नाफ्टाको अन्त्यले ३ लाख अमेरिकी रोजगारी गुम्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाफ्टाबाट पछि हट्ने निर्णय गरे यसले ३ लाख अमेरिकी रोजगारी गुम्ने एक विश्लेषणले देखाएको छ । यसले आर्थिक वृद्धि र धितोपत्र बजार ओरालो लाग्नेछ भने उपभोक्ता सामानको मूल्य वृद्धि हुनेछ ।
इंग्लिस विश्वविद्यालयसँग आबद्ध विश्वव्यापी परामर्शदातृ फर्म अक्सफोर्ड इकोनोमिक्सले एक साताअगाडि प्रकाशित गरेको प्रतिवेदनका अनुसार यस किसिमको अवस्था आउने बताइएको छ । १ करोड ४० लाख अमेरिकी रोजगारी मेक्सिको र क्यानडाको व्यापारमा निर्भर रहेको अमेरिकी चेम्बर अफ कमर्सले जनाएको छ ।
यदि ट्रम्प यो सम्झौताबाट हट्न चाहन्छन् भने उनले ६ महिनाअगाडि नै यसबारेमा जानकारी गराउनु आवश्यक छ । अक्सफोर्डका अनुसार यसरी गुम्ने रोजगारी २०१९ सम्म हुनेछैन ।
सम्झौताका बारेमा छलफल गर्नेहरूले आगामी साता क्यानडामा भेटघाट गर्ने कार्यक्रम छ ।
क्यानडा र मेक्सिकोका नेताहरूले ट्रम्प प्रशासनका केही प्रस्तावकहरूले सम्झौता तोड्ने प्रयास गरेको बताएका छन् । ट्रम्पको व्यापार टोलीले क्यानडा र मेक्सिकोले सम्झौता गर्न इच्छा नदेखाएको बताएका छन् ।
अमेरिकाले आफुले इच्छा गरेअनुसारको नतिजा प्राप्त गर्न नसकेको अवस्थामा आफू सम्झौताबाट हट्ने ट्रम्पले स्पष्ट पारेका छन् । यो सम्झौताले १९९४ देखि कानुनी मान्यता पाएको छ ।
यो परिवेशमा अमेरिकी आर्थिक वृद्धि अगामी वर्ष मन्द हुनेछ । अमेरिकी आर्थिक वृद्धि नाफ्टा भएको अवस्थामा २ प्रतिशतले वृद्धि भएकोमा नाफ्टा नभएको अवस्थामा १.५ प्रतिशतले मात्रै वृद्धि हुने अक्सफोर्डले जनाएको छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यो वर्ष अमेरिकी आर्थिक वृद्धि २.५ प्रतिशतका दरले हुने जनाएको छ ।