भन्सार अवरोध तत्कल हटाऊ : निजी क्षेत्र «

भन्सार अवरोध तत्कल हटाऊ : निजी क्षेत्र

उद्योगी व्यवसायीले भन्सारमा देखिएको अवरोध तत्काल हटाउन माग गरेका छन् । भन्सार नाकाहरूमा हुने पालो प्रणालीका कारण व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको भन्दै यस्ता अवारोध सधैंका लागि हटाउन माग गरेका हुन् । शुक्रबारको एक अन्तत्र्रिmयामा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सारको सीमा व्यवस्थापन, पोर्टसम्मको पहुँच, भन्सार एजेन्सी र गोदाम व्यवस्थापनको क्षेत्रको सुधार आवश्यक रहेको भन्दै भन्सारमा देखिएका अवरोध तत्काल हटाउन माग गरे । “आयात र निर्यातको असन्तुलन उच्च दरमा बढेको छ, भन्सारमा देखिएका समस्याको समाधानमा सरकारको गम्भीर ध्यान जानु जरुरी छ,” उनले भने ।
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माले भन्सार प्रशासनले व्यवसायीलाई अनेक बहानामा अड्काउने गरेको बताए । “सरकारले यो गर्छु वा त्यो गर्छु भनेर प्रतिबद्धता जनाउँछ तर व्यावहारिक रूपमा त्यो काम हुन सकेको छैन, हाम्रा समस्या जस्ताका तस्तै छन्,” उनले भने । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिशकुमार मोरले सरकारका कतिपय गतिविधिले अवैध कारोबारलाई प्रोत्साहन गरिरहेको बताए । “भन्सारमा समयमै काम हुँदैन, लामो लाइन लाग्छ अनि त्यतिबेला प्रशासनले अवैध कारोबार गर्नेलाई प्रश्रय दिइरहेजस्तो देखिन्छ,” उनले भने ।
परिसंघका उपाध्यक्ष सुलभ अग्रवालले वीरगञ्ज, विराटनगर, भैरहवालगायतका नाकामा ट्रकहरूको क्यूले सामान समयमै भित्रिन नसकेको र व्यापारीहरूले ठूलो क्षति बेहोर्नुपरेको गुनासो गरे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले व्यवसायीलाई परेका समस्या समस्या समाधानमा सरकारले पर्याप्त काम नगरेको उल्लेख गरे । “सरकार निजी क्षेत्रमैत्री नभएको हामीले महसुस गरेका छौ भन्सारमा जे समस्या भोग्नु परेको छ ती समस्याको तत्काल निराकरण गर्नु जरुरी छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्