सेयर बजार सधै बढ्दैन, सधै घट्दैन पनि «

सेयर बजार सधै बढ्दैन, सधै घट्दैन पनि

पुँजीबजार लगानीकर्ताहरू केही समयदेखि आन्दोलित बनेका छन् । जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम चार करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र ‘सेयर धितो कर्जा’ सीमा कायम गर्दै सीमाभन्दा बढी उपभोग गरिरहेको कर्जा नियमित गर्न उपयुक्त समय सीमा प्रदान गरिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । तथ्यांकअनुसार ८ हजार ५६४ जनाले करिब १.०४ खर्ब रुपैयाँ ‘सेयर धितो कर्जा’ लिएका छन्, जसमा चार करोडसम्म कर्जा लिने ८ हजार ५३ जना, चार देखि १२ करोडसम्म लिने ३८० जना र १२ करोडमाथि लिने १३१ जना रहेका छन् । हालको ऋणी सीमाले केही लगानीकर्तालाई अप्ठेरो भए पनि आमलगानीकर्ता र धितोपत्र बजारलाई प्रत्यक्ष असर नपर्ने एक पक्षले बताएका छन् भने लगानीकर्ताहरूले मार्जिन लोनमा कडाइ र सीमाले रकम परिचालन क्षमता ह्रास, कारोबारमा निरुत्साहन हुने र सम्पत्तिका आधारमा ऋण लिन पाउने स्वतन्त्रता हननको कुरा अर्को पक्षले उठाएका छन् । तर, सेयर लगानीकर्ताहरूको नियामक निकाय धितोपत्र बोर्ड हुँदाहुँदै उनीहरूले अर्थमन्त्री र गभर्नरको राजीनामा नै प्रमुख मागको रूपमा अगाडि सारेका छन् । यसै सन्दर्भमा कारोबारकर्मी सुमित सुवेदीले सरोकारवालासँग गरिएको कुराकानीको सार :

यो आन्दोलन गर्ने उचित समय होइन कि ?
पवित्रा ज्ञवाली
सेयर लगानीकर्ता

हामी सेयर लगानीकर्ताहरूका थुप्रै माग छन् । हामीजस्तै साना लगानीकर्ताहरूले त सेयर धितो राखेर एक करोड कर्जा लिन्छन् भने ठूलो पुँजी भएका मानिसहरूले त १२ करोडभन्दा बढीको कर्जा लिन पाउनुप-यो नि । आफ्नो सम्पत्ति छ भने उसले तिर्न सक्ने जति कर्जा लिन पाउनुपर्छ, १२ करोडको क्याप लगाउन पाइँदैन ।
यो मात्र नभएर हाम्रो पुँजीबजार सुधार गर्नका लागि अन्य थुप्रै समस्या छन् । मागहरू छन् । पहिले आन्दोलन गरेर सहमति गरेका ५८ वटा बुँदामा पनि १८ वटा बुँदा अहिले पनि कार्यान्वयन भएका छैनन् । त्यसलाई कार्यान्वयन गर्नेतर्फ पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ । त्यस्तै बैंकलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकर कमिसनलगायतका थुप्रै समस्या छन् ।
अहिले ४ र १२ करोडको कुरा आउँदै गर्दा कतिपयले राष्ट्र बैंकले कर्नरिङ रोक्न ठीक निर्णय ग-यो भन्ने पनि आइरहेका छन् । कसैको दुई अर्बको सेयर देखाएर एक अर्ब कर्जा लिएको होला । कसैले थोरैको देखाएर थोरै, त्यो सामान्य कुरा हो । तर, उसले कर्नरिङ ग¥यो÷गरेन, कर्जा लिएको पैसा कसरी लगानी ग-यो भन्ने काम राष्ट्र बैंकको होइन । त्यसका लागि हाम्रो नियामक निकाय नेप्से र धितोपत्र बोर्ड (सेवन) छन् । उनीहरूले हेर्नुपर्छ । कसले लाख-लाख कित्ता किनिरहेका छन् । कसले एकै पटक सारा सेयर बेच्न बसिरहेका छन् । मार्केटलाई म्यानुपुलेट गर्ने काम पो गरिरहेका छन् कि, त्यो धितोपत्र बोर्डले हेर्ने काम हो । त्यसलाई सेवोनले नै हेर्नुपर्छ ।
हो, पुँजीबजारमा थुप्रै समस्या छन् । तर, त्यसका लागि आवाज उठाउने समय भने यो होइन कि जस्तो लाग्छ । अहिले साथीहरूले गभर्नरको राजीनामाको माग गर्नुभएको छ । भर्खर नयाँ सरकार बनिरहेको छ । मन्त्रीमण्डलहरू विस्तारकै क्रममा छन् । सेवोन र नेप्से दुवैमा अध्यक्ष रिक्त भएको अवस्था छ । यस्तो समयमा हामीले आन्दोलन गर्नु खासै जायज होइन कि जस्तो लाग्छ । भोलि नेप्सेमा पनि अध्यक्ष होस्, सेवोनमा पनि नयाँ अध्यक्ष आऊन् । मन्त्रीमण्डल पनि विस्तार होस् । त्यसपछि पुँजीबजार सुधारका कामहरू भएनन् भने आन्दोलन गरौंला । हामी सबै लगानीकर्ता साथीभाइहरू मिलेर कहाँ–कहाँ जानुपर्छ, त्यहाँ जाउँला । कुन–कुन निकायमा पुग्नुपर्छ त्यहाँ पुगौंला भन्ने मेरो सोच हो । तर, त्यो भन्दैमा समस्या छैनन् भन्ने होइन । तत्काल समाधान गर्नुपर्ने समस्याहरू पनि छन् ।
अब यस्तो समयमा आन्दोलन गरेर हाम्रो माग कसले सुन्ने ? प्रधानमन्त्री शेरबहादुर देउवाले त हाम्रो माग सुन्नु हुँदैन होला । जुन नियामक निकाय छ त्यहाँका प्रमुखहरू नै नभएपछि कसरी माग पूरा हुन्छन् भन्ने मेरो भनाइ हो ।

धितोपत्र बोर्डले समयानुकूल नीति लिएको छ
नीरज गिरी
कार्यकारी निर्देशक
नेपाल धितोपत्र बोर्ड

आन्दोलन गर्नेनगर्ने उहाँहरूको कुरा हो । तर, लगानीकर्ता भइसकेपछि लगानीका जोखिमहरू त हुन्छन् नै । लगानीकर्ताले जोखिम बुझेर नै लगानी गरेको हुन्छ भन्ने हाम्रो बुझाइ पनि हुन्छ । आन्दोलनकर्ताहरू धितोपत्र बोर्डमा पनि आउनुभएको थियो । कायम–मुकायम कार्यकारीजीसँग पनि कुरा भएको थियो । बैंकको सप्सिडरीलाई ब्रोकर लाइसेन्स दिने, ब्रोकरको कमिसन घटाउनेदेखि लिएर एनआरएनलाई पुँजीबजारमा ल्याउने जस्ता कुराहरू कुनै न कुनै रूपमा पहल भइरहेका छन् । बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने भन्ने कुराका लागि नियमावली संशोधन गर्ने भनेर प्रक्रियामा गइरहेको छ । एनआरएनएहरूलाई कसरी भित्र्याउने भन्ने कुराका लागि हामीले विज्ञहरूबाट अध्ययन गर्न लगाएका थियौं । त्यहाँबाट कानुनी सुधार गरेर मात्र जान सकिन्छ भन्ने सुझाव आएका छन् । विदेशी मुद्रामा कसरी लैजाने, लगानी गर्दा कतिसम्म सेयर किन्न दिने, विनिमयदरको उतारचढाव आदिलाई हेर्दा कानुनमा सुधार गरेर जाँदा मात्र सुरक्षित भइन्छ भन्ने कुराहरू आएका छन् । त्यो पनि प्रक्रियामा नै छ ।
ब्रोकर कमिसनको कुरामा पनि हालसालै बोर्डले परिवर्तन गरेको हो । परिवर्तन गर्दा बोर्डले यसलाई समय–समयमा समयानुकूल बनाउँदै लैजाने भनेको थियो । त्यसैले हामीसँग सम्बन्धित मुद्दाहरू अगाडि बढिरहेका छन् । रिजल्ट आइसकेको छैन, तर त्यसको अर्थ काम नै नभएको भन्ने होइन । हामी एक्लैले मात्र गर्न सक्ने विषय पनि हुँदैन । यसमा अर्थ मन्त्रालयदेखि राष्ट्र बैंकको पनि भूमिका रहन्छ । अर्थ मन्त्रालय, राष्ट्र बैंकले देशको अर्थतन्त्र हेरेर सबैसँग सल्लाह गरेर नीतिहरू बनाउने हो । नीति भन्ने कुरा परिवर्तन भइ नै रहन्छन् । बजार भन्ने कुरा पनि कहिले बढ्छ, कहिले घट्छ नै ।
त्यस्तै मार्जिन प्रकृतिको कर्जा राष्ट्र बैंकले नै हेर्ने विषय हो । धितोपत्र बोर्डले हेर्दैन । हामी बजारमा कसैले प्रभावित बनाउने गरी म्यानुपुलेसन गरेको छ-छैन मात्र हेर्ने हो । बैंकिङ क्षेत्रको रेगुलेटर राष्ट्र बैंक नै हो । उसलाई आफ्नो नीति बनाउने अधिकार छ । ऐनले दिएको जिम्मेवारी हरेक नियामक निकायले पूरा गर्नुपर्ने पनि हुन्छ । यस्ता विषयलाई आन्दोलनबाट भन्दा पनि बहस गरेर समाधान गर्नुपर्छ जस्तो लाग्छ ।
अर्को कुरा, ४-१२ को सीमितताले १५ लाख सक्रिय लगानीकर्ता भएको बजारमा प्रभाव पार्ने कुरा पनि होइन । किनकि १२ करोडभन्दा धेरै कर्जा लिएर लगानी गर्नेको संख्या एक–डेढ सयको हाराहारीमा छन् भन्ने सुनिएको छ । राष्ट्र बैंकले पनि आजको भोलि नै गर्नु भनेको छैन । त्यसैले त्यति डर मान्नुपर्ने अवस्था नै छैन ।
एकपटक बैंक–वित्तीय संस्थाको प्रोमोटरको सेयर ५१ प्रतिशतसम्म आउन सक्छ भन्ने व्यवस्था गरेपछि यस्तै हलचल मच्चिएको थियो । आखिर त्यसले बजारमा खासै असर पारेन । यो पनि यस्तै कुरा हो । मेरो विचारमा ४-१२ लाई लिएर त्यति आत्तिनुपर्ने छैन । बुझेर लगानी गरिएको छ भने झनै डराउनुपर्ने आवश्यकता नै छैन । त्यसैले लहैलहैमा लागेर यो बढ्छ रे भन्ने हल्लाको भरमा लगानी नगरौँ , अध्ययन गरौँ भनेर हामीले पनि भन्दै आएको कुरा हो ।
अर्को कुरा, लगानीकर्ता भइसकेपछि जोखिम त लिनुपर्छ नै । कुनै समयमा एक हजार १७५ पुगेको बजार घटेर २९० भएको थियो । त्यहाँबाट बढ्दै गएर १८०० पनि पुगेको थियो । भनेपछि बजार तलमाथि हुने रहेछ भन्ने कुरा त त्यसले पनि देखाइरहेको छ । २९० मा झर्दा कतिपय कस्तो अवस्थामा पुगे होलान् । त्यसपछि त बढ्यो नि । बजारमा जोखिम हुन्छ, आफूले लगानी गर्दा नै ध्यान दिनुपर्ने कुराहरू हो । तर, कसैले बजारलाई घटाउँछु वा बढाउँछु भनेर घटबढ गराउन सक्ने अवस्था हुँदैन । आन्दोलन होइन, छलफलतर्फ अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्