पुनर्निर्माणका बाँकी कार्य समयमै सम्पन्न गर्न निर्देशन «

पुनर्निर्माणका बाँकी कार्य समयमै सम्पन्न गर्न निर्देशन

विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधार पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ । समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाको संरक्षण दिगोपना, उपभोग, एवं मर्मत सम्भारको सोत सुनिश्चितताको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई समितिले निर्देशन दिएको बताए ।

उनले भने, “समितिले सम्पन्न हुन बाँकी रहेका पुनर्निर्माणका कार्य निर्धारित समयभित्रै सम्पन्न गर्न आवश्यक जनशक्ति र बजेटको व्यवस्थापनको कार्य तत्काल अगाडि बढाउन यो समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई निर्देशन दिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनर्निर्माण गरिएका संरचनाको संरक्षण दिगोपना, उपभोग, एवं मर्मत सम्भारको स्रोत सुनिश्चिततातर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । यसको आवश्यक व्यवस्थापन मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण कार्यालयलाई निर्देशन दिन्छ ।”
त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले १ हजार १९७ वटा स्वास्थ्य संस्थामध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गालगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताए । चालू आवको बजेटमा बाँकी ५९ वटा स्वास्थ्य संस्थाको काम सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्