प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएको छ । गत महिना बसेको मन्त्रिपरिषद् बैठकले सहयोग रकम स्वीकार गर्ने निर्णय गरेपछि इभेन्टको दोस्रो परियोजनाका लागि खर्च गरिने छ । नेपाल सरकार र विश्व बैंकबीचको सहमति अनुसार सन् २०१७ देखि २०२१ सम्म सञ्चालन हुने दोस्रो चरणको सो परियोजनाका लागि ६ अर्ब २१ करोड रूपैयाँ सहयोग प्राप्त भएको हो । दोस्रो चरणमा सञ्चालन हुने यो परियोजनाबाट १ लाख ५ हजार युवालाई प्राविधिक तथा व्यवसायिक तालिमपछि रोजगारी सुनिश्चित आयको सत्यापनसमेत गरिने छ । आयको सत्यापन तालिमपछि रोजगार दरको स्थिति अध्ययन गरिने विधी हो ।
पुसको दोस्रो साता मन्त्रिपरिषद्ले सहयोग रकम स्वीकार गर्ने निर्णय गरेपछि सहयोग रकम हस्तान्तरणका लागि आइतबार अर्थ मन्त्रालय र विश्व बैंकबीच औपचारिक रूपमा हस्ताक्षर हुने व्यावसायीक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाका परियोजना निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए । “परियोजना सुविधाविहीन समुदाय, विपन्न, दलित, सीमान्तकृत, अपांग समूहलाई लक्षित गरी समावेशी तरीकाले प्राविधिक शिक्षा र व्यावसायिक तालिमको पहुँच बृद्धि गरिने छ,” परियोजना निर्देशक पाण्डेले भने, “छोटो अवधीको तालिम पाएका युवाको रोजगार अवस्थालाई ३ र ६ महिनामा सत्यापन गरी परियोजनाका उपलब्धि सूचकहरू मापन गरिने छ ।” यो परियोजनाअन्तर्गत ४ वटा कम्पोनेन्ट छुट्याएर बजेट खर्च गरिने जनाइएको छ । ४ वर्षसम्म सञ्चालन गरिने कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नियमित क्रियाकलापको सवलीकरण तथा क्षमता विकास र परियोजना व्यवस्थापन, अनुगमन र मुल्यांकनका लागि खर्च गरिने जनाइएको छ ।
विश्व बैंकले अघिल्लो परियोजनाको तुलनामा यो परियोजनाका लागि २ अर्ब रूपैयाँभन्दा बढी सहयोग रकम बढाएको छ । सन २०११ देखि म्याद थपसहित २०१६ सम्म सञ्चालन गरिएको पहिलो चरणको परियोजनाका लागि ३ अर्ब ९० करोड सहयोग प्राप्त भएको थियो । पहिलो चरणको परियोजनामा ७५ हजार युवालाई प्राविधिक तथा व्यावसायिक तालिम दिइएको थियो ।
परियोजनाको अर्को मुख्य उद्देश्य नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीको सुदृढीकरण गर्नुका साथै गुणस्तरयुक्त तालिममा पहुँच वृद्धि गरी शीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउनु रहेको परियोजनाले जनाएको छ । यसरी नै परियोजनाका अन्य कम्पोनेन्टहरूमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नियमनकारी क्रियाकलाप सुदृढीकरण र क्षमता अभिवृद्धि तथा प्राविधिक शिक्षाको सुदृढीकरण भएको हुने जनाइएको छ । यसरी नै छोटो अवधिको तालिम र पूर्वसिकाइको मान्यता प्रदान गर्ने कार्यमा सहयोग परियोजना व्यवस्थापन, अनुगमन र मूल्यांकनसमेत गर्ने उल्लेख छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटीइभीटी) को पाठ्यक्रममा आधारित भएर तालिम सञ्चालन गरिने जनाइएको छ । विगतमा परियोजनाबाट लाभान्वित युवामध्ये छाटो अवधिको तालिम प्राप्त (नतिजा र भौचरमा) आधारित ७० प्रतिशतले आयमूलक रोजगारीमा लागेको अध्ययनले देखाएको छ । यसैगरी परियोजनाले स्वरोजगार, अन्य रोजगारबाहेक औद्योगिक प्रतिष्ठानका लागि र वैदेशिक रोजगारीमा जाने र आएर पुनस्र्थापित हुन चाहने युवालाई लक्षित गरेर तालिम तथा शीप परीक्षणको काम गर्ने योजना बनाएको छ । यसरी नै तह २ र ३ का लागि प्राविधिक तथा व्यावसायिक तालिमसमेत सञ्चालन गर्ने लक्ष्य राखिएको परियोजना निर्देशक पाण्डेले बताए । सरकारले यो परियोजनाअन्तर्गत तालिम लिन इच्छुक युवाका लागि देशभर स्थानीय सञ्चारमाध्यमद्वारा आवेदन आह्वान गरिने जनाएको छ ।