कोभिडप्रभावित रात्रिकालीन व्यवसाय कसरी अगाडि बढाउने ?

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र उद्योग–व्यवसाय प्रभावित बन्न पुग्यो । पर्यटन, होटल तथा ट्रेकिङ व्यवसाय कोभिडबाट बढी प्रभावित भए । हालसम्म पनि यो क्षेत्र पुरानो लयमा फर्कन सकेको छैन भने सरकारले पनि सभा–सम्मेलन, गोष्ठीलाई खुला गरेको छैन । पर्यटनकै एउटा हिस्साका रूपमा रहेको रात्रिकालीन व्यवसाय पनि ठप्प छ । रात्रिकालीन मनोरञ्जन क्षेत्र ठप्प हुँदा यस व्यवसायमा आश्रित ५० औँ हजार मजदुरहरू रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको भन्दै सरोकारवाला संघसंस्थाले आवाज उठाउँदै आएका छन् । रात्रिकालीन व्यवसायहरू लाउन्ज बार, डिस्को थेक, डान्स बार, दोहोरी, गजल, लाइभ ब्यान्ड, पब, होटल, रेस्टुराँ, स्पालगायतका सम्पूर्ण व्यवसायहरूलाई प्रोटोकल बनाई ल्याउन संघसंस्थाको माग छ । दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले र सम्पूर्ण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा एकमुस्ट चाबी बुझाएका थिए । होटल व्यवसाय र रात्रिकालीन व्यवसाय पर्यटनका महत्वपूर्ण हिस्सा हुन् । कोभिडले थलिएको यो व्यवसायलाई कसरी अगाडि बढाउन सकिएला, वर्तमान समस्याहरू के हुन्, आगामी दिनमा यो व्यवसायलाई पुरानै लयमा लैजान के–कस्ता पहल गर्नुपर्ला भन्ने सवालमा कारोबारले सरोकारवालासँग गरेको कुराकानीको सार :
मौद्रिक नीति र बजेटको व्यवस्थालाई कार्यान्वयन गर्न ढिलाइ भयो
विनायक शाह
प्रथम उपाध्यक्ष, होटल संघ नेपाल
कोभिडका कारण होटल व्यवसाय क्षेत्रले सबैभन्दा धेरै क्षति बेहोरेको छ । कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेका छन् । होटल उद्योगमा खरबौंको लगानी रही बढीभन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा संवद्र्धन गर्नु राज्यको दायित्व हो । आर्थिक वर्ष २०७८-७९ को बजेटले सम्बोधन गरेका विषयहरू साथै मौद्रिक नीतिले सम्बोधन गरेका विषयलाई कार्यान्वयमा लैजान हाम्रो आग्रह छ । होटल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योगसरहको सुविधा प्रदान गर्नेगरी कार्यान्वयन गर्नुपर्र्छ । होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरहको विद्युत् महसुल दर कायम गरी उपलब्ध गराउनुपर्छ । होटल उद्योगलाई उपलब्ध गराएको विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वनयमा आउन ढिलाइ भएकाले अविलम्ब कार्यान्वयन गर्नुपर्छ । त्यसैगरी सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट सहुलियत योगदान रकम जम्मा भएकोमा राहत भएकाले यसलाई कम्तीमा एक वर्षसम्म निरन्तरता दिन हाम्रो माग छ । हालको समयमा होटलहरूका तर्फबाट निरन्तरता हुन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी कोभिड महामारीको समयमा योगदानकर्ताले समयमा योगदान नगरेकै कारणले स्वास्थ्यलगायतका आपत्कालीन सेवा लिनबाट वञ्चित नहुने गरी व्यवस्था गराइनुपर्छ । त्यसैगरी मौद्रिक नीतिमार्फत घोषणा गरिएको कार्यक्रमहरूको कार्यान्वयन, सहुलियत कर्जा प्रवाह, पुनर्तालिकीकरण लगायतका व्यवस्थाहरू होटल तथा पर्यटन उद्योगमा सहज र सरल रूपमा वितरण गर्दै कार्यान्वयन पक्षमा जोड दिन हानले माग गर्दै आएको छ । होटल क्षेत्रका लागि लागू गरिएको सहुलियतपूर्ण एक प्रतिशत कर पाँच वर्षका लागि लागू गर्दा प्रभावकारी हुन्छ । यो समयमा अधिकांश होटलहरू पुनर्निर्माणको क्रममा रहेको हुँदा होटलमा आयात गरिने सामग्रीमा विशेष भन्सार छुटको व्यवस्था गर्नुपर्छ । साथै पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना बनाई होटल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने गर्नुपर्छ ।
स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर व्यवसाय सञ्चालन गर्छौं
विनोद श्रेष्ठ
अध्यक्ष, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ
कोभिडका कारण गीत–संगीत क्षेत्र प्रभावित बनेको कुरा सबैमाझ जानकारी छ । यस क्षेत्रलाई अगाडि बढाउनु सबैको दायित्व हो । अहिले सरकारले हाम्रो समस्यालाई सम्बोधन गरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर लोकदोहारी क्षेत्रलाई अगाडि बढाउन हाम्रो पहल हुनेछ । सरकारको निर्णयसँगै हामी उत्साहित छौं । अब कसरी अगाडि बढ्ने भनेर हाम्रो कार्यसमिति बैठक पनि भयो । देशभर दोहारी साँझ तथा मनोरञ्जन क्षेत्रलाई व्यवस्थित बनाएर लैजानुपर्नेछ । यसका लागि स्वास्थ्य मापदण्ड, दूरी कायम तथा अन्य व्यवस्थापकीय कामलाई ध्यान दिन जरुरी छ । कर्मचारी, पाहुनाको स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्नेमा छलफल भएको छ । सबै व्यवसायी, कर्मचारीलाई खोप अनिवार्य गर्नेछौँ । अहिले पनि धेरै व्यवसायी तथा कर्मचारीले खोप लगाइसकेको अवस्था छ । देशभर हामीसँग १ सय ६० वटा दोहोरी साँझ हामीसँग आबद्ध छन् । यसमा २५ हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् । रोजगारीका हिसाबले गीत–संगीत क्षेत्रमा सम्भावना धेरै छन् । चलायमान व्यवसाय भएकाले सरकारले संरक्षण गरेर अगाडि बढाउनुपर्छ । हामीले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालनका लागि निर्देशिकासमेत बनाएका छौँ । यो निर्देशिका पर्यटन मन्त्रालय, जिल्ला प्रशासन कार्यलयमा निर्देशिका पठाएका छौँ । यो निर्देशिका अब देशभरका व्यवसायीसम्म पु¥याउँछौँ र सोहीबमोजिम व्यवसाय सञ्चालन गर्नेछौँ ।
व्यापारले गति लिन समय लाग्नेछ
प्रकाशनरसिंह राणा
अध्यक्ष
ठमेल पर्यटन विकास परिषद्
विगत दुई वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण पर्यटनसँग सम्बन्धित सबै व्यापार तथा व्यवसाय प्रायः ठप्प अवस्थामा रहको छ । ठमेल आफैंमा पर्यटकीय बजार भएकाले यहाँ पर्यटनबाट नै बजार सञ्चालित भएकाले गर्दा पर्यटनको आगमन नहुँदा समस्या गरेको छ । धेरै व्यापार–व्यवसायहरू पर्यटनबाट नै सञ्चालन हुने तर दुई वर्षदेखि पर्यटनको आगमन शून्य हुँदा यहाँ समस्या परेको हो । पर्यटनको आगमनबाट नै यहाँका व्यापार–व्यवसायहरू सञ्चालन हुँदै आएका थिए । व्यापार–व्यवसाय सञ्चालन गरेकाहरूले नै रोजगारी दिएकाहरूलाई हालसम्म जीवनयापनका लागि सहयोग गर्दै आएको भए पनि आम्दानी शून्य भएकाले गर्दा निरन्तरता दिन समस्या हुँदै गएको छ । रात्रिकालीन व्यवसायमा सरकारले लगाएको बन्देज खुला भए पनि तत्काल व्यापार–व्यवसायमा उल्लेख्य सुधार नआउने भएकाले गर्दा यसका लागि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्नुपर्छ । मनोरञ्जनमा आउने ग्राहकलाई सहज वातावरणमा खुसी हुने व्यवस्थाको विकास गर्नु जरुरी छ ।
व्यापार बन्द हुँदा व्यापार र रोजीरोटीमा नै समस्या परेको भन्दै हामीले सरोकारवाला निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएका छौं । चाँडै समस्या समाधान हुने आशा गरेका छौं । सरकारले पहिले जस्तै नै व्यवासाय खोल्न दिनुप¥यो, यसो हुँदा आन्तरिक पर्यटकले भए पनि व्यापार–व्यवसायमा सहयोग पुग्ने थियो । बैंकको कर्जा, भाडा, कर्मचारी खर्च, सञ्चालन खर्च बढेकै छ । रोगले भन्दा भोकले मर्ने अवस्था आएको छ, त्यसैले सरकारले सहज रूपमा स्वास्थ्यका मापदण्ड पूरा गरेर व्यापार–व्यवसाय सञ्चालनमा सहयोग गर्नुप-यो भन्ने नै हो । ठमेल पर्यटन विकास समिति भनेको ठमेलको पर्यटन व्यवसाय र घरधनीहरूको साझा संस्था हो । हामीले कोभिड–१९ पश्चात् पर्यटनको केन्द्र रहेको ठमेलमा भएका समस्याहरूलाई नियामक निकाय तथा सरोकारवाला निकायमा राख्दै आएका छौं । मूलतः हालको समस्या भनेको व्यापारलाई कसरी निरन्तरता दिने भन्ने नै हो । त्यसैले सरकारले पनि यसका लागि केही सहुलियत कर्जा व्यापारका लागि वातावरण बनाइदिनु जरुरी छ । व्यापार बन्द गर्दा पनि व्यापारका सर–सामानलाई कहाँ लगेर व्यवस्था गर्ने, आगामी दिनमा कसरी व्यापार गर्ने, त्यसै राख्ने कि निकाल्ने भन्ने ठूलो समस्या रहेको छ । केही घरधनीले घरभाडामा सहुलियत प्रदान गरेको भए पनि धेरैले छुट नलिएको अवस्था छ । घरधनीलाई हामीले विगतमा भुक्तानी दिनुपर्ने रकम पनि थप गर्न र हालको भाडा पनि थप गरेर पछि भुक्तानी गर्ने सहमति भएको छ । सरकारले कहिले ८ बजे, कहिले ७ बजेसम्म मात्र व्यवसाय खोल्न दिने भनेको छ, यसले गर्दा पनि सबैले व्यापार व्यवसाय नखोलेको अवस्था छ, यसले गर्दा २५ प्रतिशत मात्र व्यवसाय खुलेको अवस्था छ, अब खुला भएपछि केही सुधार हुने विश्वास गरेका छौं । ठमेल पूर्णतः बाह्य पर्यटनबाट नै सञ्चालन हुने भएकाले गर्दा, तत्काललाई बाह्य पर्यटकको आगमन नहुने भएकाले गर्दा, आन्तरिक पर्यटकबाट भए पनि केही व्यापार–व्यवसायमा राहत पुग्ने भएकाले गर्दा रात्रिकालीन व्यवसाय खोल्नुपर्छ भन्ने हाम्रो माग थियो सरकारले सोहीअनुुसार निर्णय गरेको छ । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरू सबैले कोभिड–१९ विरुद्धको खोप लगाइसकेको अवस्था छ । कोभिड–१९ संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र ठमेललाई पनि असर पु¥याएको छ । रात्रिकालीन व्यवसाय ठप्पप्रायः हुँदा ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरू विस्थापित हुनुपरेको अवस्था थियो, सरकारको पछिल्लो निर्णयले केही राहत मिलेको अवस्था छ ।
आन्तरिक पर्यटकलाई सहज वातावरण बनाउनुपर्छ
दावाङ तामाङ
सभापति
रात्रिकालीन व्यवसायी, ठमेल
सरकारले ढिला भए पनि हाम्रो मागको सुनुवाइ गरेको छ । भोलिबाट नै हामीले व्यवसाय सरकारले तोकेको मापदण्ड पूरा गरेर सञ्चालन गर्ने योजना बनाएका छौं लामो समय यो क्षेत्र बन्द हुँदा हामीलाई समस्या भएको थियो । सरकारले विगतमा लामो समय बन्द गर्दा धेरै रोजीरोटी गुमेको अवस्था छ । कति व्यवसायी पलायन भएका छन्, पूर्ण रूपमा व्यवसायले गति लिनका लागि समय लिने भएको भए पनि व्यवसायको निरन्तरता हुने भएको छ । पर्यटकले भरिने ठमेलमा तत्काल पर्यटक आगमन नभए पनि बिस्तारै पर्यटकको आगमन वृद्धि हुने आकलन गरेका छौं । आन्तरिक पर्यटकले भए पनि भरिने ठमेल कोभिड–१९ को पछिल्लो मारका कारण समस्या भएको थियो । ठमेलका केही व्यवसायहरू पलायन भएको अवस्था छ । यसकारण व्यापारलाई निरन्तरता दिनका लागि पनि सरकारले आवश्यक सहयोग गर्नु जरुरी छ । बाह्य पर्यटकको आगमनमा वृद्धि नहुने भएकाले गर्दा तत्काललाई आन्तरिक पर्यटकले नै टेवा पु-याउनुपर्नेछ । नेपाल पर्यटन बोर्डहरूले आन्तरिक पर्यटकलाई सहयोग पुग्ने खालका कार्यक्रमहरू ल्याउनुपर्नेछ । मापदण्डमा सरकारले केही कडाइ गरेको छ । ठमेलमा १५ हजार स्टाफमात्र रहेका छन्, साथै काठमाडौँमा गरेर लाखभन्दा बढी रोजगारी रहेको छ । सरकारले सहज वातावरण बनाउनुपर्छ, सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नका लागि केही चुनौती रहेको छ । आन्तरिक पर्यटकलाई ढुक्क भएर मनोरन्जन गर्ने वातावरण बनाएको खण्डमा मात्र आन्तरिक पर्यटकले गर्दा व्यापारमा मद्दत पुग्ने देखिन्छ । तत्काल व्यापारमा उल्लेख्य सुधार नआउने भएकाले गर्दा करिब एक वर्ष समय लाग्ने देखिन्छ । त्यसैले गर्दा यो अवधिमा सरकारले आन्तरिक पर्यटकमा जोड दिने कार्यक्रमहरू ल्याउनुपर्छ ।