मेगा म्युचुअल फण्ड–१ का इकाईमा माग भन्दा बढी आवेदन

मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ मा मागेभन्दा बढी आवेदन परेको छ ।
योजनाको प्रतिएकाइ मूल्य १० रुपैयाँ दरको १० करोड एकाइमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइमा सार्वजनिक निष्काशन गरिएको हो ।
निष्काशन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको मेगा क्यापिटल मार्केट्सले जनाएको छ । हालसम्म १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय रुपैयाँबराबरको इकाइ खरिदका लागि आवेदन परेको कम्पनीले जनाएको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन हो ।
मागभन्दा धेरै बढी एकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी एकाइहरु बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।