Logo

नेप्से सूचक तीन हजारमुनि


करिब एक महिनापछि सेयर बजार परिसूचक (नेप्से) तीन हजारभन्दा तल झरेको छ । मंगलबार नेप्से ६९.०५ अंक घटेर २९७५.८४ बिन्दुमा अडिएको छ ।
चालु आर्थिक वर्ष सुरु भएसँगै तीन हजार भन्दा माथि उक्लिएको नेप्सेले भदौ २ गते ३१९८.६० अंकमा पुगेर नयाँ किर्तीमान बनाएको थियो । त्यसपछि ओरालो झर्न लागेपछि १३ दिनमा नै २२२.७६ अंकले ओरालो लागेर तीन हजार भन्दा मुनि आएको छ ।
कोभिड–१९ को महामारीका बीचमा अनलाइनमार्फत कारोबार भइरहेको सेयर बजारमा अन्य क्षेत्रको लगानीका साथै बैंक तथा वित्तीय संस्थाको ऋण पनि आएपछि बजारमा उछाल आएको थियो । तर पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सेयरमा लगानी गर्न निरुत्साहित गर्नुका साथै सेयर धितो कर्जामा पनि कडाइ गरेको छ ।
मौद्रिक नीतिअघि बैंकहरुको प्रत्यक्ष सेयरको लगानीलाई कडाइ गरेको केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा सीमा तोेकेको छ । जसका कारण बजार ओरालो लाग्न थालेको विश्लेषण गरिएको छ ।
नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आइरहेको छ । मंगलबार २२७ कम्पनीको २ करोड ३१ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै समूहगत परिसूचकहरु पनि ओरालो लागेका छन् । यसदिन विकास बैंक, जलविद्युत, वित्त र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बिमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया दिनुहोस्