सेयर बजार परिसूचक ५२ अंकले वृद्धि «

सेयर बजार परिसूचक ५२ अंकले वृद्धि


अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा देशको आर्थिक अवस्थाबारे जानकारी गराएकै दिन मंगलबार सेयर बजार सूचकले नयाँ कीर्तिमान कायम गरेको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ५१.६८ अंकले वृद्धि भई ३१६१.४४ अंकमा पुगेको छ । जुन हालसम्मकै उच्च अंक हो । यसअघि गत बुधबार नेप्सेले ३,१२३ अंकको उच्च कीर्तिमान बनाएको थियो ।
अर्थमन्त्री शर्माले सेयर बजारबारे सकारात्मक सार्वजनिक अभिव्यक्ति दिएर लगानीकर्तालाई विश्वासमा लिने प्रयास गरिरहेका छन् । सेयर बजारलाई प्रभावित पार्नेगरी कुनै काम नगर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत सेयर बजारलाई प्रभाव पार्नेगरी मौद्रिक नीति नल्याउन निर्देशन दिएका छन् ।
यसैगरी संघीय संसदकै अर्थ समितिले समेत मौद्रिक नीति तर्जुमा गर्दा पुँजी बजारमा स्थायित्वलाई ध्यान दिन राष्ट्र बैंकलाई निर्देशन दिएको छ । जसका कारण मौद्रिक नीतिले पुँजीबजारमा कडाइ नगर्ने विश्लेषणले पनि बजार बढ्न सहयोग गरेको छ ।
मंगलबार बैंक, विकास बैंक, फाइनान्स कम्पनीलगायतका परिसूचकहरु बढेसँगै नेप्सेमा पनि सकारात्मक प्रभाव परेको हो । बैंकिङ समूह ३९.०४, विकास बैंक ४०६.४४, फाइनान्स १९०.६४ अंकले बढेको छ । यसैगरी जीवन बिमा १४२.३३, उत्पादन ४४.४५, अन्य ८.२३, लघुवित्त ७३.४४, जीवन बिमा २११.७२, म्युचअल फण्ड ०.०७ र लगानी समूह २.१५ अंकले बढेको छ ।
यसैगरी व्यापार ६७.२८, होटल तथा टुरिजम ८.७८ र जलविद्युत् ३.०१ अंकले घटेका छन् ।
बजारको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार २२५ कम्पनीका ३ करोड ३५ लाख कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड बराबरको कारोबार भएको छ ।
सरकार परिवर्तन र नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयर बजार लगातर उकालो लागिरहेको छ । कोरोना महामारीकै बीचमा सूचीकृत कम्पनीहरुको सकारात्मक गरेको वित्तीय विवरणका कारण पनि लगानीकर्ता उत्साहित छन् ।
यसैगरी कोभिड महामारीमा पनि सेयर बजारमा अनलाइनमार्फत खरिद गर्न सकिने सुविधाका कारण पछिल्लो सयमा लगानीकर्ताको संख्या बढिरहेको र अन्य क्षेत्रको लगानी पनि अल्पकालीन रुपमा बजारमा आएको विश्लेषण गरिएको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाको व्याजदरले पनि बजार बढाउनका लागि सहयोग गरेको छ । बैंकसँग पर्याप्त तरलता हुँदा न्यून व्याजदरमा सेयर धितो कर्जा लगानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्