Logo

जनगणना–२०७८ र कुलुङ

गत जेठ अन्तिमदेखि असार पहिलो हप्तामै भइसक्नुपर्ने १२ औं राष्ट्रिय जनगणना त्यही सेरोफेरोमा नेपालमा फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण अनिश्चित कालसम्मका लागि स्थगित भएको थियो । हाल फेरि आगामी कात्तिक अन्तिमदेखि मंसिर पहिलो हप्तामा सो स्थगित जनगणना गर्ने भनी सरकारले निर्णय गरेको छ । सोहीअनुसार केन्द्रीय तथ्यांक विभागले तीव्र गतिमा तयारी थालेको जनाएको छ । त्यसैले सो जनगणनालाई कुलुङ जातिका अगुवाहरूले पनि महत्वका साथ लिएर लागिपर्नुपर्ने देखिन्छ ।
हुन त हालसम्म कुलुङ जातिलाई नेपालका अन्य जात, समूह, वर्ग वा जाति र समुदायसरह अलग्गै जाति हुन् भनी नचिनेर ‘राई’ भनी जान्ने-बुझ्ने-चिन्ने गरेको पाइन्छ । तर, असलियतमा ‘राई’ नेपालको जात वा जाति नभएर पद-पदवी वा पगरी मात्रै हो । साथै ‘राई’ शब्दको व्युत्पत्ति ‘राया’-‘राय’ हो भने धेरैजसो विद्वान् तथा लेखकहरूको भनाइअनुसार नेपालमा सुरुमा यो ‘राया’-‘राय’ शब्दको प्रयोग कर्णाली प्रदेशमा ‘राजा’ जनाउने अर्थमा प्रयोग भएको हो । पछि सेनकालमा नेपालको पूर्वी भेगमा पनि स्थानीय किराती (जो त्यति बेलासम्म थामी, लिम्बू, खम्बू, सुनुवार, याक्खा, कुलुङ, बाहिङ, बान्तावा, मेवाहाङ, धिमाल, हायु, सुरेल, जिरेल आदि भनी बाहिरिया अथवा अरू जातजातिबीच व्यापक रूपमा चिनिएका थिएनन् ।) हरूमध्येका प्रभावशाली व्यक्तिहरूलाई हालको प्रधानमन्त्री वा मन्त्रीसरहको पदका रूपमा दिएको देखिन्छ । जस्तो कि विजयपुरका बुद्धिकर्ण ‘राय’लाई उदाहरणका रूपमा लिन सकिन्छ । स्मरणीय छ, बुद्धिकर्ण ‘राय’ हाल आएर तेह्रथुम जिल्लाको ‘छ–थर भेग’को खेवा थरका लिम्बूका पुर्खा भएको प्रमाणित भएको छ ।
नेपालको भौगोलिक एकीकरणपछि भने लिम्बू, खम्बू, सुनुवार, याक्खा, कुलुङ, बाहिङ, बान्तवा, मेवाहाङ, हायु, सुरेल आदि जातजातिबाहेकका अन्य जात, समूह, वर्ग, जाति र समुदायमा पनि ‘राय’-‘राई’ ‘पद-पदवी, पगरी’ व्यापक रूपमा किनबेच भएर फैलियो । यसरी नेपालका लिम्बू, खम्बू, कुलुङ आदि किरातीबाहेकका अन्य जात, वर्ग, समूह, जाति र समुदायमा पनि ‘राय’-‘राई’ ‘पद-पदवी, पगरी’ व्यापक रूपमा फैलिनुमा त्यो बेलाका राज्य सञ्चालकहरू ‘श्री ३ महाराज’ र खोपीको देउतासरह रहेका-भएका श्री ५ महाराजाधिराजहरूलाई (खास गरी देशको असली शासक र राज्यको स्रोत, साधनको हर्ताकर्ता र प्रयोगकर्ता श्री ३ महाराज अर्थात् राणाहरू भएकाले राणाहरूलाई जति धेरै साबिक राई, राई, मौजे सुब्बा, सुब्बा, मुखिया, गोवा, चौधराई-चौधरी, पटवारी, द्वारे, गौरुङ आदि भयो वा नियुक्त गर्न सक्यो, उत्ति नै कर-पैसो उठ्ने भएकाले ३० मुरी माटोको समेत (३० माटो भन्नाले ३० मुरी अन्न फल्ने जग्गाको क्षेत्रफल) राई, सुब्बा, मुखिया, गोवा, चौधराई-चौधरी, पटवारी, द्वारे, गौरुङ आदि भए ।
जे होस्, हिजोसम्म जानेर वा नजानेर वा ‘राई !’ लेख्दा-भन्दा ठूलो मान्छे होइन्छ भनेर पनि कुलुङ जातिका साथै कतिपय अन्य जातिले आफ्नो नामको पछाडि ‘राई’ लेखे । तर, असलियतमा ‘राई’ भनेको जात वा जाति जनाउने शब्द नभएर पदवी वा पगरी जनाउने शब्द मात्रै थियो भन्ने त माथि नै दिइएका उदाहरणहरूले बताएकै छ । साथै ‘राई’ शब्दको व्युत्पत्ति ‘राया’-‘राय’बाट भएको हो भन्ने पनि लेखिएकै छ । बुद्धिकर्ण ‘राय’, अटलसिंह ‘राय’, चमते-चतमे ‘राय’ आदिलाई लिन सकिन्छ । बुद्धिकर्ण ‘राय’ त हाल आएर तेह्रथुम जिल्लाको ‘छ–थर भेग’का खेवा थरका लिम्बूको वंश भएको प्रमाणित भएको पनि लेखिएकै छ ।
त्यसैले यस पटक हाम्रो घरआँगनमा आउने गणकहरूलाई हामी कुलुङहरूले आउँदो कात्तिक २५ देखि मंसिर ८ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा राई वा कुलुङ राई होइन, ‘कुलुङ’ मात्रै लेखाऊँ । किनकि, वि.सं. २०६८ को ११ औं जनगणनामा पनि भोजपुर, इलाम, तेह्रथुम, झापा, मोरङलगायत धेरै जिल्लामा ‘राई वा कुलुङ राई’ खाएको हुनाले आधाभन्दा बढी (लगभग ६० प्रतिशत) ‘कुलुङ’को जनसंख्या राईमा गाभिन गयो । त्यसैले आफ्नो जातीय उपस्थिति दह्रो बनाउन र राज्यको हरेक निकायमा सहभागिता जनाउनका लागि पनि कोही–कोही कुलुङहरूले दोधारमा वा भ्रममा नपरी जात वा जातिको महलमा ‘कुलुङ’ मात्रै लेखौं र लेखाऊँ ।
याद रहोस्, केतविले ‘कुलुङ’ जातिलाई १२ औं जनगणनामा उपलब्ध गराएको जातिगत कोड–६२ र भाषागत कोड–३३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्