नेपालको समृद्धिका लागि हाइड्रोजन उत्पादन निर्विकल्प बन्नुपर्छ «

नेपालको समृद्धिका लागि हाइड्रोजन उत्पादन निर्विकल्प बन्नुपर्छ

डा. विराज थापा, काठमाडौँ विश्वविद्यालयका सहायक प्राध्यापक हुन् । जलविद्युत्मा विद्यावारिधि थापा विश्वविद्यालयमा स्थापना गरिएको ग्रिन हाइड्रोजन ल्याबका टोली नेता पनि हुन् । नेपालमा बढ्दो विद्युत् उत्पादनसँगै खेर जाने चिन्ता प्रकट भइरहेको बेला यसमार्फत हाइड्रोजन उत्पादन गरेर यसको अधिकतम उपयोग गर्न सकिने बताउँदै उनी हाइड्रोजनबाट नेपालमा आयातित इन्धन, ग्यासका साथै रासायनिक मल विस्थापन गर्न सकिने बताउँछन् । यसका लागि सरकारले संस्थागत संरचनासँगै कानुनी र नीतिगत व्यवस्था गर्नुपर्ने बताउँछन् । नेपाल आयल निगमको सहयोगमा हाइड्रोजनबाट चल्न बस सञ्चालनका लागि तयारीसमेत विश्वविद्यालयले गरिरहेको छ । विश्वमा तीन सय वर्षअघि नै हाइड्रोजन प्रविधि आए पनि पेट्रोलियम पदार्थको उत्पादनसँगै विस्थापित भएकोमा हरित अर्थतन्त्रको अवधारणासँगै फेरि यसको महत्व बढेर गएको छ । काठमाडौँ विश्वविद्यालयले हाइड्रोजनबारे गरिरहेको अध्ययन, अन्य देशमा यसको विकासका लागि भएको प्रयास, नेपालको अहिलेको अवस्था र विकास गर्न सकेमा यसको उपयोगबाट हुने फाइदालगायतबारे कारोबारकर्मी भीम गौतमले ग्रिन हाइड्रोजन ल्याबका टोली नेता डा. थापासँग गरेको कुराकानीको सार :

काठमाडौं विश्वविद्यालयले अहिले हाइड्रोजनको अध्ययन गरिरहेको छ, किन नेपालमा हाइड्रोजनको आवश्यकता प-यो ?
काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबारे अध्ययन गर्न थालेको एक वर्ष भएको छ । विश्वविद्यालयले हाइड्रोजन ल्याबको स्थापना गरेर यसको अध्ययन–अनुसन्धानको पाठ्यक्रम विकास गरेर अघि बढेको छ । हाइड्रोजन धेरै पुरानो प्रविधि हो । यसको खोज अनुसन्धान सन् १८०० मै भइसकेको थियो । पानीलाई टुक्र्याएर त्यो पानीबाट बिजुली निकालेर त्यो बिजुलीलाई पनि टुक्र्याएर हाइड्रोजन उत्पादन गर्ने हो । धेरै पहिला सुरु भए पनि यो प्रविधि हराएर गयो । पेट्रोलियम पदार्थ आएपछि यो हराएर गयो । पेट्रोल, डिजेल सस्तो र सुलभ भएपछि यसको उपयोग बढ्यो । हाइड्रोजन बजारमा व्यावसायिक उपयोग गर्न नपाउँदै विस्थापित भयो । पछि पेट्रोलियम पदार्थले सारा संसारमा हरित ग्यास उत्सर्जन ग¥यो र पर्यावरण चक्रमै असर पु-याउने जुन कुरा आयो, त्यसपछि विश्वका धेरै देशले अब पेट्रोलियम पदार्थबाट अब सन् २०५० सम्म मुक्ति पाउनुपर्छ भनेर अघि बढे । अमेरिका, ईयू, चीनलगायतका मुलुकले हाइड्रोजनका लागि कानुन नै निर्माण गर्न लागे । तर, नेपालमा यसको विपरीत कार्य भइरहेको छ । दिनानुदिन पेट्रोलियम पदार्थको खपत बढिरहेको छ । यसमा दिने अनुदान बढेको छ । नेपाल आयल निगमले ३ सयदेखि ५ सयसम्म अनुदान दिँदै आएको छ । पेट्रोलियम पदार्थको उपयोग पनि बढ्दै गएको छ । अर्कातिर नेपालमा यही वर्षदेखि बिजुली खेर जाने कुरा पनि आइरहेको छ । केही वर्षअघिसम्म लोडसेडिङको मारमा थियौं । अबको केही वर्षपछि त धेरै ऊर्जा उत्पादन हुने अवस्था छ । त्यो बिजुली के गर्ने भन्ने विकल्प पनि छैन । यी दुईवटा कुरालाई जोड्ने र विकसित राष्ट्रले समेत अघि बढाएकाले यसको मिलनबिन्दुका रूपमा हाइड्रोजन विकास गर्नुपर्छ भनेर विश्वविद्यालय संस्थागत रूपमा लागेको छ । यसको उत्पादनका लागि पाठ्यक्रम विकास गरेर अघि बढेको अवस्था हो ।

हाइड्रोजनको अहिलेको अवस्था के छ ? सरकारले यसलाई कत्तिको मान्यता दिएको छ, किन नीति नियम छन् ?
कुनै पनि कुरालाई सुरुवात गर्न गाह्रै हुन्छ । धेरैलाई यसका बारेमा वास्तविकता थाहा पनि हुँदैन । कतिपय कुरामा भ्रम पनि हुन्छ । यसलाई चिर्दै अगाडि बढ्नुपर्ने हुन्छ । भर्खर विकासको मार्गमा अघि बढेको देश, सबै विकासका लागि पेट्रोलियम पदार्थमा निर्भर भएको देश भएको हुनाले हाइड्रोजनलाई विकास गरेर यसमार्फत वातावरण संरक्षणका साथै आर्थिक विकास गर्छु भन्नु नै एउटा चुनौती हो । यसबारे हामीले विभिन्न मन्त्रालयका मन्त्री, सचिवलगायतलाई भेटेर भनेका छौं । हाइड्रोजनलाई कसरी विकास गर्न सकिन्छ भनेर मार्गचित्र पनि देखाएका छौं । एक वर्षअघिसम्म हाइड्रोजनबारे खासै चियोचर्चा नहुने गरेकोमा अहिले बहस हुन थालेको छ । नेचुरल ग्यासबाट रासायनिक मल कारखाना बनाउनुपर्छ भनेर मन्त्रिपरिषद्सम्म पुगेको छ । पेट्रोलियमको विकल्प हाइड्रोजन हुन सक्छ भनेर कुरा उठ्न थालेको छ । हाइड्रोजनले इन्धनको विस्थापन मात्र होइन, निर्यात पनि गर्न सक्छौं भनेर पहिचान भएको छ । सरकारका तर्फबाट आयल नियमले अनुसन्धान अनुदान उपलब्ध गराएर हाइड्रोजन उत्पादन गरेर कसरी इन्धनलाई विस्थापन गर्न सकिन्छ भनेर काम गर्नका लागि अवसर दिएको छ । हाइड्रोजनबाट गाडी चलाएर देखाइदिनुस्, ताकि सबैको ध्यान आकर्षण होस् भन्ने सकारात्मक सन्देश पनि पनि पायौं । सही समयमा सही नेतृत्वकर्ताले सही निर्णय गरेको रूपमा हाइड्रोजनबारेको आयल निगमको निर्णयलाई लिएका छौं । हामी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणलगायतसँग जोडिन चाहन्छौं । प्रवद्र्धन केन्द्र त जोडिएको पनि छ । एक वर्षसम्ममै यतिसम्म हाइड्रोजनबारे धेरै काम अघि बढ्दा हामीले सपनामा देखेको कुरा पनि पूरा हुँदो रहेछ भनेर मानेका छौं ।

हाइड्रोजन त हामीले उत्पादन गर्ने भनिरहेका छौं, तर आर्थिक र प्राविधिक रूपमा यो कत्तिको सम्भव छ ?
हाइड्रोजन भनेको सबै विकसित राष्ट्रहरूका लागि पनि कठिन विषय हो । विश्वमा अहिले पनि धेरै हाइड्रोजन पेट्रोलियम पदार्थबाटै उत्पादन हुन्छ । यसलाई हामीले नवीकरणीय ऊर्जाका रूपमा लिन सक्दैनौं । नवीकरणीय ऊर्जा भनेको त हरित हाइड्रोजन हो । हामीले हाइड्रोजन जलविद्युत्, सोलारजस्ता हरित ऊर्जा प्रविधिबाट उत्पादन गर्नुपर्ने हुन्छ । हाइड्रोजन विकसित राष्ट्रहरूका लागि पनि किन चुनौती भयो भने धेरै उच्च प्रविधि भएकाले अन्य ऊर्जाभन्दा हाइड्रोजन बजारमा जान गाह्रै छ । यसका लागि बिजुलीको प्रसारण मजबुत हुनुपर्छ । मोबाइललगायतका ठूला वस्तुहरू उत्पादन गर्ने मुलुकमा यो गाह्रै हुनु पनि नराम्रो होइन । नेपालको सन्दर्भमा भने नेपालसँग भएको अतिरिक्त ऊर्जालाई कुनै नीति बनाएर यसलाई उत्पादन नगर्ने हो भने त कि बाल वा कि फालको अवस्था आउँछ । नदी प्रवाहमा आधारित (आरओआर) परियोजनाहरू नेपालमा धेरै छन् । बाल्न सके त ठीकै हो, तर किन फाल्नुप-यो नफालेर यसलाई घाटा नै नखाई ? तर धेरै फाइदा नलिई न्यूनतम मूल्यमा हाइड्रोजनको उत्पादनका लागि उपलब्ध गरायो भने धेरै सजिलो हुन्छ । विश्व बजारमा प्रतिकेजी ५ डलर मूल्य तोकिएको छ । हामीलाई के लाग्छ भने फाल्नुपर्ने बिजुलीलाई नफाली हाइड्रोजन उत्पादनमा लिएर गयो भने प्रतिकेजी एक डलरमा उत्पादन गर्न सक्छौं । त्यो भनेको एकतिहाइमा उत्पादन गर्न सकिन्छ भन्ने हो । विश्व बजारमा हामी प्रतिस्पर्धा पनि गर्न सक्छौं ।

हाइड्रोजन धेरै महँगो हुन्छ, कतै भविष्यमा देशका लागि सेतो हात्ती नहुने त होइन भनेर आलोचना गरिरहेका छन् । के साँच्चै यस्तै अवस्था हो त ?
हाइड्रोजनलाई राम्रोसँग नीति निर्माण गर्न सकिएन भने यो सेतो हात्ती मात्र होइन, बाघ नै हुन सक्छ । बाघले खाइदेला भन्ने त्रास हुन सक्छ । त्यो सम्भावना छ । अर्को कुरा, हाइड्रोजनको प्रविधि यति उच्चस्तरको छ कि यसले धेरै कुरा परिवर्तन गर्न सक्छ । जसरी १० वर्षअघि मोबाइल फोनहरू जुन स्थितीमा थिए, १० वर्षमा यति दु्रत विकास भयो कि यसको तुलना नै हुन सक्दैन । सारा संसार अब हाइड्रोजनमा जानैपर्छ, इन्धनको विकल्प त खोज्नैपर्छ । तर, सरकारले सन् २०३५ भित्र इन्धन उपयोग गर्ने सवारी साधनहरू विस्थापित गर्ने योजना सरकारले बनाएको छ । यसका लागि त सरकारले पहल गर्नुप-यो । अर्को कुरा, हाइड्रोजन उत्पादन गरेर धेरै देशले अर्बौं खर्च गरेर हाइड्रोजनको विकास र प्रवद्र्धन गरिरहेका छन् । जहाँसम्म लागतको कुरा छ, यसलाई कसरी घटाउन सकिन्छ भनेर लाग्नुपर्छ । नेपालमा आजकै भोलि नै हाइड्रोजन उत्पादन गर्ने भनेर सम्भव छैन । भोलिको अवस्थामा उद्योगधन्दा, कलकारखानाहरू स्थापना गर्दा, लगानी आउँदा आवश्यकताअनुसार हाइड्रोजन उत्पादन गर्न लाग्नुपर्छ । त्यो बेलासम्म विश्वमा हाइड्रोजनको दु्रत विकास भइसकेको हुन्छ । आजको दिनमा हामी जसरी टर्बाइन, जेनेरेटर किनेर ल्याउँछौं, बिजुली खम्बा, तार किनेर ल्याउँछौं र हामीले चाहेको जस्तो जलविद्युत्को विकास गर्छौं; त्यसैगरी विकसित प्रविधिलाई विश्व बजारमा लैजान हाइड्रोजनको विकास गर्नु अपरिहार्य छ । हाइड्रोजनलाई सेतो हात्तीभन्दा पनि लैनो गाई बनाउनुपर्छ । यो हाम्रो हातको कुरा हो । यसलाई हामीले राम्रोसँग योजना बनाउन सकेनौं भने समस्या हुन्छ । बिजुली खेर गए जाओस्, तर विद्युत् खरिद सम्झौता (पीपीए) दरभन्दा १ रुपैयाँ तल दिँदैनौं भनेर सरकार अघि बढिरहने हो भने त गाह्रो हुन्छ । अहिले आयल निगमले नै इन्धनको विस्थापन गर्न खोजिरहेको छ । खेर जाने बिजुलीलाई हाइड्रोजन उत्पादन गर्नका लागि मूल्य घटाएर नदिने हो भने त हाइड्रोजन सेतो हात्ती नै हो । नियमनकारी निकाय, मन्त्रालयहरू, नीति निर्माण गर्नेहरू, कर्मचारीतन्त्र बसेर खेर जाने बिजुलीको अधिकतम उपयोग गरेमा यो लैनो गाई हुन सक्छ ।

तपाईंको विचारमा हाइड्रोजनको उपयोग केके कुरामा गर्छौं, तर यो बनाएपछि केके कुरामा परिवर्तन आउँछ ?
हाइड्रोजन भनेको एउटा यस्तो महत्वपूर्ण रहेछ । अहिले धेरै थाहा पाउँदै छौं, तर म यसको विद्यार्थी होइन र धेरै अनुभव पनि थिएन । मैले विद्यावारिधि जलविद्युत्मा गरेको हुँ । देशको आवश्यकतालाई हेरेर म हाइड्रोजनतिर लागेको छु । यसबारे बुझ्दै र अध्ययन गर्दै जाँदा त यो अथाह सम्भावना भएको क्षेत्र रहेछ । हरित ऊर्जा जसले पेट्रोल, डिजेललाई विस्थापित गरेर इन्धन जहाँ–जहाँ उपयोग हुन्छ, त्यहाँ–त्यहाँ हामीले हाइड्रोजन उपयोग गर्न सक्छौं । सार्वजनिक यातायातका ठूला बसमा पनि यो उपयोग गर्न सक्छौं । हाइड्रोजनबाट ट्रक सञ्चालन गर्न सकिन्छ । लामो दूरीका सवारी साधनमा पनि यो उपयोग गर्न सकिन्छ । कतिपय देशले त हाइड्रोजनबाट चल्ने रेल, उड्ने हवाइजहाज पनि चलाउन थालिसके । बोइङजस्ता कम्पनीले सन् २०३५ भित्र हाइड्रोजन चलाउनका लागि प्रक्रिया अघि बढाइसकेका छन् । दोस्रो भनेको हामीले हाइड्रोजनबाट हरित ऊर्जा उत्पादन गर्न सक्छौं । धेरै देशमा होटल, विद्यालय, अस्पताललगायतमा बिजुली गएको बेला हाइड्रोजनलाई उययोग गर्न सकिन्छ । डिजेल, पेट्रोलको आवश्यकता पर्दैन । हाइड्रोजनबाट बिजुली र बिजुलीबाट हाइड्रोजन पनि निकाल्न सकिन्छ । १ किलोग्राम हाइड्रोजन ५० युनिट बिजुली निकाल्न सकिन्छ । २ किलो हाइड्रोजन सिलिन्डरमा भरेर ल्यायौं भने त्यो त १ सय युनिटबराबरको बिजुली हो । यसले एउटा घरलाई एक महिना खपत गर्न पुग्छ । कतिपय देशले त धेरै विकट गाउँमा बिजुलीको तार लैजानुभन्दा हाइड्रोजन लगेर यसमार्फत बिजुली निकाल्न थालिसकेका छन् । नेपालमा गाउँमा पनि यो सम्भव छ भने सहरका बैंक, सपिङ कम्प्लेक्समा पनि यो गर्न सकिन्छ । वातावरणीय दृष्टिकोणले जेनेरेटरभन्दा यो धेरै राम्रो हुन सक्छ । नेपालमा अहिले ग्यासको खपत धेरै खपत बढेर गएको छ । आयात प्रतिस्थापनको प्रयास गर्दा पनि यो सफल हुन सकेको छैन । सन् २०४० सम्म धेरै बढेर जाने प्रक्षेपण गरिएको छ । अहिले पनि गाउँघरमा जाने हो भने ७० प्रतिशत दाउरा नै बालिन्छ । फलामे पगाल्ने भट्टा, इँट्टालगायतका उद्योगमा कोइला बालेर प्रदूषण गरिरहेका छौं । यसलाई हाइड्रोजनबाट विस्थापन गर्न सकिन्छ । फ्रान्सलगायतका केही देशले हाल घरघरमा पु¥याएको ग्यासलाई विस्थापन गरेर हाइड्रोजनबाट बनेको नेचुरल ग्यासको उपयोगमार्फत विस्थापन गर्ने योजना बनाएका छन् । नेपालमा त अहिलेकै ग्यास सिलिन्डरमा हाइड्रोजनमार्फत ग्यास निकाली उपयोग गर्न सकिन्छ । चौथो कुरा, हामीले रासायनिक मल उत्पादनका लागि आवश्यक नेचुरल ग्यास हाइड्रोजनबाट उत्पादन गर्न सक्छौं । तेस्रो देशबाट नेचुरल ग्यास ल्याएर बनाउँदा त त्यो बन्द भएमा समस्या हुन्छ । अर्को कुरा, नेपालमा ८० वर्षका लागि पुग्ने फलामको खानी भेटिएको छ भनेर भनिरहेका छौं । त्यो खानी भनेको अशुद्ध खानी हो । त्यो अशुद्ध खानीलाई शुद्ध बनाउन हाइड्रोजन चाहिन्छ । फलामको खानीलाई फेरि नेचुरल ग्यास, कोइला अर्थात् प्रदूषित ऊर्जा ल्याएर शुद्ध गर्नुपरेमा त यसले झन् ठूलो विकराल अवस्था ल्याउँछ । अहिलेदेखि नै फलामका खानीमा विद्युत् र हाइड्रोजन उपयोग गरेर उत्पादन गर्ने भनेर लाग्नुपर्छ । अर्को, जुन नेपालमा अरुण वनस्पति घिउ थियो, वनस्पति तेललाई हाइड्रोजनसँग रियाक्सन गराएर वनस्पति घिउ बनाउने गरिन्थ्यो । त्यो बन्द भयो । किनभने बिजुली थिएन, बिजुली नभएपछि हाइड्रोजन उत्पादन गर्न नसकेर बन्द भएको हो । अहिले पनि नेपालले भारतलगायतका तेस्रो देशलाई आफ्नो वनस्पति तेल बेचेर महँगो रूपमा घिउ फेरि नेपालमा ल्याउने गरेका छौं । हाइड्रोजन नेपालमै भएमा फेरि अरुण वनस्पति घिउजस्ता उद्योगहरू सञ्चालन हुन सक्छन् । हाइड्रोजनलाई इन्धन, बिजुली, ताप र उद्योगको कमोडिटीका रूपमा विकास गर्न सकिन्छ ।

हामीले अलि सैद्धान्तिक कुरा ग-यौ, अब व्यावहारिक कुरा गरौं । काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट भएको प्रगतिलाई देखिने गरी केही कुरा गर्दै छौं र ?
कुरा ठीक हो, बोल्न सजिलो छ, म पनि बोल्छु । शिक्षण पेसामा लागेकाले त अझ बोल्छन् । हाम्रा नेताहरू पनि बोल्छन्, हुँदाहुँदा हामी प्राध्यापकहरू पनि बोलिरहेका छौं । तर, हामी प्रमाणित गरेर देखाउने पक्षमा छौं । पेट्रोलबाट चल्ने गाडीको इन्जिन निकालेर हाइड्रोजनबाट चल्ने गाडीका पार्टपुर्जा राखेर यहीं आफैंले डिजाइन गरेर सञ्चालनका लागि तयारी गरिरहेका छौं । यसका लागि आवश्यक हाइड्रोजन पनि उत्पादन गर्दै छौं । आफैं रिफिलिङ गरेर गाडी चलाउँदै छौं । यो हामीले यो नेपाल आयल निगमको सहयोगमा गरिरहेका छौं । ६ महिनाभित्र हाइड्रोजनबाट चल्ने बस सञ्चालनमा ल्याएर नेपालमा सम्भव छ भनेर देखाउन गइरहेका छौं । एउटा बस सञ्चालन गरेर देखाउन सक्यौं भने यसबाट हजारौं गाडी गुड्न सक्छन् । यसका लागि नीति चाहिएला, उद्योग चालिएला । यसको प्रयास गरिरहेका छौं । एकातिर यो गरिरहेका छौं भने अर्कातिर जलविद्युत्बाट निस्केको हाइड्रोजन र नाइट्रोजन मिलाएर ग्यास उत्पादन गर्न सक्छौं भनेर यसको ल्याब बनाउँदै छौं । आयल निगम वा अन्य कुनै संस्थासँग मिलेर एउटा एलपीजी रिफिलिङ सेन्टर बनाउन सकेमा यसले नेपालमा ठूलो परिवर्तन ल्याउँछ । हाइड्रोजनलाई संस्थागत रूपमा अघि बढाउनका लागि एउटा संस्थागत संयन्त्र र नियमनकारी निकाय चाहिन्छ । यसका लागि हामीले सरकारलाई नेसनल हाइड्रोजन इनिसेटिप भनेर प्रस्ताव पनि गरेका छौं ।

तपाईले विश्वभरि हाइड्रोजन विकासका लागि धेरै प्रयास भइरहेको र हामी पनि जानुपर्ने बताउनुभयो । जलविद्युत् धेरै भएको हाम्रो देश, यदि हाइड्रोजनमा हामी गएनौं भनेर के फरक पर्छ ? किन जानैपर्ने आवश्यकता छ ?
किन जानैपर्छ भनेर राजनीतिज्ञदेखि प्रबुद्ध व्यक्ति सबैले बुझ्नैपर्छ । पहिलो त हामीले वातावरण संरक्षणका लागि पेरिस सम्झौता गरेका छौं । यसमा नेपाल सरकारले पनि दस्तखत गरेको छ । यसलाई पछ्याउँदै आज अमेरिका, चीन, बेलायतलगायतका देशले हरित ग्यास उत्पादनलाई शून्यमा झार्ने योजना बनाइरहेका छन् । यसका लागि विभिन्न नियम, कानुनहरू बनाइरहेका छन् । यस क्षेत्रमा लगानी बढाइरहेका छन् । हाइड्रोजन, सौर्य ऊर्जालगायतका नवीकरणीय ऊर्जामा लगानी बढाइरहेका छन् । हामीले वातावरण संरक्षणसम्बन्धी जति सम्झौताहरू गरेका छौं, यसलाई सक्रिय बनाउन नेपालले के गरेको छ भनेर हाम्रो देशको राष्ट्रप्रमुखलाई सोधेमा त्यसको उत्तर त दिनुपर्छ । अहिले हामी जुन पेट्रोल, डिजेलको उपयोगमा भासिएका छौं, यसबाट मुक्त हुने कार्ययोजना त हामीले बनाउनैपर्छ । केही साना विद्युतीय सवारी साधनको कुरा त आएको छ, तर ठूला सार्वजनिक बसबारे केही कुरा आएको छैन । सधैंभरि नेपाल विपन्न र गरिब देशको रूपमा नबसी प्राकृतिक स्रोतको उपयोग गरेर धनी पनि बन्नुपर्छ । इन्धन सधैंका लागि नहुने भएकाले यसको विकल्पमा जानुपर्छ । यो विकल्प भनेको हाइड्रोजन पनि हो । मुलुकको समृद्धि हासिल गर्नका लागि वास्तविक रूपमै स्वदेशभित्रको उत्पादनलाई बढावा दिनुपर्छ । औद्योगिक विकासमार्फत समृद्धिको सपना पूरा गर्न हाइड्रोजन आवश्यक हुन्छ । नेपालको समृद्धिका लागि हाइड्रोजन उत्पादन निर्विकल्प बन्नुपर्छ । हामीले यसको सम्भावनालाई चिनिसकेका छौं । यसलाई राज्य, राजनीतिज्ञ, नीतिनिर्माता, कर्मचारीतन्त्र, सचेत सर्वसाधारण नागरिकले पनि चिन्नुपर्छ । हामीले हाइड्रोजन र यसको उपयोगलाई नजिकबाट चिन्यौं भने समृद्धि हासिल गर्न सकिन्छ । यसको विकल्प छैन जस्तो लाग्छ । अर्को पुस्ता त हाइड्रोजनमा जान्छ, जान्छ । हामीले नै यो पुस्ताबाट हाइड्रोजन जान सुरु गरिदिऊँ न । हामीले स्पष्ट आत्मबोध भएर हाइड्रोजन विकासका लागि धेरै प्रयत्नका साथ अघि आएका छौं । सबै पक्षले यसलाई सकारात्मक मानेर अघि बढेमा यसले संस्थागत रूप लिन्छ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस्