सेयर बजारमा १०४.८८ अंकको सुधार «

सेयर बजारमा १०४.८८ अंकको सुधार


केही समययता लगातार ओरालो लागेको सेयर बजार उच्च अंकले वृद्धि भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०४.८८ अंकले वृद्धि भई २८१६.९५ अंकमा पुगेको छ ।
सोमबार ११४.०२ अकले घटेको बजार मंगलबार भने १३ अंकले बढेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोकेसँगै प्रभावित हुन थालेको सेयर बजार बैंक तथा वित्तीय संस्थाको व्याजदर वृद्धिसँगै थप प्रभावित बनेको थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन दिएको सूचना प्रवाह भएसँगै बुधबार बजारमा सकारात्मक प्रभाव देखिएको हो । मंगलबार राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनका नेतृत्वलाई बोलाएर व्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूमा सीसीडी अनुपात हटाएर सीडी अनुपातमात्र लागू गरेसँगै बैंकहरूसँग तरलता अभाव भई व्याजदर बढाएका छन् । असोज सुरु भएसँगै वाणिज्य बैंकहरूले नै बचतमा दोहोरो अंकको व्याजदर अफर गर्न थालेका छन् । तर, राष्ट्र बैकको निर्देशनपछि केही बैंकले पुरानै ब्याजदर कायम गर्न थालेका कारण पनि बुधबार सेयर बजारमा हरियाली छाएको हो ।
यसैगरी मंगलबार नै अनन्तराज डुम्रेको संयोजकत्वमा गठित जाँचबुझ समितिले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारबाही गर्न सिफारिस गरेको सार्वजनिक भएपछि पनि लगानीकर्ता उत्साहित देखिएका छन् । बोर्डले ५१ वटा कम्पनीहरूको सेयर जोखिमयुक्त रहेको भन्दै लगानी गर्दा सचेत हुन बोर्डले सूचना जारी गरेसँगै लगानीकर्ताहरू उनीप्रति नकारात्मक हुँदै आएका थिए ।
बजार वृद्धि भए पनि बुधबार कारोबार रकम भने घटेको छ । यस दिन २१७ कम्पनीका एक करोड २१ लाख २२ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबार नेप्सेसँगै सबै समूहगत परिसूचक पनि वृद्धि भएको छ । यसैगरी एक दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्