नेपालमा चार किराती मात्रै हो ?

हालै आएको समाचारअनुसार चार किरातीहरूले श्रीजङ्गा लिपिलाई साझा लिपि बनाउने हुनुभएछ, जुन कुरो धेरै राम्रो हो । सोबारे अलग्गै लेख लेखौंला । अहिलेलाई मेरो मूल र गम्भीर प्रश्न यो छ कि राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरू, के नेपालमा साँच्चै चार किरातीहरू मात्रै छन् त ? खासगरी यसरी किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरू कहिलेसम्म राई यायोक्खाले भनेको कुरामा नै चोचोमा मोचो मिलाएर हिँड्नुहुन्छ ? साँच्चै तपाईंहरूको ब्रह्मले केही देख्दैन ? नत्रभने अहिलेसम्म केकति कारणले तपाईंहरू राई यायोक्खाको पुच्छर भएर हिँड्नुभएको हो ? अथवा लगाम लगाएको घोडासरह दायाँबायाँ नहेरी यायोक्खाले डो-याएको बाटोमा मात्रै हिँड्नुहुन्छ ?
स्मरण रहोस्, तपाईंहरूले खालि ‘चार किराती, चार किराती’ मात्रै भनिरहे तापनि केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार पहिले राईमा गाभिएका १२ वटा जातिको अलग्गै जातीय तथा भाषिक तथ्यांक आइसकेको छ । जस्तै— कुलुङ २८ हजार ६ सय १३, नाछिरिङ ७ हजार १ सय ५४, याम्फु ६ हजार ९ सय ३३, चाम्लिङ ६ हजार ६ सय ६८, आठपहरिया ५ हजार ९ सय ७७, बान्तावा ४ हजार ६ सय ४, थुलुङ ३ हजार ५ सय ३५, मेवाहाङ ३ हजार १ सय, बाहिङ ३ हजार ९६, साम्पाङ १ हजार ६ सय ८१, खालिङ १ हजार ५ सय ७१ र लोहोरुङ १ हजार १ सय ५३ जना आएको छ । त्यसअघि जानेर वा नजानेर अथवा राई लेख्दा आफु पनि ‘तालुकदार’ वा ‘जिम्मावाल’ राईसरह ठूलो मान्छे होइन्छ भनेर नामको पछाडि राई लेख्दै आएका १२ वटा किराती जातिहरू अलग्गै जातिको रूपमा आएका छन् ।
त्यस्तै माथिका १२ वटै किराती जातिहरूको भाषिक तथ्यांक पनि अलग्गै आएको छ । भाषिकअनुसार बान्तावा १ लाख ३२ हजार ५ सय ८३, चाम्लिङ ७६ हजार ८ सय, कुलुङ ३३ हजार १ सय ७०, थुलुङ २० हजार ६ सय ५९, साम्पाङ १८ हजार २ सय ७०, खालिङ १४ हजार ४ सय ६७, बाहिङ ११ हजार ६ सय ५८, नाछिरिङ १० हजार १ सय ७६, याम्फु ९ हजार २ सय ८०, आठपहरिया ७ हजार ५ सय ३०, मेवाहाङ ४ हजार ६ सय ५० र लोहोरुङ ३ हजार ७ सय १६ रहेको छ ।
तर, त्यस्तो गम्भीर र महत्वपूर्ण कुरा पनि किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यू अथवा सो संस्थाको टप फाइभ पदमा रहनुभएका पदाधिकारीहरूलाई थाहा नहुनु आश्चार्यको विषय हो । अथवा स्वविवेक प्रयोग नगरेर जानाजान राई यायोक्खाले भनेको कुरोमा नै चोचोमा मोचो मिलाएर हिँड्नुअघि अलिकति विचार गर्नुपर्ने हो ।
अचम्म के भने किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरू अझैं पनि राई यायोक्खाले भनेको कुरामा नै चोचोमा मोचो मिलाएर हिँड्नुको खास कारण के छ ? किनभने हामी (कुलुङ) ले जातीय स्वपहिचानको मुद्दा उठाउन थालेको वि.सं. २०५७-०५८ देखि हो । २०-२१ वर्षसम्म पनि यस्तो गम्भीर विषयमा किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा र सुनुवार सेवा समाजका अध्यक्षज्यूहरूले थाहा नपाउनु भनेको साह्रै दुःखद हो ।
भाषा र लिपि प्रयोगजस्तो गम्भीर विषयमा कुलुङ लगायत १२ वटाका साथैै थामी, हायु, सुरेल, जिरेल आदिलाई पनि समेटौं, नभए त हामीले माग्ने आत्मनिर्णय अधिकार र अरूले माग्ने आत्मनिर्णयको अधकारमा के फरक, के अर्थ ? भन्नु सक्नुप-यो । हामीले अरूलाई दलनमलनमा पा¥यौं, बहिस्करण ग-यौं भने बाहुन, क्षेत्री वा राज्य पक्ष र हामीमा के फरक ? भनेर मुखबाट मौलौ निकालेर बोल्नुहोस्, नत्रभने तपाईं चार किरातीवालाहरूलाई हाम्रा भावी पुस्ताले सराप्ने र इतिहासले कलंकित बनाउनेछ ।
त्यही भएर हामी (कुलुङ) ले आउँदै गरेको १२ औं जनगणनामा जात वा जाति, मातृभाषा, पुर्खाको भाषा आदिमा राई वा कुलुङ राई नलेखेर ‘कुलुङ’ मात्रै लेखाउने निर्णय गरेका छौं । याद रहोस्, केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई दिएको अलग्गै जातिगत ‘कोड–६२’ रहेको छ भने अलग्गै ‘भाषागत कोड–३३’ रहेको छ है !