व्यवस्था, गणतन्त्र, लोकतन्त्र, सङ्घीय व्यवस्था सबै जनताका निम्ति हो भनेर अथ्र्याइरह्यौँ, तर व्यावहारिक तवरमा पदलिप्साको होडले ग्राह्यता पायो । राजनीतिक स्वार्थको गोलघरको बिलखबन्दको गर्तमा भास्सियो । शक्तिको आडमा समाज र समृद्धिको सपना जकडियो । मानव संसाधनमा प्रहार भइरह्यो ।
मुलुक राजनीतिक अभ्यासको एउटा प्रयोगशाला मात्रै भइरहेको छ । अरस्तू (३५० बीसी) को भनाइलाई हेर्दा ‘सबैभन्दा उपयुक्त राजनीतिक आर्थिक समुदाय भनेको त्यो हो, जहाँ मध्यम वर्गको नियन्त्रण हुन्छ ।’ मध्यम वर्गले परिश्रम, शिक्षा, बचत, सामाजिक–आर्थिक जागरणमा मूल भूमिका खेलेको हुन्छ । तर, नेपालमा जनताले जनतालाई शासन गरेमा समृद्धि र विकासमा नवीन आशाको किरण पलाउँछ भन्ने सपना पनि दिनानुदिन किन तुसारापात भइरहेको छ ? बजेट, अधिकार, जिम्मेवारीले विकेन्द्रीकृत हुने अवसर दिने सङ्घीय व्यवस्थालाई दुरुपयोग गरिरहेका व्यक्ति, संस्था र निकायको नियमन किन हुन सक्दैन ? यो गहन प्रश्नले नेता निर्माणको फ्याक्ट्रीसँग उत्तर खोज्न सक्नुपर्छ । कारण– पदीय स्वार्थको होडबाजी चलिरह्यो । गुट बन्यो ।
विद्यार्थी नेताको जमातले लाठीमुङ्ग्री गरे । समर्थन र शक्ति दिए । आखिर नेताको सनकले जनताको पेटमा लात मा-यो । आफ्नै क्षेत्रको विकासमा पनि पार्टी र खेमा हेर्ने केन्द्रीय रोगले प्रहार ग-यो । राजनीतिक पार्टीका कारण विकासले गति लिन नपाउने हो भने त्यसको कानुनी आधार किन खोजिएन ? वस्तुतः प्रमाणपत्र र विज्ञताको नराम्ररी खिल्ली उडाइरह्यो । गैरजिम्मेवार पार्टीवादी तिकडम पदलिप्साको चटकमा पानीमुनिको ओभानो बन्ने होडबाजीमा आज जनता बबुरो पक्ष–विपक्षको चक्रव्युहमा फसेको छ । राजनीतिमा ‘समाजवाद’ शब्दसँग पौँठाजोरी खेल्दै नवसामन्तवाद जन्मिरहेकै छ ।
जनताले खर्चेको समयलाई नियाल्दा असल नेता र असल आचरण निर्माणार्थ समर्पित हुँदैमा यो एउटा पुस्ताको आयु सक्किने हो कि त भन्ने लाग्छ ! कुर्सीमा नपुगेसम्म कुर्सीका लागि लड्ने अनि कुर्सीमा पुगेपछि त्यसको बचाउमा लड्ने होडबाजी हुने रहेछ । तर, विकासविरोधी अस्थिर राजनीतिगत निरन्तरताका विरुद्धचाहिँ जनताले किन आवाज उठाउँदैन ! खाने तेलको मूल्य अकासिएको छ, डिजेल–पेट्रोलको दाम अकासियो अनि अर्कातिर जनतालाई विभिन्न प्राकृतिक विपद्को प्रताडना उस्तै छ । उता आफ्नै मान्छेलाई भर्ती गर्ने दाउमा लागेकाहरूको अनौठो जात्रा पनि चलिरहेको छ । सत्तामा बाँडेर खाने रीत हिजोकै शैलीमा चलेको छ । राजनीतिक नियुक्ति र आफ्नाको रजगज कसरी चलाउने दाउ उत्तिकै छ । हिजो एउटामा आज अर्कैमा दगुर्ने अनि त्यसैमा घुमिरहने पद्धतिको निरन्तरता पनि । आखिर स्यालको हुइँयाले हाम्रो समाजलाई नराम्ररी गाँजेको छ ।
प्रजातन्त्र, राष्ट्रियता र समाजवादका सन्दर्भले बीपीकै पालाबाट बोकिएको थियो । तर, आज पनि आय असमानताको खाडलमा हामी छौँ । थोमस पिकेटी (सन् २०१५) को विचारलाई हेर्ने हो भने ‘विश्वव्यापीकरणको कमजोरीका रूपमा देखा परेको समस्या भनेको आर्थिक असमानता बढ्नु र थोरै व्यक्तिको हातमा धेरै धन–सम्पत्ति सङ्ग्रह हुनु हो ।’ यसको अर्थ श्रम गरेर कमाउनेलाई होइन कालोधन सोहोर्नेलाई सरोकारवालाले निगरानी गर्न नसकेको कुरा नेपालका सन्दर्भमा लागू हुन सक्छ । यसमा पनि उही राजनीतिक संस्कारको विकृत रूप अघि आउँछ । विद्यार्थीले सिकेका राजनीतिक संस्कारको विरासत आज पनि हिजै जसरी अराजक भएर धानिएकै देखिन्छ । विरोधको शैली र पद्धतिमा प्रतिरोध र प्रतिशोधको होडबाजी छ । सरकार फेरिँदा जनोपयोगी योजनाहरूमा अघिल्ला कमजोरी निवारण गर्दै अझ विकासवादी बन्ने होड किन हुँदैन ?
सामाजिक सञ्जालमा हरेक नेताले राखेका विचारमा किन तथानाम गाली र समर्थनको लामो सूची हुन्छ ? प्रतिक्रिया र उप–प्रतिक्रियाको लर्कोमा लड्नेहरूले मुखै छोड्न पनि बाँकी राखेको देखिँदैन । यसबाट हाम्रो हैसियत र सोचको दायरालाई सहजै अनुमान लाउन सक्छौँ । रोजगारीमा तल्लीन भएको जनताले तथानाम गाली गर्ने फुर्सदै पाउँदैन र आवश्यक ठान्दैन । एउटा स्तरमा पुगेको व्यक्तिले कसैको गुलामी र स्वार्थको पछि लाग्नुलाई निरर्थक मान्छ । अर्थात्, गुण र दोषको हेक्का राख्छ । विश्लेषण गर्छ । तथापि, हाम्रो मुलुकको जनता अझैं पनि राष्ट्रिय स्वार्थका विपरीत व्यक्तिगत स्वार्थ लिप्साका एजेन्डामा पनि ‘जिन्दावाद र मुर्दावाद’ गरेरै विकासमुखी सिर्जनशील समयलाई खर्चिरहेको छ ।
महाभारतकालीन कथामा श्रीमान् धृतराष्ट्र अन्धो भएकाले श्रीमती गान्धारीले हुँदाछँदाको आँखालाई पट्टि बाँधेर आफु पनि अन्धी नै बनिन् । हस्तिनापुरका राजा बनेका धृतराष्ट्रले भारी सभामा द्रौपदीको चीरहरण हुँदा रोकेनन् । त्यहाँ भीष्मपितामह, कौरव र पाण्डवका गुरु द्रोणाचार्यसमेत मौन भएर रमिते नै बनिरहे । कतै हामी पनि मुलुकको चिरहरणमा यसरी नै सत्य र असत्य पहिचान गर्न नसकेर चुकेका त होइनौँ ! अनि, मुलुक साँच्चै अस्थिरता र अन्योलकै गोलघरमा यसैगरी होमिइरहने हो भने विकासको बिगुल कहिले र कसरी फुक्ने ! अब युगले पृथक् परिवर्तनको माग गर्दै छ । पूरा ज्ञान नभए पनि अल्पज्ञान बोकेर भौँतारिएको वर्तमान नेपाली समाजले ग्रामीण दूरदराजलाई चटक्कै बिर्सिएको छ । विडम्बना त के हो भने जनता जति धेरै बाठो भयो त्यति नै राजनीतिक झमेलामा अल्झिन सिक्दै छ ।
राजनीति गर्नु गलत होइन तर गलत राजनीतिलाई अन्ध समर्थनचाहिँ महागलत हुने रहेछ ।
गुटवादी प्रतिशोधमा व्यक्तिवादले धृतराष्ट्रको पुत्रमोह र रजगजकै जस्तो चाहना प्रतिविम्बित हुन्छ । तर पनि जनता कुँडुलो लागेर चिरा परिरहँदा मुलुकको भविष्य उही मुङ्ग्रे बलको सहारामा सञ्चालन हुने भय छ । यहाँ विचारको स्खलन भइरहेको छ । हामीले विकासका कुरा भन्दा दल र संगठनका कुरालाई ग्राह्यता दिनमा नै रमाइलो मानिरहेका छौँ । राजनीतिक घोडेजात्रा जत्तिको रमाइलो कुरा त आखिर समृद्धि र परिवर्तनको विषय नहुने नै रहेछ पनि । राजनीतिक सुशासन, विधि र पद्धतिको मियोमा नै समस्या यथावत् देखिन्छ । वस्तुतः सोझा जनताको अभिमत र विकासको पोयो नै पदलिप्साको चङ्गुलमा फसकेको छ ।
सत्तामा बहुमत लिएर बसेको दर्बिलो पार्टी नै प्वाट्ट फुट्यो । हिजो अब ५० वर्षसम्म यो दलले राजनीति गर्छ र मुलुकलाई कायापलट गर्छ पनि भनियो । जनताले समाजवाद, साम्यवाद, विकासवादका कुरामा आशा र भरोसा गरे पनि । अन्य कुरालाई छोडेर हेर्दा आखिर पदको लालसाभन्दा ठूलो जनभावना त बन्नै सकेन । जनताले एकताबद्ध हुनका लागि भोट दिए तर नेताले पदीय लालचामा लडाइँ गरेर कित्ताकाट गरिदिए । अनि मानिस दुई तहमा विभाजित हुँदा विचार पनि एउटा नैतिकताको आधारमा अर्को अवसरको कोणबाट विभाजित हुँदो रहेछ । हामी जनता बहकाउमा मज्जैसँग बिक्ने रहेछौँ ।
अबको चिन्ता मुलुकले विकासको गति कहिले र कसरी लिन्छ भन्ने कुरामा नै हो । २००७ सालयताको राजनीतिक इतिहासले उस्तो ठूलो परिवर्तनको ढोका खोल्नै सकिरहेको छैन । विश्वमा रहेका ३८ वटा भूपरिवेष्टित मुलुममध्ये हाम्रो मुलुकले आफुलाई आफ्नै आन्तरिक तहमा सुधार गर्न नसकेको पनि हो । हामी त उही विभेद, मतभेद, घरझगडा, बलात्कार, कुप्रथा, अस्थिरताका विचारभित्र रुमल्लिरहेका छौँ । अधिकार र अन्तरको तहमा विभाजित छौँ तर विकासको एजेन्डा बोकेर एकताबद्ध भएनौँ । वस्तु उत्पादन, सेवा प्रवाह र वितरणको प्रणालीमा प्रतिस्पर्धाको परिवेश पटक्कै भएन । अतः अर्थतन्त्रलाई विश्वबजारमुखी बनाउने बाटोलाई खोजेर साधन–स्रोतको विनियोजन, उपयोग र वितरणको बाटो खोजौँ । आर्थिक, सामाजिक र राजनीतिक समस्याको निवारणमा एकताबद्ध हुने आधार तय गरौँ । सिर्जनशीलताको सम्मान र सहयोगको परिवेशलाई मुलुकले खुला बनाओस् । श्रम बजारमुखी शिक्षामा जोड दिँदै दिगो र प्रभावकारी व्यावसायिक शिक्षा विकासमा प्रतिबद्धता कायम होओस् । दातृ निकायको आशामा मात्रै बाँच्नुपर्छ भन्ने मानसिकताबाट अलिकति मास्तिर उठेर हामीले आफ्नो मुलुक र माटो सुहाउँदो उत्पादनमा जोड दिनुपर्छ । आफ्नै स्रोतसाधनको उपयोग गर्ने वातावरण तय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्