मनाङका पुराना नेता शंकर गुरुङ जिल्ला सभापति बन्दै

लमजुङ-नेपाली कांग्रेस मनाङले अधिवेशन नहुँदै नयाँ नेतृत्वको टुंगो लगाएको छ । नेपाली कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो ।
दुई कार्यकाल नेतृत्व सम्हाल्नुभएका वर्तमान जिल्ला सभापती टेकबहादुर गुरुङको संयोजकत्वमा आम कार्यकर्ताहरूबीच छलफल गरी आगामी कार्यकालको नयाँ नेतृत्व टुंगो लगाईएको सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन हुने नहुने अन्यौल अझै कायम भएपनि कांग्रेस मनाङले भने सहमतिमै नयाँ नेतृत्वको टुंगो लगाईसकेको सचिव गुरुङले बताए । मनाङमा भने कुनै विवाद नभई सर्वसम्मत नयाँ नेतृत्वको टुंगो लागिसकेको सचिव गुरुङको भनाइ छ ।
१४ औँ महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसले समयतालिका निर्धारण गरे पनि अझै हुने नहुने अन्यौल छ । पटक–पटक महाधिवेशन मिती सार्दै आएको कांग्रेसले यहि भदौ १८ देखि वडा तहबाट अधिवेशन शुरु गर्ने समय तालिका निर्धारण गरेपनि आवश्यक तयारीका लागि पर्याप्त समय नहुँदा कार्यकर्ताविच अन्यौलता छाएको छ ।
जिल्ला सभापति बन्न लागेका गुरुङ यसअघि पनि नेपाली कांग्रेस मनाङको सभापति रहेका थिए । नेपाली कांग्रेस विभाजन हुँदा तत्कालिन शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापती बनेका हुन् ।
जिल्ला सभापतिसहित मनाङ कांग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रिय कार्यसमिति र स्थानिय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको कांग्रेस मनाङका सभापती टेकबहादुर गुरुङले बताए । यद्यपी अधिवेशनको मिति बाँकी नै रहेकाले अन्य नाम अहिले सार्वजनिक नगरिएको गुरुङले बतए ।
नेतृत्व छनौट गर्ने विषयमा जिल्ला र स्थानियस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने भन्दै बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने सभापति गुरुङको भनाइ छ ।
देशका विभिन्न जिल्लामा क्रियाशिल सदस्यता वितरणमै अल्झीएको कांग्रेस भित्र मनाङ कांग्रेस गतिलो उदाहरण समेत बनेको छ । देशका अधिकांश जिल्लाहरूमा क्रियाशिल सदस्यता, नेतृत्व दाबी लगायतका विषयमा विवाद हुँदा अधिवेशन समेत अन्यौलमा पर्दै आएको छ । विशेष गरी कांग्रेस भित्र गुटको राजनीती मौलाउदै जाँदा समस्या पनि थपिदै गएको कांग्रेस शुभेच्छुकहरू बताउछन् ।
कांग्रेस भित्र अधिवेशनका बेला देखिएको गुटले स्थानिय तह, प्रदेश र संघको निर्वाचनमा समेत असर गर्ने गरेको छ । जसले गर्दा पार्टी बलियो हुनुको सट्टा झनै कमजोर बन्ने गरेको कांग्रेस कार्यकर्ताहरूले स्वीकार गर्दै आएका छन् ।
नेपाली कांग्रेस भित्रको विवाद र द्वन्द्व निवारणका विषयमा मनाङ यसअघि पनि उदाहरण बन्दै आएको छ । मनाङमा स्थानिय तह, प्रदेश र संघिय निर्वाचनमा समेत कसले टिकट पाउने भन्ने विषयमा अहिलेसम्म विवाद भएको छैन । देशका अन्य जिल्लामा उम्मेदार तय नहुँदै मनाङ कांग्रेसले भने दोहो¥याएर प्रचार प्रसार गरिसकेको उदाहरणहरू छन् ।