Logo

सरकारले स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने

राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारले स्वास्थ्यसंस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताए ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य भट्टले सरकारले कोभिड–१९ को नियन्त्रणका लागि आफ्नो सम्पूर्ण संरचनाहरूको प्रयोग गर्नुपर्ने बताए ।

उनले स्वास्थ्य संरचना कमजोर रहेको उल्लेख गर्दै ति संरचनाको सुदृढीकरण र क्षमता अभिवृद्धि गर्न सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाउनुपर्ने बताए । उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले दुईवटा ठूला चुनौती छन् । एक, कोभिडको नियन्त्रणमा आफ्नो सम्पूर्ण संरचनाहरूको भरमग्दुर पूर्णरूपले प्रयोग र परिचालन गर्ने । दोस्रो, आफ्ना तिनै कमजोर संरचनाहरूलाई सुदृढीकरण गर्ने र क्षमता अभिवृद्धि गर्ने र सरकारी स्वास्थ्य संस्थाहरूको गुणस्तर बढाइ जनताको विश्वसनीयता बढाउने ।

जसले गर्दा नेपालीहरूको आउट अफ पकेट खर्च घटोस् । यसो हुन सके स्वास्थ्य सही बाटोमा हिडेको मान्न सकिन्छ । अहिले कुल बजेटको सात प्रतिशतभन्दा माथि बजेट छ तर यसको कार्यान्वयनमा ठूलो चुनौती छ ।’
उहाँले नेपाली जनताले विकासको व्यग्र चाहाना राखेको उल्लेख गर्दै सरकारलाई विकासको काम गर्न ध्यानाकर्षण गराए । सरकारले सुशासनको प्रबद्र्धन गर्न आवश्यक रहेको उहाँले बताए । चुनावका बेलामा गरेका प्रतिबद्धता र पन्ध्रौं पञ्चवर्षीय योजना हेरेर काम गर्न पनि उनले सरकारलाई सुझाव दिए । उनले भने, ‘अहिले नेपाली जनतामा विकासको व्यग्र चाहाना छ । हामीसँग स्रोत साधनको कमी छ । र, भएको स्रोत साधनलाई पारदर्शी ढंगले कार्यान्वयन गर्न सकिए विश्वास सिर्जना हुन्छ ।
यसको लागि सुशासनको प्रबद्र्धन गर्नु नितान्त आवश्यक देखिन्छ । र, सुशासनको प्रवद्र्धन बिना हामी दिगो विकासको परिकल्पना गर्न सक्दैनौं । हामीले चुनावमा हाम्रा घोषणा पत्र बनाएको एक पटक हेरौँ । हाम्रो पन्ध्रौ पञ्च वर्षिय योजनाको कसरी कार्यान्वयन हुने हो, त्यसमा के–के सुधारको आवश्यकता छ, त्यतातिर ध्यान जानु जरुरी छ ।’
राष्ट्रियसभा सदस्य भट्टले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने श्रमिकहरूलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गर्न पनि सरकार समक्ष माग गरे । बालकालिकाले इन्टरनेटको अधिकतम प्रयोग गर्दा उनीहरूलाई मनोवैज्ञानिक असर परेको भन्दै उनले पब्जि, फ्रिफायर लगायतका एप्लिकेशनहरू बन्द गर्न सरकारलाई अनुरोध पनि गरे ।

प्रतिक्रिया दिनुहोस्