Logo

डिम्याट खाता खोल्नेको उल्लेख्य वृद्धि

आजभन्दा करिब तीन–चार वर्षअगाडिको मात्र तथ्याङ्कलाई हेर्ने हो भने डिम्याट खाता खोल्ने मानिसको संख्या ८–१० लाखको हाराहारीमा मात्र थियो । तर, अहिले आएर डिम्याट खाता खोल्ने मानिसको संख्या ह्वात्तै बढेर ४० लाख ८७ हजारजति पुगेको तथ्याङ्क छ । साधारण अर्थमा भन्दा सेयर खरिद–बिक्री गर्ने वा सेयर जम्मा हुने खाता डिम्याट हो । डिम्याट खाता नखोली कुनै पनि सेयर कारोबारमा समावेश हुन सकिँदैन । त्यसकारण सेयर कारोबारका लागि अत्यन्तै महत्वपूर्ण खातामध्ये डिम्याट खाता पनि एक हो ।
बैंक खाता अनिवार्य भए मात्र डिम्याट खाता सजिलै खोल्न सकिन्छ । बैंक खातामा रकम मात्र हुन्छ भने यस डिम्याट खातामा सेयर खरिद–बिक्री गरेको जम्मा हुन्छ । कोरोना महामारी र लकडाउनका कारण मानिसहरू घरमै बस्न बाध्य भएकाले पनि अनलाइन डिम्याट खातासँगै अनलाइन मेरो सेयर लिने संख्या पनि उत्तिकै मात्रामा वृद्धि भएको छ । बैंकमा जाने झन्झट कम गरी घरमै बसेर अनलाइनमार्फत सेयर खरिद–बिक्री गर्छन् भने अनलाइनमार्फत नै सेयर पनि भर्छन् । यसले गर्दा भीडभाड कम हुनुका साथै काम पनि सहज भएको लगानीकर्ताहरू बताउँछन् ।
पछिल्लो समय जति पनि डिम्याट खाता खोल्ने मानिसहरूको संख्या छ, प्रायः सबैजसो आईपीओमा नै आकर्षण भएका छन् । कुनै पनि कम्पनीले सर्वसाधारणका लागि भनेर आफ्नो कम्पनीको आईपीओ जारी गर्छन् र सोही आईपीओमा मानिसहरूको अत्यधिक रुचि हुन्छ । १ सय रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका दरले रु. १ हजारको आईपीओ भर्दा सेयर परेको खण्डमा दोब्बरले फाइदा हुने देखिन्छ । त्यतिमात्र होइन, कुनै–कुनै कम्पनीको लघुवित्तको सेयर यस्ता छन् कि १ हजार लगानी गरेर ५० हजारसम्म कमाउने गरेका पनि देखिन्छन् । यस्ता कम्पनीले सर्वसाधारणहरूका लागि कम मात्रामा आईपीओ जारी गरे तापनि पर्ने संख्या भने अत्यन्तै कम देखिन्छ । तर, बिस्मात भने कति पनि हुँदैन, किनभने आईपीओ भर्दा रु. १ हजार बैंकको खाताबाट काटिए पनि आईपीओ नपरेको खण्डमा उक्त १ हजार रुपैयाँ पछि आफ्नै खातामा फिर्ता आउने देखिन्छ । त्यसैले पनि होला, सानो लगानीमा अनि छोटो समयमा प्रतिफल पनि पाइने र लगानी पनि नडुब्ने भएकाले गर्दा धेरै मानिसहरू आईपीओमा अत्यधिक आकर्षण भएसँगै हितग्राही खाता अर्थात् डिम्याट खाता खोल्ने मानिसहरूको संख्या पनि ह्वात्तै बढेको देखिन्छ । त्यतिमात्र होइन, अनलाइन सिस्टमको राम्रो सहजताले गर्दा पनि मानिसहरूको संख्या बढेको देखिन्छ ।
बालबालिकादेखि परिवारका सबै सदस्यलगायतले आईपीओ भर्न थालेका छन् ।
आजभन्दा दुई–चार वर्षपहिले लगानीकर्ताहरू बैंकमा घण्टांैंसम्म लाइनमा बसेर भए पनि आईपीओ भर्ने गर्थे । तर, भर्ने प्रायः सबैलाई सेयर पथ्र्याे पनि । त्यतिबेला डिम्याट खाता खोल्ने मानिसहरूको संख्या अत्यन्तै न्यून मात्रै थियो । र, सोहीअनुसार आईपीओ जारी भएको बेला पथ्र्याे पनि । तर, अहिले धेरै कम्पनीहरूको आईपीओ निष्कासन हुँदा प्रायः मानिसहरूको आईपीओ नपरी हात खाली भएका धेरै लगानीकर्ताहरू देख्न सकिन्छ । नपर्ने कारण कुनै कम्पनीले १० प्रतिशत मात्र सर्वसाधारणका लागि निष्कासन गरेको सेयर मागभन्दा बढी आवेदन पर्छ । यसको अर्थ हुन्छ, अत्यधिक मात्रामा सर्वसाधारणले डिम्याट खाता खोल्नु र मागभन्दा बढी आवेदन आउँदा आईपीओ नपर्नु । र, गोलाप्रथाबाट मात्र सेयरको बाँडफाँड हुनाले गर्दा पनि आईपीओ कमै मात्रलाई पर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्