Logo

आन्तरिक पर्यटन प्रवद्र्धन

केही महिनाअघि संयुक्त राष्ट्र संघमातहत रहेको विश्व पर्यटन संगठन अर्थात् वल्र्ड टुरिज्म अर्गनाइजेसन (डब्लूटीओ) ले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०२० को पहिलो महिना अर्थात् जनवरीको तुलनामा सन् २०२१ को पहिलो महिनामा ८७ प्रतिशतले विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या घट्यो । त्यस्तै सन् २०२० को पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनाको तुलनामा सन् २०२१ को पहिलो तीन महिनामा विश्वमा घुम्न निस्कने पर्यटकको संख्या ८३ प्रतिशतले कम रहेको छ । डब्लूटीओले प्रकाशित गरेको सो तथ्यांकअनुसार सन् २०२१ को पहिलो तीन महिनामा विश्वमा १ सय ८० मिलियन अर्थात् १८ करोड मानिस पर्यटकका रूपमा विश्वका विभिन्न देश भ्रमण गर्न निस्केका छन् ।
यसरी हेर्दा सन् २०१९ को डिसेम्बर अन्तिमताका चीनको दक्षिणपूर्वी राज्य हुपेईको राजधानी वुहान सहरबाट फैलिन सुरु भएको नोभेल कोरोना भाइरस (कोभिड–१९) को पहिलो, दोस्रो, तेस्रो र केही देशमा त चौथो तथा पाँचौं लहर पनि आउने सम्भावना रहेको (केही भाइरल रोग विज्ञ तथा अनुसन्धानकर्ता एवम् वैज्ञानिकहरूले त पछिल्लो कोरोना भाइरस एचआईभी-एड्सजस्तै दीर्घकालसम्म पनि रहिरहन सक्ने) भनेका छन् । हालसम्म पनि फैलिरहेकाले गर्दा विगतका दुई वर्ष विश्वभरि नै बाह्य पर्यटन र पर्यटकीय गतिविधि लगभग ठप्प भएको अवस्था छ ।
त्यसो त विश्वको बाह्य पर्यटनमा यस्तो स्थिति रहेको भए तापनि चीन, रुस, अस्ट्रिया, अमेरिका ब्राजिल, भियतनाम, लाओस, मलेसिया, जापान, दक्षिण कोरिया, मकाउ, जर्मनी, फ्रान्स, पोर्चुगल, बेल्जियम, चेक गणतन्त्र, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई), टर्की, बेलारुस, युक्रेन, नर्वे, मालदिभ्स, साइप्रस, ओमान, बहराइन, थाइल्यान्ड, स्वीडेन, डेनमाक, इटली आदि देशले आफ्नो देशका नागरिकहरूलाई आन्तरिक रूपमा देशको विभिन्न ठाउँमा घुम्न प्रेरित गरेर आन्तरिक पर्यटन र अर्थतन्त्रलाई गुल्जार गर्ने प्रयास गरेका छन् । हुन पनि कतिपय नागरिकले आफ्नै देशभित्रको पर्यटकीय महत्वका ठाउँहरू जस्तै ऐतिहासिक महत्वका ठाउँहरू, सांस्कृतिक महत्वका स्थानहरू, डाँडो, किल्ला (फोर्ट), अनेक सम्पदा रहेका ठाउँहरू, प्राचीन महत्व बोकेका स्थल तथा स्मारकलगायतमा घुमफिर नगरेको हुन सक्छ । अहिले चलिरहेको कोरोना महामारीले गर्दा उनीहरूलाई ती ठाउँको भ्रमण गर्न तत्तत् देशका सरकारले प्रोत्साहन गरेर आन्तरिक पर्यटनलाई सकेसम्म चलायमान बनाएका छन् ।
त्यसो त हाम्रो देश नेपालले पनि यो वर्ष आन्तरिक पर्यटनलाई प्रवद्र्घन गर्न भनी नेपाल सरकारका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८-०७९ को बजेट भाषणमा ‘सरकारी कर्मचारीलाई १० दिनको तलबसहित काजमा बिदा दिएर आन्तरिक पर्यटन वृद्घि गर्ने व्यवस्था मिलाइनेछ’ भनिएको छ । साथै हाल नियमावली, विनियमावली तथा कार्यविधिहरू बन्दै गरेको भन्ने समाचार केही समयअघि आएकाले गर्दा सरकारको सो घोषण व्यवहारमै लागू हुनेछ भन्ने कामना गरौं ।
त्यसका लागि नेपाल सरकारका निजामती कर्मचारी, संस्थान आदि मात्रै नभएर जंगी, निगम, सरकारी तथा निजी विद्यालय, कलेज, क्याम्पस, विश्वविद्यालयका शिक्षक, प्राध्यापक-प्रोफेसर, नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय, आईएनजीओ, एनजीओ, निजी कम्पनी, उद्योग, कलकारखाना, व्यापारिक घराना आदिमा काम गर्नेहरू सबैलाई आन्तरिक पर्यटकका रूपमा देशको धार्मिक, सांस्कृतिक, प्राकृतिक, जातीय विविधताको महत्व भएको गाउँ–ठाउँ, वन्यजन्तु अवलोकन, चरा पर्यटन, चट्टान आरोहण, बेलुनिङ, प्याराग्लाइडिङ, बञ्जिजम्पिङ, -याफ्टिङ, कायाकिङलगायत अन्य पर्यटकीय महत्वका स्थानहरू, ऐतिहासिक महत्वका ठाउँहरू जस्तै पुराना दरबार, गढी, किल्ला, दुर्ग, प्राकृतिक रूपमै बग्दै आएका झरना, छहरा, छाँगालगायत अन्य स्थानहरूमा भ्रमण गर्न जानका लागि सरकारले प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
महत्वपूर्ण कुरो के छ भने नेपालका सरकारी कर्मचारीहरूले सरकारको सो सहुलियत र सेवा–सुविधालाई दुरुपयोग नगरून् भन्नका लागि उनीहरू जुन क्षेत्रमा जान्छन्, सो क्षेत्रको फोटो, भिडियो, होटल वा लजमा बसेको र खाएको बिल भर्पाई पनि पेस गर्नैपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्छ— नियमावली, विनियमावली र कार्यविधिमा । अन्यथा देशको कुनै ठाउँमा घुम्न जाने भनेर कर्मचारीहरू ससुराली घर, माइती घर, मामाघर, आफन्तको घर, नातागोताको घर घुम्न जाने र गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डडसँग घुम्न र घुमाउन जाने गरेर समय र पैसा दुरुपयोग गर्न बेर छैन ।

प्रतिक्रिया दिनुहोस्