Logo

निजी क्षेत्रलाई करको भार कम गर्ने बाटोमा अघि बढ्छौँ – उपाध्यक्ष पौडैल


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सस्तोमा वस्तु उत्पादन गर्ने अवसर दिएर नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उपाध्यक्ष पौडेलले सरकारको खर्च घटाइ उद्यमीलाई सहुलियत दिने बाटोमा अघि बढ्नुपर्ने उल्लेख गरे ।


“उद्यमीले सस्तोमा उत्पादन गर्न नसके उनीहरूले प्रतिस्पर्धात्मक क्षमता विकास गर्न सक्दैनन्” उनले भने, “सरकारले सहज व्यवसायका लागि नियामकीय दायरा खुला बनाइ खुला प्रतिस्पर्धात्मक बजार निर्माणमा सहयोग गर्नुपर्छ ।”


सरकारले दीर्घकालीन राजस्वको स्रोतहरू खोज्ने उपाध्यक्ष पौडेलले बताए । उनले उत्पादनमूलक क्षेत्रको विकास नभइ सेवा क्षेत्रले मात्रै नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताए । उद्यमीले व्यहोर्दै आएका जोखिम न्यूनीकरण गर्न सरकारले सहजीकरण गर्ने उनले उल्लेख गरे । उनले नीति तथा कानुनहरूमा एकरूपमा र नयाँ सोचलाई समावेश गर्ने बताए । उपाध्यक्ष पौडेलले अर्थतन्त्रमा उत्पादनशील क्षेत्रको योगदान कमजोर रहेको यथार्थ विवरण सार्वजनिक गरिएको बताए । उनले सरकारको चालु खर्च उच्च रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धि गर्नुपर्ने चुनौति रहेको उल्लेख गरे ।


परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्न उत्पादनमुखी अर्थतन्त्रलाई पहिलो उद्देश्य बनाएर काम गर्नुपर्ने बताए । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक विकास र उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्न मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गरेको भन्दै उक्त अभियान सञ्चालन गर्ने सोच कार्यान्वयन गर्ने महत्त्वपूर्ण श्रेय उपाध्यक्ष पौडेललाई जाने बताए ।


उनले उपाध्यक्ष पौडेलको राष्ट्रियतथा अन्तर्राष्ट्रिय अनुभव नेपालको अर्थतन्त्रको तीव्र विकास गर्न, निजी क्षेत्रलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धात्मक बजार प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । उनले अर्थतन्त्रलाई गतिशील बनाउन र कोभिडको प्रभावबाट छिटो बाहिर ल्याउन सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राखे ।
यसैगरी परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले योजना आयोगले मुलुकको विकासका लागि दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना बनाइ अघि बढ्ने भएकाले मुलुकलाई औद्योगीकरणको बाटोमा लैजान उपाध्यक्ष पौडेलको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्