सामाजिक सुरक्षा कोषमा रोजगारदाताको डेढ अर्ब सरकारले बेहोर्ने «

सामाजिक सुरक्षा कोषमा रोजगारदाताको डेढ अर्ब सरकारले बेहोर्ने

कोरोना संक्रमणका कारण उद्योग प्रतिष्ठान विगत दुई वर्षदेखि पूर्णरुपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र श्रमिकको संख्या भने वृद्धि भइरहेको कोषले जनाएको छ ।

दोस्रो लहरको कोरोना संक्रमण बढेपछि जारी गरिएको निषेधाज्ञामा रोजगारदाताले भुक्तानी गर्नुपर्ने श्रमिकको सामाजिक सुरक्षाबापतको १ अर्ब ४८ करोड रुपैयाँ अनुदान सरकारले दिने भएको छ । सामाजिक सुरक्षा योजनामा नियमित योगदान गर्ने रोजगारदाता तथा प्रतिष्ठानमा काम गर्ने १ लाख ५० हजार श्रमिकको योगदान रकम सरकारले अनुदान दिने भएको हो ।
निषेधाज्ञाका कारण उद्योग-प्रतिष्ठान पूर्ण रूपमा सञ्चालन हुन नसकेपछि रोजगादाताले जम्मा गर्नुपर्ने श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको रकम सरकारले बेहोर्ने निर्णय गरेको थियो । अघिल्लो वर्षको लकडाउनमा समेत रोजगादाताले भुक्तानी गर्नुपर्नेे १ अर्ब ३ करोड योगदान रकम सरकारले बेहोरेको थियो ।
वैशाख र जेठको योगदानमा आधारित सामाजिक सुरक्षा रकम जम्मा गर्ने रोजगारदाता प्रतिष्ठानलाई मात्र निषेधाज्ञा अवधिमध्ये जेठ र असार २ महिनाको रकम सरकारले अनुदानका रुपमा दिने सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषले आर्थिक वर्ष २०७८-०७९ को बजेट वक्तव्यको बुँदा नं. ६० मा गत आवको जेठ र असार महिनाको रोजगारदाता र योगदानकर्ताले जम्मा गर्नुपर्ने योगदान रकम सरकारले व्यहोर्ने उल्लेख भएअनुसार वैशाख र जेठसम्मको योगदान रकम कानुन बमोजिम नियमित योजनामा जम्मा गर्न कोषले रोजगारदाता र योगदानकर्तालाई अनुरोधसमेत गरेको छ ।
कोषका सहप्रवक्ता रोहित रेग्मीले यसअघिको श्रमिकको नाममा जम्मा गर्न बाँकी रकम कोषमा दाखिला गरेपछि मात्र सरकारले अनुदान दिने जेठ र असारको सुविधा पाउने बताए । “अनुदान रकम निकासाको लागि केही समय लाग्न सक्ने हुँदा साउनदेखिको योगदान रकम कानुन बमोजिम नियमित गर्न सूचित गरिएको छ,” सहप्रवक्ता रेग्मीले कारोबारसँग भने, “योगदान नियमित नभई यस कोषबाट पाउने सुविधाबाट कुनै पनि श्रमिक वञ्चित हुन पुगेमा सम्पूर्ण दायित्व रोजगारदाताको हुने स्पष्ट कानुनी व्यवस्था रहेको कारण जम्मा गर्न बाँकी रकम समयमा भुक्तानी गर्नुपर्ने हुन्छ ।”
कोरोना संक्रमणका कारण उद्योग प्रतिष्ठान विगत २ वर्षदेखि पूर्णरुपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र श्रमिकको संख्या भने वृद्धि भइरहेको कोषले जनाएको छ । सुरुको वर्ष योजनामा सूचीकृत हुने रोजगारदाताको संख्या ३ हजार ४७९ रहेकोमा हाल आएर १५ हजार २६९ पुगेको छ ।
यसैगरी यही अवधिमा ६ हजार ५७८ श्रमिक सूचीकृत भएकोमा आइतबारसम्म सो संख्या २ लाख ८० हजार ५३ पुगेको कोषले जनाएको छ । गत असारसम्म कोषमा १ अर्ब ६१ करोड ६४ लाख ३२ हजार ७२४ जम्मा भएकोमा सो रकम आइतबारसम्म ७ अर्ब २८ करोड पुगेको कोषले जनाएको छ । यो रकम कोषमा योगदान गर्ने १ लाख ५० हजार भन्दा बढीको योगदान रकम जम्मा हुने गरेको छ ।
योगदान रकम जम्मा गरेकामध्ये ५ हजार ७२६ जनाले विभिन्न ४ शीर्षकमा १४ करोड २४ लाख रुपैयाँ दाबी भुक्तानी पाएको कोषले जनाएको छ । यसमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व २ हजार ९९७ जनाले ५५ करोड २६ लाख ८१ हजार रुपैयाँ लिइसकेका छन् । यसरी नै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्र्तगत १२३ श्रमिकले ४२ लाख ७० हजार रुपैयाँ लिएका छन् ।
आश्रित परिवार सुरक्षाअन्र्तगत ६६ जना ६२ लाख १५ हजार र वृद्धा अवस्था सुरक्षा योजनाअन्र्तगत २ हजार ५४० जनाले १७ करोड ६७ लाख ३७ हजार रुपैयाँ बराबरको लाभ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्