हिलसाइड कलेज अफ इन्जिनियरिङलाई विप्लवनिकट विद्यार्थीको कडा चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले हिलसाइड कलेज अफ इन्जिनियरिङलाई २४ घन्टाभित्र विद्यार्थीको माग पूरा गर्न चेतावनी दिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कलेजले विद्यार्थीलाई धम्की दिएर गुण्डागर्दी शैलीमा परीक्षा दिनबाट बञ्चित गराएको भन्दै अखिल क्रान्तिकारीले कारबाहीको माग गरेको हो ।
अखिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालयका इन्चार्जसमेत रहेका केन्द्रीय सचिवालय सदस्य लोकेन्द्र सार्कीले विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड तथा सजाय गर्नुपर्ने माग गरे । उनले भने, ‘विश्वविद्यालयको नियमानुसार कलेजलाई दण्ड, सजाय र कारबाही हुनुपर्छ ।’
उनले विद्यार्थीको माग सुनुवाई नगरेपछि आफूहरूले ताला लगाएको बताए । तर, प्रहरी लगाएर ताला खुलाएको भन्दै कडा कदम चाल्ने चेतावनी दिए । ‘विद्यार्थीको गुनासो आएपछि ज्ञापनपत्र बुझायौं , तर सुनुवाइ नभएपछि ताला लगायौं , तर ताला कलेज प्रशासनले आफुखुसी प्रहरी लगाएर खोल्यो ।’–उनले भने । कलेज प्रशासनले गुण्डागर्दी शैलीलाई निरन्तरता दिँदै छलफलमा आफ्नो संगठनलाई नबोलाएको समेत गुनासो गरे ।
कलेजका निर्देशक ध्रुव थापाको राजीनामा माग गर्दै उनले भने, ‘कलेजका निर्देशक धु्रव थापाले राजीनामा गर्नुपर्छ ।’ कलेजले कोभिडको समयमा विद्यार्थीसँग लिएको रकम फिर्ता गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रम संचालन गर्दै अखिल क्रान्तीकारीका महासचिव प्रकाश शाहीले काठमाडौंको बालकुमारीमा सञ्चालित हिलसाइड कलेजले विश्व विद्यालयको निर्देशिकासमेत लत्याएर अध्ययन शुल्क समयमा तिर्न नसकेको कारण विद्यार्थीलाई धम्काउने गरेको बताए । उनले भने, ‘समयमा शुल्क तिर्न नसकेको कारण विद्यार्थीको बेइज्यत गरीयो र परीक्षा दिनबाट समेत बन्चित गरियो ।’
उनले आफ्नो संगठनको माग कलेज प्रशासनले बेवास्ता गरेको समेत आरोप लगाए । समस्या समाधानको ढिलासुस्ती वा बेवस्थाले विद्यार्थीहरू आक्रोशित भई हुने अप्रिय घट्ना भएमा कलेज प्रशासन र विश्वविद्यालय जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
सिटिइभिटी इन्चार्ज तथा अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य मिलन राईले पूर्वाञ्चल विश्व विद्यालयले लिने प्रवेशिका परीक्षा अगाबै विद्यार्थीबाट लाखौ रकम लिएर भर्ना गरेको भन्दै हिलसाइड कलेजले नियमविपरीत परीक्षा फर्म लिई ठगेको आरोप लगाए । उनले विद्यार्थीको प्रवेशपत्र दिन कलेजले ढिला गरेको सुनाए । विद्यार्थीबाट अग्रिम बुकिङ भन्दै लिएको रकम फिर्ता हुनुपर्ने उनको माग थियो । उनले नियमविपरीत विद्यार्थीमाथि गरेको ज्यादती अनियमितता र लुटको छानबिन गरी तत्काल कारबाही गर्नसमेत माग गरे ।