पर्यटकको दैनिक खर्च र बसाइ अवधि बढ्यो «

पर्यटकको दैनिक खर्च र बसाइ अवधि बढ्यो

कोभिड–१९ का कारण पर्यटक आगमन शून्यप्रायः भए पनि नेपालमा पर्यटकले गर्ने खर्च र बसाइ अवधि भने बढेकोे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको सन् २०२० को तथ्यांकअनुसार औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५.१ दिन पुगेको छ ।
सन् २०१९ को तुलनामा प्रतिपर्यटक खर्च ३६ प्रतिशत बढी हो भने बसाइ अवधि १९ प्रतिशतले बढी। सन् २०१९मा औसत प्रतिपर्यटक प्रति दिनखर्च ४८ डर र बसाइ अवधि १२.७ दिन थियो । कोभिड–१९ महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले कमी आएको थियो । सन् २०२० मा २ लाख ३० हजार पर्यटकको आगमन भएको थियो । विगतका वर्षमा पर्यटक आगमन वृद्धि भएपनि पर्यटकको दैनिक खर्च र बसाइ अवधि कम थियो ।
सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको वार्षिक संख्यामा वृद्धि भएको देखिए पनि पर्यटकले नेपालमा रहँदा गर्ने दैनिक खर्च भने घटेको तथ्यांक थियो । विगत १० वर्षमा पर्यटन आगमनमा वृद्धि भएको तथ्यांकले देखाएको छ । सन् २०१६ मा नेपाल आएका विदेशी पर्यटकले १३.४ दिन बस्ने र दैनिक ५३ अमेरिकी डलर औषत खर्च गर्ने गरेका थिए भने सन् २०१७ मा आइपुग्दा बसाइ अवधि घटेर १२.६ दिन सीमित भएको थियो । दैनिक खर्च भने ५४ अमेरिकी डलर थियो ।
पर्यटकको संख्या वृद्धिसँगै पर्यटन क्षेत्रबाट आम्दानी बढेर गएको छ । सन् २०१७ मा ६५ करोड ८० लाख, सन् २०१८ मा ७० करोड ३१ लाख, सन् २०१९मा ७२ करोड ४३ लाख ३७ आम्दानी भएको थियो । २०२० मा भने कोभिड महामारीका कारण २१ करोड ७० लाख अमेरिकी डलरमा झरेको छ । पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा ७१ प्रतिशतले कमी आएको छ ।
कोभिड–१९का कारण सरकाले जारी गरेको क्वारेन्टाइन नीतिले पनि सन् २०२० मा पर्यटकको खर्च र बसाइ अबधि लम्बिएको नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत दीपकराज जोशी बताउछन् । उनले भने, “सन् २०२०मा कोभिड महामारीको समय भएकाले होटल क्वारेन्टिन २ हप्तासम्म गरिनु र साहसिक पर्यटकको भ्रमण बढ्नुले हो ।”
सन् २०२० मा ४४७ सहभागी १ सय ५३ समूहले पर्वतारोहणका लागि अनुमति लिएको भए पनि गत सालको तुलनामा ९२ प्रतिशतले कमी भएको मन्त्रालयले जनाएको छ । सन् २०२० को मार्चबाट पर्यटन आगमन बन्द भएकाले करिब ६ महिना बन्द रहेको पर्यटन आगमनको आधारलाई लिएर पर्यटकको दैनिक खर्च र बसाइ अवधिलाई वृद्धिको रुपमा मूल्यांकन गर्न नसकिने नेपाल पर्यटन बोर्डका संस्थापक सदस्य तथा पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०१६ मा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा ०.३२ प्रतिशतले घटेको थियो । ५ लाख ३८ हजार पर्यटक आउँदा दैनिक ७० डलर खर्च भएकोमा हाल पर्यटकको संख्या बढेर साढे सात लाख पुगेको छ अर्थात् ४० प्रतिशतले बढेको छ तर यी पर्यटकले गर्ने दैनिक खर्च भने ५३ डलर मात्रै रहेको छ । पर्यटक बढेपछि विदेशी मुद्रा सटही दरका आधारमा आम्दानी बढेको देखिए पनि दैनिक खर्च भने अघिल्लो वर्ष सन् २०१५ को तुलनामा दैनिक खर्च नै १७ डलरले घटेको थियो । सन् २०१४ मा ४८, र १५मा ६८.५७ अमेरिकी डलर पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्