काठमाडौंको फोहोर आफैं सिसडोल पुर्याउन नागरिक अभियान सुरु «

काठमाडौंको फोहोर आफैं सिसडोल पुर्याउन नागरिक अभियान सुरु

नागरिक अभियन्ताहरू आफैंले काठमाडौंको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका छन । नेपाल सरकार र काठमाडौं महानगरपालिकाले विगत २५ दिनयता काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौंको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म पुर्याउने अभियान सुरु गरेका हुन् । काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाई अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाई अभियन्ता राज मानवले जानकारी दिए ।
उनले वर्षात् याममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरूले सो फोहोर सिसडोलसम्म पु¥याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पार्नु भयो । अभियन्ता मानवले भने, ‘काठमाडौं महानगरपालिकाको फोहोरलाई सडकमा राख्नुहुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन । त्यसमा नागरिक आफै सजग होऔं भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो । राजनीतिक दलहरूले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आएपनि यो समस्या समाधान हुन सकेन । त्यसैले काठमाडौंको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैंले व्यवस्थापन गर्नुपर्छ भनेर सफाई अभियान सुरु गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्छु ।’
सफाइ अभियानमा बागमती सफाई अभियान, रुद्रमती सफाइ अभियान, महाराजगन्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन । अभियानमा सहभागी भएका अभियन्ताहरूले ‘म मेरो देश फोहोर गर्दिन’ लेखिएका प्लेकार्डहरूसमेत प्रर्दशन गरेका थिए ।
काठमाडौंमा विगत २५ दिनयता फोहोर उठन नसकेपछि बिग्रिएको सडक तत्काल निर्माण गरी सिसडोलमा त्यसको उचित व्यवस्था गर्ने प्रबन्ध गर्न काठमाडौं महानगरपालिका र नेपाल सरकारमाथि चर्को दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्