इजरायल–भारत सम्बन्धमा ‘नया युग’ :नेतन्याहु

भारत भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भारतसँग केही महत्वपूर्ण सम्झौता गरेपछि सोमबार सञ्चारकर्मीसँग दिएको प्रतिक्रियामा इजरायल–भारत सम्बन्धमा नयाँ युगको थालनी भएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार भएको कुराकानीपछि नेतन्याहुले भने भने, “हामीले आज दुई मुलुकबीच नयाँ सम्बन्धको सुरुवात गरेका छौँ ।”
प्रधानमन्त्रीका रूपमा सन् २०१७ को जुलाईमा इजरायलको भ्रमण गरेका पहिलो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि नेतन्याहुले उक्त कुरा बताएका हुन् ।
इजरायल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष भए पनि अहिले आफ्नो भ्रमणबाट विशेष उपलब्धि भएका उनको ठहर थियो ।
नेतन्याहु विगत १५ वर्षयता इजरायली प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री हुन् । नेतन्याहुले आफ्नो धर्मपत्नीसहित १ सय ३० सदस्यीय इजरायली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा आएका छन् । इजरायली नेतासँग भ्रमणमा आएको यो सबैभन्दा ठूलो व्यापारिक प्रतिनिधिमण्डल भनी बताइएको छ ।
टोलीमा प्रविधि, कृषि तथा प्रतिरक्षा मामिला हेर्ने व्यापारिक क्षेत्रका विज्ञहरूको सहभागिता रहेको छ ।
नेतन्याहु र मोदीबीचको भेटले अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघको महासभामा जेरुसेलमलाई इजरायलको मान्यता दिने प्रस्तावमा भारतले विरुद्धमा मतदान गर्ने निर्णयपछि भारतसँग ‘असन्तुष्ट’ देखिएको इजरायलसँगको तनाव पनि मत्थर भएको देखिएको छ । भारत र इजरायलले आजै साइबर सुरक्षा तथा ऊर्जा विषयमा महŒवपूर्ण सम्झौता गरेका छन् ।
इजरायल भारतमा हतियार आपूर्ति गर्नेमध्येको एक महŒवपूर्ण राष्ट्र हो । भारतले इजरायलबाट वार्षिक १ अर्ब डलरबराबरको सैनिक हतियार तथा अन्य सामग्री निर्यात गर्दै आएको छ ।
यसै वर्ष पनि भारतले सतहबाट सतहमा आक्रमण गर्न सक्ने १३१ क्षेप्यास्त्र किन्ने घोषणा गरेको थियो । तर, नयाँ दिल्लीले प्यालेस्टिनीहरूका कारण इजरायलसँगको सम्बन्धलाई सन्तुलित गर्न देशभित्र ठूलो दबाब छ ।
नेतन्याहु ६ दिनको भारत भ्रमणका सिलसिलामा आइतबार नयाँ दिल्ली आएका हुन् ।
नेतन्याहुको भ्रमण भारत र इजरायलबीच दुईपक्षीय प्रतिरक्षा तथा व्यापारिक सम्बन्धमा सुधार ल्याउने विषयमा केन्द्रित हुने बताइएको छ ।
विदेश मामिला मन्त्री सुष्मा स्वराजले पनि नेतान्याहुलाई आइतबार नै भेटेकी थिइन् । प्रधानमन्त्रीले आफैं विमानस्थल पुगी उनलाई स्वागत गरेका थिए ।