लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूको सनाखत भएको छ ।
निर्वाचन आयोगमा बुधबार सो पार्टीका नेताहरू तथा सांसदहरूको सनाखत भएको हो । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाउँदै पार्टीविहीन अवस्थामा पुगेका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूले सरकारले २० प्रतिशत पु¥याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना सांसद र १७ जना केन्द्रीय कार्यकारिणी सदस्यहरूले सनाखत गरेसँगै सो पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र पाउने भएको छ । सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफुहरूको पार्टी विधिवत् रुपमा दर्ता भएको बताउनुभयो । अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अघि बढ्ने उनले बताए । उनले भने, ‘सांसदको हकमा १४ जना सांसद सनाखत गरे ।
८ जना चाहिएको थियो, १४ जना सांसद सनाखत गरे, झण्डै ३७ प्रतिशत भयो । कार्यकारिणी समितिमा पुरानो ५१ जनामा १७ जनाको सनाखत भयो । ३३ प्रतिशत सनाखत भयो । चाहिएको भन्दा बढी उपस्थित भएर सनाखत गरेका हुन् । आज विधिवत् रुपमा हाम्रो पार्टी साइकल चिन्हसहित लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ । अब आफ्नो मूल्य मान्यता अनुसार विगतमा बढ्न पाइरहेको थिएन र यो मूल्य, मान्यताका लागि पार्टी आगामी दिनमा संघर्ष गर्छ ।’
सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफुहरूको माग र मुद्धामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिबद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको भन्दै सो माग र मुद्धाको सम्बोधनका आधारमा सरकारसँग सहकार्यका कुरा अगाडी बढ्ने बताए । उनले भने, ‘शेरबहादुरजीले सहयोगको अपेक्षा गरे । हामीले हाम्रा केही कुराहरू राखेका थियौँ त्यो कुरा उहाँले संसदमा ति कुराहरूको प्रतिबद्धता व्यक्त गरेको आधारमा हामीले यो सरकारलाई विश्वासको मत दिएको हो । यो सरकारप्रति हाम्रो धारणा सकारात्मक रहनेछ र हामी सहयोगी भुमिका रहनेछ । अहिलेसम्म हामीले सरकारको बारेमा सोचेका छैनौँ । माग, मुद्दाको समर्थन र सम्बोधनको आधारमा हाम्रो सरकारसँग सहकार्यका कुराहरू अगाडी बढ्छ ।’
निर्वाचन आयोगले लोसपालाई पार्टी दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।