सार्क राष्ट्र र कोरोनाविरुद्धको खोप «

सार्क राष्ट्र र कोरोनाविरुद्धको खोप

दक्षिण एसियाली सहयोग संगठन विश्वको एक चौथाइ जनसंख्या ओगटेको र जनसंख्याको हिसाबले विश्वकै ठूलो क्षेत्रीय संगठन मानिएको छ । यसमा पृथ्वीको कुल भू–भागको ३.२७ प्रतिशत स्थान ओगटेको छ । मूलतः विशाल जनसंख्या भएको दक्षिण एसियाली क्षेत्रमा प्रचुर मात्रामा प्राकृतिक सम्पदा भएर पनि सो सम्पदाको समुचित उपयोग गर्न नसक्नुको मुख्य कारण यस क्षेत्रका जनता अशिक्षा, रोग, भोक, गरिबी साथसाथै विश्वव्यापी कोरोना महामारी आदिबाट मुक्त हुन सकेका छैनन् । यस क्षेत्रका सबैै मुलुकको साझा समस्या नै जलवायु परिवर्तन, खाद्य संकट आतंकवाद, गरिबी निवारण र एड्सजस्ता जल्दाबल्दा प्रमुख समस्याहरू रहेका छन् । तसर्थ यस संगठनले साढे तीन दशकभन्दा बढीको यात्रा पू्रा गरिसकेको दक्षिण एसियाका आठ राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका तत्कालीन सरकारले शिक्षा, स्वास्थ्य, सञ्चार, उद्योग, व्यापारलगायत सबै पक्षमा पारस्परिक सहयोग बढाउन विद्यमान प्राकृतिक सम्पदाको समेत समुचित सदुपयोग गर्ने ठूलो महत्वाकांक्षाका साथ सार्कको गठन भयो । नेपालले अन्तर्राष्ट्रिय विकासका क्रममा महत्वपूर्ण संस्था संयुक्त राष्ट्रसंघ र असंलग्न आन्दोलनको सक्रिय सदस्यपछि दक्षिण एसियामा स्थापित अर्को महत्वपूर्ण संगठन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सन् १९८५ को डिसेम्बर ८ मा क्षेत्रीय रूपमा देखा पर्न सक्ने बहुराष्ट्रिय समस्याको समाधान गरी सामूहिक चासोको विषयलाई विश्वमञ्चमा उजागर गराउने उद्देश्यले जन्म भयो ।
अहिले कोरोनाविरुद्धको खोप संसारभर साना–ठूला गरी १ सय ८० देशहरूमा लगाइएको कुरा गर्ने हो भने ३ अर्ब ७५ करोड २६ लाख ७५ हजार ४ सय १९ डोज कोरोनाविरुद्ध खोप फ्रन्टलाइन, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, सरकारी ओहदाका कर्मचारी, ज्येष्ठ नागरिक, विभिन्न सरकारी तथा गैरसरकारी कर्मचारीलगायत लगाइएको अनुमान छ; तसर्थ कोरोनाविरुद्ध सबैभन्दा बढी खोप लगाएका १० देशका तथ्यांकहरू यस प्रकार रहेका छन् । यसमा पनि सबैभन्दा बढी चीनमा १ अर्ब ४७ करोड १६ लाख ५ हजार डोज, भारतमा ४२ करोड ३४ लाख १७ हजार ३० डोज, अमेरिकामा ३३ करोड ८७ लाख ३८ हजार १ सय २५ डोज, ब्राजिलमा १२ करोड ३१ लाख ११ हजार ९ सय डोज, जर्मनी ८ करोड ७८ लाख ७३ हजार ७ सय २८ डोज, बेलायतमा ८ करोड ३७ लाख २२ हजार ५ सय १४ डोज, जापानमा ७ करोड ३९ लाख ७० हजार ८ सय ८८ डोज, फ्रान्समा ६ करोड ७४ लाख २ हजार ६ सय ९० डोज, टर्कीमा ६ करोड ४६ लाख २३ हजार ४ सय ६३ डोज र इटालीमा ६ करोड ३८ लाख ७९ हजार ३ सय ९१ डोज विभिन्न किसिमका सेवा वा समुदायमा कार्य गर्ने व्यक्तिविशेषलाई कोरोनाविरुद्ध खोप लगाइएको अनुमान गरिएको छ ।
सार्क मुलुकहरूको खोप लगाउनेहरूको विश्लेषणात्मक रूपमा अध्ययन गर्ने हो भने भारत सबैभन्दा बढी जनसंख्या भएको देश हो, जहाँ १ अर्ब ३९ करोडभन्दा बढी जनसंख्या रहेको अनुमान छ । त्यसैगरी दोस्रो पाकिस्तान, तेस्रो बंगलादेश, चौथो अफगानिस्तान, पाँचौंमा श्रीलंका, छैटौंमा नेपाल, सातौंमा भुटान र आठौंमा माल्दिभ्स रहेको माथिको तालिकाबाट स्पष्ट हुन्छ । यसरी एक डोज खोप लगाउने भारत, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र नेपाल रहेका छन् । जसमा क्रमशः ३३ करोड ५८ लाख ४१ हजार ३३, ४ लाख ९६ हजार १ सय २८, १ करोड ७ लाख ४५ हजार ८ सय ५१, ९६ लाख ८१ हजार ७ सय ८३, ३ लाख ३२ हजार २ सय १०, ५९ लाख ८७ हजार ७ सय ६, ८ लाख ३६ हजार ६ सय ९६ र ३३ लाख मात्रा डोज खोप लगाएको अनुमान गरिएको छ । यसलाई प्रतिशतमा हेर्ने हो भने क्रमशः २४.१, ६३.६, २७.०, ४.३, ६०.४, ३.६, २.१ र ११.० रहेको तालिकाबाट पनि स्पष्ट हुन्छ । त्यसैगरी सार्क राष्ट्रहरूमा पूर्ण खोप लगाउने अर्थात् दुवै खोप लगाउनेहरूको संख्या पनि क्रमशः ८ करोड ७७ लाख ९२ हजार ४ सय ६९, १ हजार ५ सय ६०, ३१ लाख ४ हजार ३ सय ५७, ४७ लाख २८ हजार ३ सय १३, २ लाख ६७ हजार ८ सय ५८, ४३ लाख २४ हजार ४ सय ५४, १८ लाख ३२ हजार ७ सय ६३ र १३ लाख संख्या रहेको छ । यसलाई प्रतिशतमा हेर्ने हो भने क्रमशः ६.३, ०.२, ७.८, २.१, ४८.७, २.६, ४.६ र ४.३ रहेको उल्लिखित तालिकाबाट देखिन्छ ।
अन्त्यमा भन्नुपर्दा दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा एवं गरिबी हटाई यस क्षेत्रका नागरिकमा सामूहिक आत्मनिर्भरता विकास उद्देश्यले यो संगठनको स्थापना भएको थियो । यसैअनुरूप हाल विश्वभरि फैलिएको कोरोना महामारीविरुद्ध लड्न पनि यस क्षेत्रले युद्धस्तरमा लड्नुपर्ने साझा चुनौती खडा भएको छ । यस सार्क क्षेत्रमा कुल जनसंख्याको झन्डै २ अर्ब जनसंख्या बसोबास गर्ने गरेको तालिकाबाट पनि देखिन्छ । यस क्षेत्रमा जम्माजम्मी एक डोज खोप लगाउनेको संख्या ३६ करोड ७२ लाख २१ हजार ४ सय ७ रहेको अर्थात् २३.१ प्रतिशत रहेको देखिन्छ । त्यसरी नै पूर्ण खोप लगाउने अर्थात दुवै डोज लगाउने संख्या भने १० करोड ३३ लाख ५१ हजार ७ सय ७४ अर्थात् ९ प्रतिशत रहेको तालिकाले देखाउँछ । यस सार्क क्षेत्रमा सबैभन्दा बढी एक डोज खोप लगाउनेमा भारत रहेको छ, जसमा ३३ करोड ५८ लाख ४१ हजार ३३ जना अर्थात् २४.१ प्रतिशत जनताले पहिलो डोज खोप लगाएका छन् । त्यसरी नै दोस्रो डोज अर्थात पूर्ण खोप सबैभन्दा बढी लगाउनेमा पनि भारतै रहेको छ, जसमा ८ करोड ७७ लाख ९२ हजार ४ सय ६९ अर्थात ६.३ प्रतिशत रहेको छ । यस क्षेत्रमा सबैभन्दा कम एक डोज लगाउनेमा ८ लाख ३६ हजार ६ सय ९६ अर्थात २.१ प्रतिशत रहेको थियो भने दुवै डोज लगाउने या पूर्ण खोप लगाउनेको संख्या भने १ हजार ५ सय ६० अर्थात ०.२ प्रतिशत रहेको छ ।
यसमा खासगरीकन दक्षिण एसियाली राजनीति, सुरक्षा व्यवस्था र स्थायित्वका मामिलामा महत्वपूर्ण प्रभाव राख्ने दुई ठूला मुलुकहरू भारत र पाकिस्तानबीचको भावनात्मक एकता र समझदारीले मात्रै क्षेत्रीय संगठनका रूपमा सार्कले गति लिन सक्ने कुरामा दुईमत हुन सक्दैन । यस क्षेत्रका लागि दरिलो क्षेत्रीय सहयोग संगठन शक्ति सन्तुलन र बृहत्तर हितका लागि आवश्यक रहे पनि कुनै पनि छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्न नसकेको भारतका कारण यो सबै सम्भव छैन । अतः काश्मिर समस्या र सिन्धु नदी सम्झौताका कारण पाकिस्तानसँग, गंगा नदी सम्झौता र फरक्का ब्यारेज निर्माणका कारण बंगलादेशसँग, सुगौली सन्धि, सन् १९५० शान्ति तथा मैत्रीसन्धि तथा अन्य तमाम जल सम्झौताका कारण नेपालसँग र अल्पसंख्यक तामिल र बहुसंख्यक सिंघाली समुदायबीचको गृहयुद्धमा अपवित्र भूमिका खेलेका कारण श्रीलंकासँग भारत सम्बन्ध सुमधुर छैन । कतिसम्म भने नेपाल–भुटानबीचको नितान्त द्विपक्षीय शरणार्थी समस्या पनि भारतकै अवरोधका कारण टुंगोमा पुग्न सकेको छैन । यसर्थ विवादका यस्ता सबै विषयहरू छलफलका लागि सार्क शिखर सम्मेलनमा उठाउन पाइने भए के यो दक्षिण एसियाली मुलुकहरूको बृहत्तर हितका लागि ठोस उपलब्धिमूलक हुने थिएन र ?

प्रतिक्रिया दिनुहोस्