तरलता कस्सिएसँगै सेयर बजारमा उच्च गिरावट «

तरलता कस्सिएसँगै सेयर बजारमा उच्च गिरावट


नेपाली सेयर बजारमा सोमबार उच्च गिरावट आएको छ । बैंकहरुमा तरलताको अभावसँगै व्याजदर महँगो भएपछि सेयर बजारमा प्रभाव देखिएको हो । यसैगरी दसैंतिहार लगायतका ठूला चाडपर्व नजिकिएकाले खर्चको जोहो गर्नका लागि बिक्रीको चाप उच्च भएपछि बजार ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ११४.०२ अकले घटेर २६९८.२४ अंकमा झरेको छ । नेप्सेमा उच्च अंकले गिरावट आए पनि कारोबार रकम भने वृद्धि भएको छ । यसदिन २२५ कम्पनीका एक करोड ७३ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजार गत साता पनि ६३ अंकले घटेको थियो । पूर्व बैंकर अनलराज भट्टराई तरलता अभावले भएको व्याजदर वृद्धि र दसैंलगायतका चाडपर्व नजिकिएकाले पनि बजार घटेको बताउँछन् ।
“दसैंको मुखमा बिक्रीको चाप पर्ने भएकाले सेयर बजार घट्ने सिजन नै हो,” उनले भने, “यसपटक बैंकहरुसँग तरलता अभावले व्याजदर वृद्धि हुँदा पनि बजार प्रभावित भएको छ ।”
कोभिड महामारी र लकडाउनलगायतका कारण अन्य क्षेत्रबाट सेयर बजारमा आएको लगानी पनि फिर्ता हुन थालेको अनुमान गरिएको छ । कोभिड महामारीका कारण लगानीका क्षेत्रहरु प्रभावित हुँदा अन्य क्षेत्रबाट समेत लगानी सेयर बजारमा आएको थियो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुजी, कर्जा र निक्षेप अनुपात खारेज गर्दै कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरुले पुँजीबाट ऋण दिन नपाउने भएपछि बैंकको ऋण क्षमता कम भई बजारमा तरलता अभाव चर्किएको छ ।
बजारमा तरलता अभाव भए पनि राष्ट्र बैकले भदौ १५ गतेयता तीन पटक रिपो जारी गरेर ७० अर्ब रुपैयाँ बजारमा पठाएको छ । तरलता अभाव हुँदा बजारमा बैंकहरुले छोटो अवधिका लागि चलाउने अन्तर बैंक व्याजदर पनि ४.९१ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको बजेट पास हुन ढिलाइ हुँदा सरकारी ढुकुटीबाट खर्च नभएकाले पनि बजारमा तरलता अभाव चर्किएको छ । यसैगरी बजारबाट निक्षेप तान्नका लागि व्याजदर वृद्धि गरेका हुन् । बैंकहरुले गत शुक्रबारदेखि नै लागू हुनेगरी साधारण तथा मुद्दति निक्षेपको व्याजदर वृद्धि गरेका छन् । बैंकहरुले मुद्दति निक्षेपको व्याजदर औसतमा ९ प्रतिश र साधारण बचतको व्याजदर ४ प्रतिशतमा पु¥याएका छन् ।

प्रतिक्रिया दिनुहोस्