फलामे छड उत्पादकबीच नयाँ करका दरमा विवाद «

फलामे छड उत्पादकबीच नयाँ करका दरमा विवाद


नेपाल स्ट्ील रोलिङ मिल्स् एसोसियनले सरकारको संशोधित बजेटमा परिवर्तित करका दरबाट आफूहरु मर्कामा परेको र सरकारले बिना छलफल नयाँ करका दर लागू गरेको भनेर विरोध गर्दै पनि संशोधित बजेटमा स्पञ्ज आइरन र तयारी स्टील विलेटको भन्सार दरमा हाल ४.७५ प्रतिशत भिन्नता कायम गरेकोमा नेपाल स्ट्ील विलेट उत्पादक संघले स्वागत गरेको छ ।
विगत ३ वर्षदेखि स्टील विलेट उत्पादकहरुले स्पञ्ज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशतको भिन्नता कायम गरिदिन माग गर्दै आएकोमा उक्त माग आंशिक रुपमा सम्बोधन भएको भन्दै संघले आगामी दिनमा सो भिन्नता १० प्रतिशतभन्दा बढी कायम हुनेमा विश्वास लिएको जनाएको छ । केही फलामे छड उत्पादकहरुले नेपाल स्टील रोलिङ मिल्स् एसोसियनको नाममा सरकारको निर्णयको विरोध गरेको भन्दै संघले हाल नेपमाल ९ वटा स्टील विलेट उत्पादन गर्ने उद्योगहरु सञ्चालित रहेका र ३ वटा थप उद्योगहरु स्थापना हुने क्रममा रहेको पनि जनाएको छ ।
स्पञ्ज आइरनबाट विलेट उत्पादन गर्नेहरुको हालको उत्पादन क्षमताले डण्डी उत्पादनको ६० प्रतिशतमात्र धान्ने र यस्ता नयाँ उद्योग लगाउन भइरहेको रोलिङ मिललाई बढीमा ९ महिना लाग्ने संघले जनाएको छ । “स्पंज आइरन बाट विलेट बनाउने भनेको चुनढुङ्गाबाट किलंकर बनाउने जस्तो प्रकृया रहेको, यसबाट देशभित्रै विलेट उत्पादन भई विलेट आयात प्रतिस्थापन हुनेछ” संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “हाल विलेटमा २.५० रुपैयाँ प्रति केजी अन्तशुल्क लागेको र फलामे छड (डण्डी) उत्पादनमा पहिलेको १.६५ रुपैयाँ प्रति केजी घटाउदा कुल मूल्य फरक ०.८५ रुपैयाँ प्रति केजी मात्र वृद्धि भएको छ ।”
यस्तै बंगलादेश, पाकिस्तानलगायतका सार्क देशहरुमा समेत विलेट तथा स्पञ्ज आइरनको आयात भन्सार दरमा कम्तिमा १० प्रतिशतदेखि बढीमा ३२ प्रतिशतसम्मको भिन्नता कायम रहेकाले समेत यो भिन्नता थप बढाई कम्तिमा १० प्रतिशत कायम गर्नु उपयुक्त हुने सुझाव पनि संघले दिएको छ ।
स्पञ्ज आइरन भन्नाले कच्चा फलाम भएको र स्टील विलेट भन्नाले तयारी फलाम भएकाले दुवै कच्चा पदार्थ नभएको र ठूलो भिन्नता रहेको बताइएको छ । विश्व व्यापार संगठनको परिभाषाले समेत स्पंज आइरन, पीग आइरन, आइरन ओर भन्नाले आयरन फर्ममा रहेका कच्चा फलामलाई बुझाउने भन्दै संघले स्टिल भन्नाले १६०० डिग्री सेल्सियस तापक्रम पछिको पक्का फलाम भन्ने बुझिने जनाएको छ ।
स्पञ्ज आयरनबाट विलेट उत्पादन गर्ने उद्योगहरु समेत देश भित्रकै उद्योग रहेका र हाल आयात हुने विलेटसमेत भारतमा यसैबाट बन्ने भएकाले गुणस्तरमा कुनै भिन्नता नहुने संघले जनाएको छ ।
हाल नेपालमा उत्पादित विलेटबाट नै ५००डी डण्डी उत्पादन भइरहेको र उल्टो स्पञ्ज आइरनबाट विलेट उत्पादन गर्दा विलेटको गुणस्तर वृद्धि गर्ने एलआरएफ जस्ता प्रविधिसमेत नेपालमा आइसकेको पनि संघले जनाएको छ ।
पत्रु पगालेर डण्डी उत्पादन गर्दा हुने पर्यावरण संरक्षणको लागी नयाँ उद्योगले इआइए समेत गराएको तथा धँुवा नियन्त्रणको लागी अत्याधुनिक प्रविधी जडान भएको दावी गर्दै संघले चीन र भारतमा यस्तो प्रविधीको प्रचलनबाट नै ८० प्रतिशत डण्डी उत्पादन भैरहेको जनाएको छ ।
संघका अनुसार स्पंज आयरनबाट विलेट बनाउदा थप कम्तिमा २० हजार रोजगारी बढ्ने र विद्युत खपत ३०० देखि ५०० मेवाले बढ्न जाने छ । उद्योग संचालन गर्ने ५ प्रतिशत मात्र माथिल्लो तहका भारतीय नागरीकको आवश्यक्ता पर्ने दावीका साथ संघले नयाँ ब्यवस्थाले आयात प्रतिस्थापन भई कम्तिमा वार्षिक ४० अर्ब बैदेशिक मुद्राको वचत हुने र फर्नेश आयल आयात समेत वाषर््िाक २ अर्बले घट्ने जनाएको छ ।
यसैबिच, सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल स्ट्ील रोलीङ्ग मिल्स् एसोसियन आबद्ध व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने बताएका छन् ।
एसोसिएसनले रोलिङ प्लान्टबाट एमएस विलेट उत्पादन गरी फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था गर्दा व्यापार घाटा कम गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने पनि बताएको छ । उनीहरुले सरकारले सहुलियत दिएको स्पन्ज आइरनबाट छड निर्माण गर्दा गुणस्तर कम हुने र जोखिम बढाउने व्यवसायीहरुले बताएका छन् । पत्रु पगालेर बनाएको छडले नेपाल जस्तो भूकम्पीय जोखिम भएको देशमा दुर्घटना निम्तने भन्दै सबै सचेत हुन पनि व्यवसायीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्