बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन «

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतको केन्द्रीय अनुगमन समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मंगलबार भएको समितिको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर चाडपर्वको बजारमा कालाबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी हुने भएकाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकले १ असोजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको हो । सुपथ पसलमा चिनी प्रतिकेजी ५ रुपैयाँ, नुन प्रतिकेजी २ रुपैया, चामल प्रतिकेजी ५ र गेडागुडीमा र खसीबोकामा १० रुपैयाँ छुट दिइने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको खपत बढी हुने भएकाले उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्ने गर्छ ।
चाडपर्वको बेला बजारमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा कृत्रिम अभाव गराएर व्यवसायीले कालोबजारी गर्ने हुनाले पनि बजार अनुगमन प्रभावकारी बनाउन केन्द्रीय समितिले निर्देशन दिएको हो । चाडपर्वमा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठगिन सक्ने भन्दै बजार अनुगमनका प्रभावकारी बनाउनका लागि सरोकारवाला निकायबीच छलफल भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता शिवराज सेढार्इंले जानकारी दिए । थप जनशक्ति परिचालन गरेर बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन लागिएको उनले जानकारी दिए ।
चाडपर्वको बेला उपभोक्ताले दैनिक उपभोग्य वस्तुको खरिद बढी गर्ने हुनाले व्यवसायीले म्याद नाघेको कमसल सामान बिक्री तथा म्याद नाघेको सामान बिक्री हुने, नापतौलमा कमी, अस्वाभाविक मूल्य वृद्धि बढी हुने गरेको छ । त्यसलाई नियन्त्रण गर्नका लागि थप जनशक्ति परिचालन गरेर बजार अनुगमनलाई प्रभावकारी समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको अध्यक्षतामा भएको बैठकमा नेपाल आयल निगम, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग, दुग्ध विकास संस्थान (डीडीसी)का उच्च अधिकारीको सहभागिता रहेको थियो । नेपाल आयल निगमले चाडपर्वको बेला पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्