प्राकृतिक स्रोतको आम्दानी बाँडफाँटमा अलमल «

प्राकृतिक स्रोतको आम्दानी बाँडफाँटमा अलमल


अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्राकृतिक स्रोतबाट प्राप्त हुने आय बाँडफाँट हुने आय बाँड्नुपर्ने संकेत गरेपछि स्पष्ट बोलेको छैन ।
सोही कारण सुदूरपश्चिममा नदीजन्य दहत्तरबहत्तर (ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल, रोडा, माटो तथा काठ, दाउरा, जराजुरी बिक्रीबाट प्राप्त भएको आय कुनै स्थानीय तहले विभाज्य कोषमा जम्मा गरी प्रदेश सरकारसंग बाँडफाँट गर्ने गरेका छन् भने कुनैले गरेका छैनन् । प्रदेश सरकारले नदीजन्य दहत्तरबहत्तर बिक्रीको शुल्क निर्धारण गर्ने र स्थानीय तहले संकलन गर्ने गरेका छन् । प्रदेश सरकारले निर्धारण गर्ने र स्थानीय तहले संकलन गर्ने कर, रोयल्टी तथा शुल्क प्रदेश र स्थानीय तहले ४०/६० को अनुपातमा बाँड्ने गरेका छन् ।
प्रदेश आर्थिक ऐनमार्फत् दहत्तर बहत्तर बिक्रीको शुल्क निर्धारण प्रदेश सरकारले गरेपनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ ‘क’ ले स्लेट, ढुंगा, गिट्टी, बालुवा र माटो तथा दहत्तर बहत्तरहरु बिक्री सोझै स्थानीय सञ्चित कोषमा जम्मा गर्न सक्ने अधिकार स्थानीय तहलाई दिएको छ । सोही ऐनको व्यवस्था अनुसार अधिकांश स्थानीय तहले सो आयमा एकल अधिकार रहेको भन्दै सोझै स्थानीय सञ्चित कोषमा जम्मा गर्ने गरेका छन् । तर विगत तीन आर्थिक वर्ष १० वटा स्थानीय तहले प्रदेशसँग सो आय पनि बाँडफाँट गरेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा प्रदेशसँग सो आय बाँडफाँट गरेको गौरीगंगा नगरपालिकाले गत आर्थिक वर्षको बाँडफाँट गरेका छैन । गौरीगंगाका लेखा अधिकृत नरेश विकले संघ र प्रदेशको ऐनले सो आय बाँडफाँट गर्नुपर्ने भनेकाले बाँडफाँट गरेको बताए । उनले गत वर्ष ठेक्का नै नलागेकाले बाँडफाँट नगरेको बताए । गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा ४० लाख ९३ हजार छ सय र २०७६/०७७ मा ८१ लाख ८६ हजार चार सय रुपैयाँ सो आय बापतको रकम प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ ।
घोडाघोडी नगररपालिकाले पनि सो आय बापत् आर्थिक वर्ष २०७५/०७६ मा ४४ लाख र २०७६/०७७ मा एक करोड चार हजार प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ भने गतवर्ष जम्मा गरेको छैन । बर्दगोरिया गाउँपालिकाले सो आय बापत् आर्थिक वर्ष २०७५/०७६ मा आठ लाख ९१ हजार ५५९, २०७६/०७७ मा १८ लाख ८४ हजार ८२४ र २०७७/०७८ मा १३ लाख ८० हजार रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ । दोगडा केदार गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा तीन लाख २७ हजार सात सय र २०७७/०७८ मा पाँच लाख ६५ हजार प्रदेश सञ्चित कोषमा जम्मा गरेको छ ।
त्यसैगरी, दहत्तर बहत्तर बिक्रीबाट भएको आय २०७६/०७७ वेदकोट नगरपालिकाले ३३ लाख ६० हजार ९७५, लम्कीचुहाले सात लाख ४७ हजार १८०, महाकाली नगरपालिकाले नौ लाख ५२ हजार ६९३ रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । सोही आय बापत् आर्थिक वर्ष २०७७/०७८ मा महाकाली नगरपालिकाले पाँच लाख ११ हजार ७६, दिपायल सिलगढी नगरपालिकाले एक लाख ९३ हजार चार सय, जगन्नाथ नगरपालिकाले एक लाख १५ हजार ९५२ र बडिमालिका नगरपालिकाले तीन लाख ३९ हजार २८० रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा गरेको प्रदेश कोलेनिकाले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख डिल्लीराज ओझाले आर्थिक वर्ष २०७५/०७६ मा ढुंगा, गिट्टी, बालुवा लगायतका दहत्तर बहत्तरबाट प्राप्त भएको आयको ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा गरेको बताए । उनले त्यसपछि स्थानीय सरकार सञ्चालन ऐन अनुसार सो बापतको सबै रकम स्थानीय सञ्चित कोषमा जम्मा गरेको बताए । तर प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांकमा धनगढीले सो आय बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा जम्मा गरेको तथ्यांक देखिँदैन ।
गोदावरी नगरपालिकाका लेखा अधिकृत रामचन्द्र जोशीले नदीजन्य पदार्थ, दहत्तर बहत्तर बिक्रीबाट प्राप्त हुने आय पहिलो वर्षदेखि नै स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार स्थानीय सञ्चित कोषमा जम्मा गरी प्रदेशसँग बाँडफाँट नगरेको जनाएको छ ।
प्रदेश कोलेनिकाका अनुसार प्रदेश सरकारले सो बापतको रकम आर्थिक वर्ष २०७५/०७६ मा ९७ लाख १२ हजार ८५९, २०७६/०७७ मा दुई करोड २८ लाख ६७ हजार ७२ रुपैयाँ र २०७७/०७८ मा ३१ लाख चार हजार ८०८ रुपैयाँ प्राप्त भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले सोझै स्थानीय सञ्चित कोषमा जम्मा गर्न सकिने अधिकार स्थानीय तहलाई दिएपनि दहत्तर बहत्तरको बिक्री दर निर्धारण प्रदेश सरकारले गर्ने गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, स्लेट, ग्राभेल र रोडा बिक्रीदर प्रति घनफिट तीन रुपैयाँ, माटो बिक्री दर प्रति घनफिट अढाई रुपैयाँ, दहत्तरबहत्तर काठ दाउरा बिक्रीदर प्रति किलो दुई रुपैयाँ निर्धारण गरेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले प्रदेशले दर निर्धारण गर्ने र स्थानीयले संकलन गर्ने रोयल्टी र कर स्थानीय र प्रदेश सरकारले बाँडफाँट गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्